सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भुइँचालो र स्वास्नीसँगको सङ्गत

Nepal Telecom ad

भुइँचालो अत्यन्त शक्तिशाली अदृश्य शक्ति । श्रीमती शक्तिपूर्ण चलायमान दृश्य शक्ति ।{{read_more}} भूइँचालोमा खण्डित रूपमा पृथ्वीलाई नचाइदिने अद्भुत क्षमता ।  height=अङ्ग्रेजीमा अर्थक्विक र संस्कृतमा भूकम्प यसैको अर्काे नाम हो । यो सीमाहीन छ । जहाँ, जसरी र जहिले पनि प्रस्तुत हुन सक्छ । एउटै भूकम्पले धेरै देशमाथि रजगज गर्न सक्छ । खोलानाला, भीरपाखा, समुद्र, हिमाल जताबाट पनि आफ्नो क्षुद्र, रौद्र स्वभाव प्रकट गर्न सक्छ । केही सेकेण्डको कम्पमा नै प्राणीको कमजोर आश्रम र चोला खोलामा बगाइ दिन सक्छ । अदृश्य शक्ति कसैको वश र पहुँचमा छैन तापनि भन्नैपर्ने हुन्छ यो पृथ्वीको जीवन चक्रभित्र पर्छ । मूल कम्प र परकम्प भूकम्प प्रकटीकरणका मापकीय नाम हुन् । यहाँ भूकम्प र स्वास्नीको सङ्गतबाट प्राप्त ज्ञानको विस्कुन सुकाउने अनुमति चाहन्छु । 

आक्कल झुक्कल देखा पर्ने भूकम्पले भन्दा ज्यादा झाक्कल झुक्कल त मलाई मेरी श्रीमतीले पारेकी छन् । भूकम्पको झट्का र स्वास्नीको गाला चड्का जस्ता क्रियाकलापले कतिपयको कोमल मन छिया छिया भएर एक तमासले दुखेको होला । भुइँचालो र अर्धाङ्गीनीको लुकामारी र ख्याल ख्यालमा परेर कतिपयको ज्यान पनि गयो होला । बाँचेको छु भनेर म पनि सिउर हल्लाउदिन । चौरासी किलोको यो देह मार्न मात्र बाँकी राखेर स्वास्नीजीले थिलथिलो हुने गरी हल्लाइदिएकी छिन् । सिङ्गो शरीरमा महिनामा धेरै पटक परकम्प जान्छन् र वार्षिक कयौँ पटक मेरो जरो उखेल्न सक्ने खरो झट्का र चेतावनी दिन्छिन् । के गर्ने उनैमा आश्रित भएपछि जतिसुकै उचाल्ने पछार्ने खरो दरो चेतावनी दिए पनि चट्ट छोड्न नसकिँदो रहेछ । अर्की भित्र्याए त्योभन्दा खराब, खरी र दरी फेला पर्ने डर । त्यसैले ‘मारे पाप पाले पुण्य’ भन्दै टाँसो लाग्नुमै आफूलाई बुद्धिमानी ठानेको छु । 

म स्वास्नीको सर्वसुलभ, सुगम र सस्तो श्रीमान् । जस्तो विषम परिस्थितिमा पनि स्विटेबल । थुराइ, थर्काइ, असिना, पानी, इज्जत, बेइज्जत, हर मौसम बारैमासका लागि उपयोगी साँच्चै वातानुकूलित साबित भएको छु म । मलाई उनको दुइटा तत्त्व अपरिहार्य लाग्छन् रात र तातो भात । म त्यही तातोमा अल्मलिँदाको अवस्थामा उनले मेरो सातो खाने गरेकी छन् । पहिला एकलौटी एउटी स्वास्नीले मात्र खाने गरेको सातो अब भूकम्पले पनि खाने गरेको छ । कहिले स्वास्नीको झट्कामा परेर घर बाहिर दौडिराखेको हुन्छु भने कहिले भूकम्पको झट्काको कारण घरबाहिर दौडिराखेको हुन्छु । अब यो जुनीमा यी दुई तत्त्व हुन्थेनन् भने मेरो आयू लम्बिन्थ्यो कि झैँ लाग्छ । 

