उसले देश र जनताको लागि बुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्यो । मैले पढ्न छोडेँ । अरू पनि धेरैले छोडे ।  पढिसकेको सर्टिफिकेट च्यात्नू भन्यो । हामीले त्यसै गर्यौँ ।

उसले देश र जनताको लागि व्यक्तिगत सम्पत्ति आर्जन गर्नु हुँदैन र आफूसँग भएको सम्पत्ति पनि पार्टीलाई बुझाउनू भन्यो । मैले त्यसै गरेँ । अरू पनि धेरैले गरे ।

उसले देश र जनताको लागि विस्तारवादी र साम्राज्यवादी देशहरूको भाषा लेखपढ गर्नु हुँदैन र आफ्नै भाषामा लेखिएका क्रान्तिकारी किताबहरूमात्र पढ्नु पर्छ भन्यो । मैले मानेँ । अरू पनि धेरैले माने ।

उसले देश र जनताको लागि अहिले प्रेम गर्ने बेला होइन । कोहीसँग प्रेम छ भने तुरुन्त छोड्नू भन्यो । मैले आफ्नी प्रेमिकालाई छोडेँ । अरूले पनि छोडे ।

उसले कविताले देश र जनताको लागि केही गर्दैन । क्रान्ति गर्नु पर्छ । कविता नलेख्नू भन्यो । मैले कविता लेख्न छोडेँ । अरू पनि धेरैले छोडे ।

ऊ एकाएक गायब भयो । हामीले ठान्यौँ ऊ भूमिगत भयो होला र अन्तै गयो होला । धेरै वर्षसम्म ऊ हाम्रोतिर आएन ।
देशमा गणतन्त्र आयो । अचानक ऊ देशकै ठुलो नेताको रूपमा हाम्रो अगाडि प्रकट भयो । उसका आसेपासेहरूले उसको हुनसम्म प्रशंसा गरे ।

केही दिनपछि उसका थुप्रै कुराहरू बाहिर आए–
देशमा क्रान्ति चलिरहेको बेलामा ऊ दक्षिणतिरको छिमेकी देशमा गएछ । त्यसबेलामा राजधानीको एउटा ठुलै व्यापारीको एक्ली छोरीसँग उसको प्रेम चल्दै रहेछ । त्यसलाई पनि उसले साथमै लगेछ । आफू निरक्षर भएको हुँदा राम्रै धन खर्चेर उच्चस्तरको शैक्षिक प्रमाणपत्र किनेछ । अनि लागेछ अमेरिकातिर । उतै हनिमुन मनाएछ । कविहरूलाई किनेर आफ्नो नाममा कविता लेख्न लगाएछ र किताब पनि निकालेछ । अनि क्रान्ति सकिएपछि यतै फर्किएछ र देश र जनताको लागि बाहिर बसेर क्रान्तिलाई सघाइरहेको थिएँ भनेर ढाँटेछ ।

अनि अहिले हामीचाहिँ देश र जनताको लागि आफूले गरेका त्यागहरूलाई सम्झी टिभीअगाडि बसेर उसको भाषण मन्त्रमुग्ध भएर सुनिरहेका छौँ र ताली बजाइरहेका छौँ ।

हेटौडा