यस्तो कर्णप्रिय र प्रचलित पुरानो उखानको बखान गर्न धेरै दिनपछि कम्मर कसेर बसेको बेला एउटा उट्पट्याङ् मित्र आएर कुहिनोले घुच्च गराइदिए बा ! आफू कति दिनपछि यसो फुर्सद निकालेर बल्लतल्ल कम्प्युटरका अगाडि नाक देखाउन आएको छु । उसमाथि आएर मित्रले त भएन भएन भन्दै रिसको पारो तताइदिन्छन् ! झोँकै चलेर आयो । पुरानो भयो रे यो उखान ! ठुल्ठुला परिवर्तन भए रे देशमा !! जमाना बदलियो रे ! मैले पनि नयाँनयाँ उखानको बखान गर्नु पर्ने रे ! हैन के बदलिएको रहेछ कुन्नि सूर्य पश्चिमबाट उदाउन थालेछ कि ! मियालको रुखमा नास्पाती फले जस्तो मकैको बोटमा धान फल्न थालेछ कि !! देशमा आमूल परिवर्तन भएर झापा र कञ्चनपुरमा पनि सगरमाथा ठडिएछन् कि ! हैन जमाना बदलिएर अक्सिजनको साटो कार्बनडाइ अक्साइडको सास फेरेर मान्छे बाँच्न थाले कि ! बढी भएको भए मोसो दलेर गोरो मान्छे कालो भएहोला । पाउडर दलेर कालो मान्छे गोरो भएहोला । यति जाबो कुरा पनि मलाई थाहा भएनछ । माफ पाऊँ मित्र, माफ पाऊँ । मेरो अनभिज्ञताको लागि क्षमा मागेँ । कुहिनो नघच्याइदेऊ ल !!

मेरो ज्ञान अझै पनि खुलेन कि ? हिमाललाई सेतै देख्छु । तिनीहरू कति पुराना हुन् तिमी बताउन सक्छौ ? आकाश निलै छ । लालीगुराँसलाई रातै देख्छु । परिवर्तन भएरै होला उहिलेको ‘हरियो वन नेपालको धन’ अहिले ‘हरियो वन तस्करको धन’ भने हुने भएको छ । ए अँ ठुलै परिवर्तन भएछ क्यारे ! भिमसेन थापाले बनाएको धरहरा भूकम्पले मुन्ट्याइदिएछ । अझै ठडिन सक्या छैन । जाबो पालमुनि बसेकाको छाप्रो किन ठडियोस् । कर्णालीले बगाएका झुप्राहरू अझै देखिएका छैनन् । झुप्राभित्रका कुप्राहरू देखिने त कुरै भएन । मेलम्चीले काठमाडौंको फोहोर बगाएर नुवाकोटतिर लगिसकेछ ! मैले त थाहै नपाएको । हो, हो भयङ्कर परिवर्तन भएछ देशमा । एउटा राजाका ठाउँमा चौसठ्ठी राजा भएछन् । पहिले चामल बेच्ने देशले अहिले खरिद गर्न थालेछ । परिवर्तन नभएको भए जिउँदा युवा खाडीतिर गएर लाश फर्कने अवस्था पो कसरी हुन्थ्यो र ? कताकता सुने जस्तो लाग्छ– कुन्नि को पुरुषले हो लिङ्ग परिवर्तन गरे रे ! आजकल नारी भा’होलान् !! के नयाँ कुरा हो र यो । उहिलेकै पुरानोमा पनि धुरानो त्रेतायुगको रामायणमा मैले पढिसकेको कुरा हो त्यो । बाली र सुग्रिबकी आमा पनि पहिले बाँदर थियो । एउटा पोखरीमा पानी खान जाँदा सुन्दरी भइछ । अहिलेका राजाहरू मात्र हो र ! उतिखेर पनि सुन्दरी देखेपछि जिभ्रोबाट रस निकाल्थे देवताहरूले ! इन्द्र र सूर्यले  त्यो सुन्दरीको हातमै बीर्य स्खलन गरेर बाली र सुग्रिब जन्माइदिएछन । नयाँ के छ साथी ? बताइदेऊ न । कति नयाँनयाँ मात्र भन्छौ । कति परिवर्तन मात्र भन्छौ ? के बनाऊँ त मैले यो उखानलाई अब !! भएको र चलिआएको त्यही हो ।

