मान्छे सिधा सोच भए पवित्र
बन्दा रहेछन् रिपुसम्म मित्र ।
कोर्दा विचारी सब मार्ग्चित्र
उत्साह, आशा बटुलिन्छ भित्र ।।

साँचो कुरामा सुकरात मारे
संसारका दिग्गज दौड हारे ।
सामथ्र्य देखेर सबै डराई
घेरेर मारे अभिमन्युलाई ।।

डोरी बन्यो सर्प कठै नचिन्दा
श्रीरामको हुन्छ भुलेर निन्दा ।
कर्मादि राम्रो गर भन्छ गीता
दिन्छन् परीक्षा दिनरात सीता ।।

पापी र घाती जब जाल बुन्छन्
आदर्शवादी तब मौन हुन्छन् ।
साँचो बनाइन्छ मिलेर मिथ्या
आदर्शले गर्दछ आत्महत्या ।।

अभ्यासले मानिस पोख्त हुन्छ
गन्तव्यको पूर्ण उचाइ छुन्छ ।
निर्जीव भित्तो पनि कान सुन्छ
हो धीर मान्छे अविजेय हुन्छ ।

धोइन्छ कालो तनको, लुगाको
के जिन्दगी हुन्न सबै सुगाको ?
धोई गधा वत्स भनेर हुन्छ ?
के भालुले वेद, पुराण सुन्छ ?

सुर्खेत