अगाडि नै मित्र छ मारिएको
यता भने घाँस छ हालिएको
देखेर बुझ्दैन न दुःख मान्छ
भेंडा सबै भुल्छ र घाँस खान्छ ।।

हिजै त हो बाँदरले पिरेको
मकै लुटेको र सखा मरेको
आःआः भने आज पछाडि जान्छ
भेंडा सबै भुल्छ र घाँस खान्छ ।।

त्यो ऊन काटे पनि काट्न दिन्छ
लगेर साँटे पनि साँट्न दिन्छ
खसी बनाए पनि पार्न दिन्छ
भेंडा सबै भुल्छ र घाँस खान्छ ।।

दाम्लो कुनै बन्धन चाहिंदैन
भागेर जाने पनि चाह छैन
साथी जता साथ लुसुक्क जान्छ
भेंडा सबै भुल्छ र घाँस खान्छ ।।

अहा जुनी होस् त हवस् न यस्तो
संसारमै दुर्लभ मेषजस्तो
न रोष ईर्ष्या न त चाह लिन्छ
भेंडा सबै भुल्छ र घाँस खान्छ ।।

काठमाडौं