जमाना बदलिँदै जाँदा परिवर्तन त आफै भैहाल्छ नि । कसले गराउनु पर्छ र ? परिवर्तन नै नभएको भए आज ढुङ्गेयुग नै रहन्थ्यो त्यो त छैन । सबै कुरा बदलेर मात्र हुने हो र ? लोकतन्त्र आउने बित्तिकै राज शब्दका ठाउँमा लोक शब्दको प्रयोग गर्दा के हालत भयो, थाहै होला । त्यो परिवर्तन पनि त सबै ठाउँमा गर्न मिलेन । राजमार्गलाई लोकमार्ग भन्नेले राजधानीलाई लोकधानी किन भनेनन् त ? राजनीति गर्नेहरूले लोकनीति गर्न किन थालेनन् त? तिमीले बदल्नुपर्छ भन्दैमा म बदल्नेवाला छैन, चित्त नदुखाऊ ल ! परिवर्तनका नाममा सबै थोक बदल्न थालियो भने हालत खराब हुन बेर छैन । परिवर्तन भएरै त पहिले कुर्कुच्चा ढाकेर लुगा लगाउने नारीले अहिले कहाँसम्म ढाकेर लाउँछन् देखेकै हौला । पहिले शुद्ध नेपाली बोल्नेले अहिले कति ठाउँमा टुटेफुटेको अङ्ग्र्रेजी मिसाउँछन् सुनेकै हौला । परिवर्तन भएरै त होला पहिले टेबुलमाथिबाट खाने घुस अहिले टेबुलमुनिबाट खान थालिएको छ । पहिले भिसा नलगाइकन बम्बईमा बेच्ने गरिएका चेलीबेटीहरू अहिले पासपोर्ट बनाएर भिसा लगाई कुबेत बहराइन साउदीतिर किनिएको छ । यस्तै हैन तिमीले भनेको नयाँ बदलिएको युग ?

ए, अँ ! ‘ताक परे गच्छेदार नत्र देउवा’ बनाउने रे यो उखानलाई ? अँहँ, पटक्कै मान्दिन म । गच्छेदार मात्र हो र अरु कतिले आफ्नो स्वार्थ हेरेर एउटा पार्टी छोडेर अर्कोमा गएका छन् ख्याल छ ? चुनावमा टिकट नपाउने बित्तिकै पार्टी छोड्नेहरू सबैका नाममा उखान बनाउन सकिँदैन । यस्तै स्वार्थीहरूलाई उहिलेका अग्रजहरूले यही उखानले छेड हान्थे र त अहिलेसम्म चलेको छ । अघिल्लो साँझ एमाले र माओवादीसँग एकता गर्ने भाषण भड्काएका भट्टराईले मागेजति सीट नपाएर काँग्रेससित मिल्न जानुलाई फेरि अर्को उखान बनाउनु पर्ने भो नि त साथी तिम्रो कुराले ! यस्तो नेता र मान्छेपिच्छेको नयाँ उखान बनाएर दिनदिनैको नयाँ नेपाल जस्तो हालत खराब गराउन्न मैले यो लोकोक्तिलाई । छोड कुहिनो धक्याउन ।

आजसम्म ‘ताक परे तिवारी नत्र गोतामे’ नगरिदिएको भए सत्तरी सालको हैन सात सालकै नेपाललाई नयाँ नेपाल भन्न पाउँथ्यौ तिमीले ! हिजोका गोतामे आज तिवारी भएका छन् । आजका तिवारी भोलि गोतामे हुन्छन् । भर कसैको छैन । त्यसैले मैले यो सदावहार उखानलाई नयाँ बनाउँदै बनाउन्न, चाहे देशमा जतिसुकै परिवर्तन होस्, चाहे नयाँ भन्दा पनि उपरनयाँ जमाना आओस् । हेर न तिमीले भने जस्तै परिवर्तन भएको, जमानाले ल्याएको नयाँ र खोक्रो बोक्रे परिवर्तन !! बहत्तर सालमा भूकम्प जाँदा के हालत भयो ? धर्म निरपेक्ष देश हैन नेपाल ? धार्मिक स्वतन्त्रता भएपछि धर्म परिवर्तन गर्न पाइने कि नपाइने ? आफै भन साथी । हिन्दू धर्म मानेका गोतामेहरू क्रिस्चियन धर्म मान्ने तिवारी बने । चर्चमा ख्रिष्टको प्रार्थना गर्न बस्दा भूकम्प गयो । ‘नारायणः ! नारायणः !!’ भन्दै चर्चबाट भागे तिवारीहरू । प्रभु यशु ! जिसस जिसस ! भन्न किन आएन तिवारीहरूलाई ? अनि तिनीहरूलाई गोतामे भन्ने कि तिवारी ? कतै आज मैले चिनिराखेको तिमीले पनि भोलि जात, धर्म, थर, सबै बदल्यौ भने मैले नै नचिनुला । बदलिँदो युगमा बदल्न पाइहालिने भो क्यारे ! नानीदेखि लागेको बानी बदल्न सके पो हुन्छ र, एकछिनका लागि आफ्नो अनुकुल भएन भनेर रूप नै बदलेर भएको परिवर्तन चाहिन्न । साथी ! मैले नबुझेर हो कि आफूलाई परिवर्तन गराइन ल । यो उखानलाई यस्तै रहन देऊ ।

