फुस्रा पात
भीरमा उम्रिएको बिरुवा हुँ
फुस्रा पात छन् मेरा !
चिल्ला पात भएका
अग्ला रुखहरू सुन ! {{read_more}}
समथर मैदानमा उम्रिएका
पारिलो चौतारीमा रोपिएका
आँगनको मठमा पुजिएका
धातुको गमलामा सजिएका
घरको बगैँचामा गोडिएका
मालीको स्याहार पुगेका
तरुण वृक्षहरू सुन !
म त ढुङ्गाको कापमा उम्रिएछु !
उजाड बगरमा उम्रिएछु !
रित्तो मरुभूमिमा
कुनै सुदूर कन्दराको काखमा
जलिरहेको मसानघाटमा
ठूलो रुखको फेदमुनि उम्रिएछु !
मेरो केशमा
नयाँ पालुवाहरू सिउरिदिन
वसन्त बाबाले बिर्सिएको छ !
मेरो हत्केलामा
नयाँ कोपिलाहरू सजाइदिन
शरद आमाले पनि बिर्सिएकी छ !
तर शिशिरका चिसा रातहरूमा
सपना हराएको छैनँ मैले
जीवन हराएको छैनँ !
अब हेरिराख—
संसारका दुःखहरूलाई जितेर
म कसरी यो चट्टानभित्र
गाड्नेछु आफ्ना कलिला जराहरू ?
हेरिराख—
म कसरी उभिनेछु यो मरुभूमिमा
र आफै बाँच्न सिक्नेछु ?
भीरमा उम्रिएको बिरुवा हुँ
फुस्रा पात छन् मेरा !
नागरिक अक्षर, २०७३ माघ १