मङसिर महिना किसानलाई लगाएको बाली उठाउने चटारो छ । यसै बेला देश चुनावमय भएको छ । नेताहरूलाई बाली लगाउने चटारो छ । किसानहरू खेत खेतमा धान काट्ने, झाँट्ने र दाई हाल्ने काममा व्यस्त छन् । नेताहरू खेत खेतमा पार्टीका झण्डा र चुनाव चिन्ह रोप्न व्यस्त छन् । किसान फाटेको टोपी अनि फाटेका लुगामा खेतमा छन् । नेता सुटबुट अनि गलामा माला भिरेर खेतमा छन् । किसान असारमा हिलोआली गरेर रोपेको अन्न वर्ष भरिलाई जोहो गर्न खेतमा छन् । नेता विना हिलोआली नै चुनाव चिन्हको थाली लिएर ५ वर्षको लागि अन्न जोहो गर्न खेतमा छन् । जे जसरी होस नेता कार्यकर्ता अनि किसान सबै खेत खेतमा जुटेका छन् । 

हाम्रो देश यसै पनि कृषिप्रधान देश हो । कृषिलाई प्राधमिकता त दिनै प¥यो । यसरी नै बाली उठाउने र बाली लगाउने बेलामा सबै एकजुट हुने हो भने हाम्रो तरक्की टाढा छैन । हिजो कामको चटारोले गर्दा घरमा मालीगाई दुहुने मान्छे हुदैनथे तर आज अमुक नेता मालिगाई दुहुन ढुङ्ग्रो लिएर गोठैमा पुग्या  छन् । गोरुजोत्ने लाठे नपाईएला भन्ने डर पनि भएन माला सहित अनौ समाउन नेता खेतबारीमा छि¥याछन् । महिलाहरूलाई एक घण्टा टाडाको धाराबाट कम्मरमा गाग्रो बोकेर खुईय गर्दै पानी बोक्न पथ्र्यो आज खै दिदी खै बहिनी म एकछिन बोकिदिन्छु भन्ने नेता तथा नेतृ पाईएको छ । दिउँसै हिड्दा ढुंगामा अल्झिएर लडिने बाटोमा हतार हतार डोजरले सम्याईएका छन् । अझ बिचित्र त के छ भने हिजो बाटोमा भेट्दा नमस्कार हजुर भन्दा पनि नसुन्या झै गरी हिड्ने मान्छे आज आधा शरिर झुकाएर नमस्कार का नमस्कार लगाएका छन् । हजुर का हजुर भन्या छन् । यस्तो दिन सधै आए कस्तो हुने थियो होला? देशमा तहगत रुपमा तीन तहको सरकार रहने व्यवस्था छ । तीन तहको चुनावलाई समय मिलाएर पालै पालो चुनाव गराउने हो भने जनताले धेरै राहत पाउने थिए । स्थानीय तहको चुनाव फाल्गुण चैत्रमा, प्रदेशको चुनाव जेष्ठ आषाढमा अनि केन्द्रीय चुनाव यसरी नै मंसिरमा गराउने हो भने खेती लगाउने, हिलोआली गर्ने र बाली काटी दाई गर्ने बेलामा किसानहरूले प्रशस्तै सहयोग पाउने थिए । यसले गर्दा खाद्यान्न बाली सस्तो र सुलभ हुन गई आम जनताहरूलाई राहत पुग्ने थियो । मेरो यो सुझाव मात्र हो । सुझावलाई मनन् गर्ने नगर्ने काम सरकार र निर्वाचन आयोगको हो ।  

अर्कोतिर हाम्रो कला संस्कृतिको कुरा गर्ने हो भने पनि विगतमा हामी नेपाली कलासस्कृतीमा धनी थियौं । तर समयसँगै हाम्रो कलासंस्कृति लोप हुदै गएको तथ्य छ । हिजोआजका युवाहरूले संस्कृति बिर्सन थालिसक्या छन् । सस्कृति जोगाउन पनि चुनाव अपरिहार्य देखियो । नेताहरूले झम्झम् लोकलयमा नाच्ने, विभिन्न भेषभुषामा सजिएर लोकसंस्कार अनुसार नाचगान गर्ने गर्नाले हाम्रो संस्कृति जिवन्त रहन्छ । त्यसैले चुनावको निरन्तरता आवश्यक छ । नेताहरूले गाउँ गाउँमा पुगेर बोल्ने बक्तृत्व कला सिकाउने हुँदा दुरदराजका जनताहरू बोल्ने कलामा समेत पोख्त हुन्छन । विरोधीको उछित्तो कसरी काड्नु पर्छ भन्ने कुरा पनि सिक्ने मौका पाइने हुँदा विरोधीलाई झुटै सही कुराले जित्न सकिने भईन्छ । त्यसैले चुनाव चाहिन्छ । वर्षै पिच्छे चाहिन्छ । 

२०७४/८/७
काठमाडौं