स्वभाव बदलिन सकेन भने रूप बदलेर हुने हैन । उसो भए दूधले नुहाएपछि गधालाई पनि गाई सरह मान्नु पर्ने ! गधालाई गाई बनाउन सकियो भने पो परिवर्तन नत्र के परिवर्तन ? मलाई त अहिलेका मान्छेहरू नै मन परेको छैन । चाहे तिनीहरू गोतामे हुन् चाहे तिवारी । जतिसुकै युग परिवर्तन भयो भने पनि, जतिसुकै नयाँ जमाना आयो भने पनि व्यवहार जङ्गली युगकै छ क्यारे । साथी ! सक्छौ भने आजका मान्छेहरूको रूपलाई स्थायी रुपमा नै बदलिदेऊ । एकछिनलाई ढाँट छल गर्न अहिरावणले राम लक्षमणलाई छल्न विभिषणको रूप लिए जस्तो हैन । आचरणमा परिवर्तन नहुने सुधार नआउने भएपछि रूप नै त बदल्नु पर्यो  । त्यस्ता पुरुष बनाइदेऊ जसको लिङ्ग नाक झैँ एउटा गालामा होस् । त्यस्ता महिला बनाऊ जसको योनि पनि आँखा सरह अर्को गालामै होस् । ती अङ्गहरू लुकाउनै नपरोस् । चुम्बन गरे झैँ सजिलै सकियोस् रतिक्रिडा गर्न । तब मात्र परिवर्तनको महशुस होला । सात वर्षे युवतीलाई सत्तरी वर्षे युवकले बलात्कार गरेको खबर सुन्न पर्दैनथ्यो यी कानले । अथवा सातमा पढ्ने छोरीलाई बाबुले नै बलात्कार गरे भन्ने यो एक्काइसौँ शताब्दीको शिष्ट समाचार पनि थाहा पाउन पर्दैनथ्यो । नत्र त गच्छेदार भने पनि गोतामे भने पनि कुरो उही हो । बदलिएको जमाना मात्र हो, व्यवहार हैन, आचरण हैन । त्यसैले मलाई कर नगर यो उखान बदल्न भनेर ।

वास्तविक कुरा गर्ने हो भने आफ्नै थाप्लोमा झटारो आउला भन्ने डर छ । तिमीले जोगाउँछौ भने भन्छु । पक्का हुनुपर्छ नि ! नत्र मैले दलितबिरोधीको लाञ्छना मात्र हैन लौरो पनि खानु पर्ने हुनसक्छ । म कुरा नघुमाइ भन्छु, सुन । पहिले दलितहरूले आफ्नो पहिचान नै गुमाउने गरी आफ्नो थर बाहुनसँग मिल्ने गरेर परिवर्तन गरे । कसैले विश्वकर्माको साटो घिमिरे भन्न थाले, कसैले कसैले नेपालीको साटो बस्याल भन्न थाले । यस्ता थुप्रै थर बदलेर फाइदा भयो कि बेफाइदा मलाई थाहा भएन तर तिमीले भनेजस्तै देशमा आमूल परिवर्तन भयो, जमाना बदलियो अनि दलितभत्ता सरकारले दिन थालेपछि यो थर वास्तविक दलितको हो कि हैन भनेर छुट्याउन मुस्किल हुन थाल्यो । भत्ताबाट बञ्चित भइने डरमा फेरि पुरानै थरमा फर्कनु पर्ने भयो । पहिचान गुम्ने खतरा भयो । यो पनि त ताक परे तिवारी नत्र गोतामे नै त हो नि ! उसो भए तिमीले यसलाई पनि ‘ताक परे घिमिरे नत्र विश्वकर्मा’ बनाउनु पर्छ भनौला रे ! यसमा पनि मेरो गम्भीर असहमति छ ।

निर्वाह हुँदासम्म सबै गोतामे नै बन्न चाहन्छन् । कसैलाई पनि तिवारी बन्न मन लाग्दैन । जब जीविका चल्न धौ धौ हुन्छ अनि तिवारी बन्ने प्रक्रिया सुरु हुन्छ । भैगो साथी ! मौकामा चौका हान्न जान्नुपर्छ । कहिलेकाहिँ तिमी पनि तिवारी बन । म पनि ताक परे बनुँला नत्र गोतामे नै सही ।

बम्घा, गुल्मी