नङ्ग्रा देखाएर ङार्रर्रर ङुर्रर्र गर्छिन् । आँखाले नै ठिक पारुँला झै गर्छिन् र नाकै मुनि चोर औँला ठड्याएर अपराधीलाई झैँ दुत्कारछिन् । भाले भूकम्पले झैँ सेकेण्ड भरमै इहलिला माटोमा मिलाउलाझैँ उखरमाउलो गर्छिन् । यस्ताले भूकम्प पीडितलाई राहत वितरणको काम पाए भने आहत शिवाय केही हात लाग्थेन होला । के भनौँ, भन्दा आफ्नो मान्छे नभदा अन्याय, अत्याचार र भ्रष्टाचारमा होली खेलेको देखी देखी कसरी सँहनु । कसरी चूप बस्नुँ ।

मनपरितन्त्रमा रमाउँदै अनसन, उपवास लगायत हप्तौँ नजरबन्दमा राखेर आफ्नो बल र बुताको पर्दा उघार्छिन् । शस्त्र, अस्त्र, मुक्का, पन्जा, लबटा सबै यो मूर्त रूपले चाखी सक्यो । पढ्ने क्रममा अधिक शक्तिशाली कलम हो झैँ लागेर कलम समाएँ तर आज भ्रम भैराखेको छ । अधिक शक्तिशाली त स्वास्नी झैँ लाग्छ त्यसैले उनैलाई छाँद हालेर बसिराखेको छु । कलम झै हर्दम मेरा गोजीमा उनको राज छ । राज्यमा उनको केही पकड भएको भए लाग्छ राज्यमै राज गर्थिन् । जे होस् स्वास्नीको लाठी मुङ्ग्री लाटीको कानढुङ्गी झैँ प्यारो लागेको छ । हामी दुइटालाई भाले भूकम्पले छुट्याउन खोजे पनि आनेकाने गर्दै दोहोरो श्वास प्रश्वास क्रिया जारी राखेका छौँ तर पनि डरले चारै पाउ हल्ली राखेको हुनाले दैवले अन्तै जाउ भनेको हो कि झैँ लाग्छ । अनाहकमा भाले भूकम्प आयो र मेरा सन्तान दरसन्तानको सातो खायो । कतिको हुर्मतै लियो । भुइँचालोले गुल्ट्याउने लडाउने, घुमाउने, पछार्दै, लछार्दै, गलहत्यायो भने के गर्ने ? प्राण पखेरु नै उडाइदियो भने के गर्ने ? महलको मालिकले एकाएक राहत मागेर खानु प¥यो भने के गर्ने ? अघाउन्जेल बाँच्न पनि नपाइने हो कि ? भूकम्प र स्वास्नीको हर्दमको थुराइ, थर्काइ, कम्प, परकम्पले बाँच्ने रहर पनि मरिसक्यो । मेरा लागि घरभित्र पनि भाले भूकम्प घर बाहिर पनि भाले भूकम्प । सधैँको त्राहीमाम, त्राहीमाम, अब कता जाम ? 

वल्लो घर भूकम्प, पल्लो घर भूकम्प, माथि, तल, खेतबारी, भीरपाखा, हिमाल पहाड, ओडारमा भूकम्प, पालमा भूकम्प, थालमा भूकम्प, दालमा भूकम्प, ढालमा भूकम्प, आहतमा भूकम्प, राहतमा भूकम्प, नेतामा भूकम्प, राजनीतिमा भूकम्प, खाद्यनीतिमा भूकम्प, नेपालको मेची महाकाली हर क्षेत्रमा भूकम्प । राहत आको आकै छ । खानेले खाको खाकै छ । अब के नेपाली भूकम्पले र स्वास्नीले सतायो भनेर भाग्ने ? भागेर कहाँ जाने ? जहाँ गए पनि पृथ्वी चाहिन्छ । वंश फैलाउन स्वस्नी चाहिन्छ । अनि यी दुवै शक्तिशालीलाई छोडेर खाली हात कहाँ जाने ? जहाँ गए पनि ‘कहाँ जालास मछली मेरै ढडिया’ । आपत्मा परियो बा ! जहाँ गए पनि भूकम्प र स्वास्नीले छोड्छन् त ? सुपाच्य तरिकाले मिलेर बस्नुपर्छ ।

