बुढाको नाति विद्यालयबाट आउँदै थियो । बाजेले परबाटै देखे । नाति आफ्नै सुरमा बरबरायो । “आजदेखि आमालाई पनि पुरुष बनाइदिने छु ।” बाजे खुसी हुँदै भन्न थाले स्याबास ! मेरो नाति । नाति उचालियो, “दिदीलाई पनि पुरुष बनाइदिने छु, फुपूलाई पनि पुरुष बनाइदिने छु ।....” नाति यस्तै भन्दै थियो । बाजे स्याबासी दिँदै थिए । फुरुक्क पर्दै नातिले फेरि भन्यो —“हजुरआमालाई पनि पुरुष बनाइदिने छु ।” हजुरबा रन्थनिए । उनले नातिलाई हप्काउँदै भने—“के भन्छ यो नाथे ?” “हजुरआमा भन्ने शब्द नाम हो । नाम तृतीय पुरुषको हुन्छ यसैले हजुरआमालाई तृतीय पुरुष बनाइदिने कुरा गरेको ।”
बुढाले नातिलाई सोधे । “तेरो नेपाली व्याकरणमा त स्त्रीको पनि लिङ्ग हुन्छ नि ! स्त्रीको लिङ्ग= स्त्रीलिङ्ग ।” बाजे उत्ताउलिए, पात्तिए । नाति केही बेर अक्क न बक्क भयो । उसलाई सम्झाउँदै बाजेले भने–“छोरो पुलिङ्ग हो भने छोरी स्त्रीलिङ्ग हो । पुलिङ्ग बुझाउने नाम अथवा विशेषण शब्दको अन्तमा ‘ओ’कार छ भने स्त्रीलिङ्गमा ईकार हुन्छ । भान्जो : भान्जी, भतिजो : भतिजी, कालो : काली, होचो : होची, मोटो : मोटी, पातलो : पातली आदि ।
एक वचनको क्रियापदमा मात्र स्त्रीलिङ्ग हुन्छ । बहु वचनको क्रियापदमा स्त्रीलिङ्गको छुट्टै रूप हुँदैन । बहु वचनको क्रियापद पुलिङ्ग र स्त्रीलिङ्गमा एउटै हुन्छ ।
पुलिङ्गको बहु वचन : केटाहरू पढ्छन् । छोराहरू बसे । भतिजाहरूले खाए । केटाहरू हिँड्थे । केटाहरू हिँडेछन् आदि ।
स्त्रीलिङ्गको बहु वचन : केटीहरू पढ्छन् । छोरीहरू बसे । भतिजीहरूले खाए । केटीहरू हिँड्थे । केटीहरू हिँडेछन् आदि ।”
बुढा बाजे नेपाली व्याकरणका विद्वान् रहेछन् । उनले नातिलाई सम्झाउँदै गए —उच्च आदर र अति उच्च आदर बुझाउने क्रियापदलाई लिङ्गमा मात्र होइन, वचन र पुरुषमा पनि परिवर्तन गर्न सकिँदैन, जस्तै :
लिङ्गका आधारमा : हजुरबाले भन्नुभयो । हजुरआमाले भन्नुभयो ।
हजुरबुबाले भनिबक्सियो । हजुरआमाले भनिबक्सियो ।
वचनका आधारमा : हजुरआमाले भन्नुभयो । हजुरआमाहरूले भन्नुभयो ।
हजुरआमाले भनिबक्सियो । हजुरआमाहरूले भनिबक्सियो ।
पुरुषका आधारमा : तपाईंले भन्नुभयो । हजुरआमाले भन्नुभयो ।
हजुरले भनिबक्सियो । हजुरआमाले भनिबक्सियो ।
आजदेखि नबिर्सनू : बहु वचनमा पुलिङ्ग र स्त्रीलिङ्गको क्रियापद एउटै हुन्छ । स्त्रीलिङ्गको क्रियापद पनि पुलिङ्गको जस्तै हुन्छ । उच्च आदर तथा अति उच्च आदर बुझाउने क्रियापदलाई लिङ्ग, वचन र पुरुषका आधारमा परिवर्तन गर्न सकिँदैन ।
बुझ्नै पर्ने अर्को रमाइलो पक्ष पनि छ । उच्च आदर बुझाउने तथा अति उच्च आदर बुझाउने क्रियापदहरूको पछिल्लो प्रत्यय शून्य आदरको जस्तो हुन्छ, जस्तै : गयो, जानुभयो, गइबक्सियो आदि । ‘हुनु’क्रिया थपेर उच्च आदर तथा ‘बक्स/बक्सि’ क्रिया थपेर अति उच्च आदर बनाइएको छ ।

नैकाप, काठमाडौं