अर्काे कुरा मौसम परिवर्तनसँगै आफूलाई पनि ढाल्न सक्नुपर्छ । भूइँचालो र स्वास्नीको खप्की खान हामी जतिखेर पनि तयार हुनुपर्छ । किनकि ‘दुध दिने गाईको लात्ती सहनु’ पर्छ । यस्ता अप्ठ्यारासँग मिलेर बस्न सिक्नुपर्छ, जान्नु पर्छ । सजिलासँग त जो पनि बस्छ नि । अप्ठ्यारासँग गुजारा गर्न जान्ने पो सिपालु र बाठोमा दरिन्छ । आज भोलि हरघरमा स्वास्नी र भूकम्पको राज चलेको छ । घरमूलीभन्दा उनै ठूली भएर बसेकी छन् । आपत्मा चूँ बोल्न नसक्ने म जस्ता मच्चिनुभन्दा थच्चिनु नै हाड मासुको जतन गर्नु हो । भूकम्प र स्वास्नी दुवै पक्षको अन्याय, अत्याचारको मार झेली राख्ने म अभागी बाँच्न खोज्छु यिनले मार्न खोज्छन् । न मारिहाल्छन् न आनन्दले बाँच्न दिन्छन् । बाँच्नेका लागि यो सदाको घिडघिडो । ‘वनको बाघले नखाए पनि मनको बाघले खाइराख्छ’ । चिन्ताग्रस्त मासु विनाको आङको अब त टाङ मात्र बाँकी छ । 

भूकम्प आए दुबै भाग्छौ तै पनि दैनिक जसो स्वास्नीको सुगा रटाइ सुरु हुन्छ चारतले घर किन बनाको ? काम नपाको ? पैसा धेरै भाको ? कि स्वास्नी छोराछोरीलाई मार्न बनाको ? थपक्क भोलिका दिनमा एक तले घरसँग जति भन्छ त्यति पैसा थपेर साट्नु । अन्यथा एक्लै जुनी काट्नु । मेरो नित्य कर्मसँगै दैनिक जसो यही घरेलु भूकम्पको अन्तिम चेतावनी रहेको छ । पोथी बासेको अनिष्ट मान्छन् मान्छेले त्यसैले सदा स्वास्नीको करकर र भाले भुइँचालोको थर्काइ र झट्काको कारण मेरो सिङ्गो चोलालाई खोलामा अर्पण गर्न आतुर भइसकेँ । अन्यथा कि भूकम्प पछि हट कि स्वास्नी । असम्भव । यी दुवैमा नङ र मासुको जस्तो सम्बन्ध छ । भूकम्प नभए खाना रुच्छ नौ नाडी गल्दैन तर स्वास्नी नभए खानै रुच्दैन नौ नाडी गलेर फत्रक्क हुन्छ । नत्र मैले जानेको थिएँ । नत्र के ? नत्र एकतले घरले जति भन्छ त्यति पैसा थपेर मेरो चारतले घरसँग साट्छु र एकतले घरमा आनन्दले जीउने र पिउने प्रयास गर्छु । यति भए पछि न भाले भूकम्पको डर न त स्वास्नीको कर कर । भएन त मस्ताराम !

फूलबारी, पोखरा
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म्वाई महात्म्य

म्वाई महात्म्य

शेषराज भट्टराई
थाङ्ने चिन्तन

थाङ्ने चिन्तन

शेषराज भट्टराई
साँढे स्वास्नी

साँढे स्वास्नी

शेषराज भट्टराई
किन चाउरिस् मरीच ? आफ्नै रागले !

किन चाउरिस् मरीच ?...

शेषराज भट्टराई
घाँटी 

घाँटी 

शेषराज भट्टराई