शोकपुर राज्यका जनता अचम्मका थिए । शोकमा रमाएर बस्न सक्नु तिनीहरूको विशेषता थियो । हुन त त्यस राज्यको इतिहास शोकबाट गुज्रेको थियो । त्यहाँ भएका ठूल्ठूला परिवर्तनमा शोकको ठूलो हात थियो । शोक त्यस राज्यको अभिन्न संस्कृति बनिसकेको थियो ।

त्यहाँ शोकतान्त्रिक व्यवस्था संचालनमा थियो । ‘नयाँ बोतलमा पुरानो रक्सी’ भने जस्तै नाम अरु नै दिए पनि उही शोकतन्त्र चालू थियो । के के न होला भनेर सबै मिलेर प्रजातन्त्र ल्याए । आखिरमा त्यो शोकतन्त्र रहेको कुरा पछि थाहा लाग्यो । केही दशकपछि आन्दोलन गरेर लोकतन्त्र ल्याए । त्यो पनि शोकतन्त्र नै थियो । पछिल्लो पटक गणतन्त्र भनेर ल्याएको त्यो झन् खाँट्टि शोकतन्त्र थियो । सायद शोकतन्त्र त्यस देशको माटो सुहाउँदो व्यवस्था थियो होला र त पार्टीहरू घुमाई फिराई शोकतन्त्रलाई स्थापित गराउँदथे । 

अन्य व्यवस्थामा जस्तै शोकतन्त्रमा पनि जनता सर्वशक्तिमान हुन्छन् भनिन्थ्यो । देखाउनका लागि जनताको भोटबाट सांसद चुनिन्थे । संसद नामको मुर्दाघर पनि अस्तित्वमा थियो । सांसदहरू थिए मलामी जस्ता । तिनीहरू संसद भवन भित्र नून खाएको कुखुरा जस्तै झोक्राएर बस्दथे । जनता ठान्दथेस हाम्रो शोकमा उनीहरू दुःखी भएका हुन् । तिनीहरू जनताका हितमा कुनै कुरा उठाउँदैनन् थिए । जब राज्यकोष लुट्ने बेला हुन्थ्योस तिनका त्रिनेत्र बल्दथे । सबका सब फूर्ति भएर जाग्दथे । राज्यको ढुकुटी तिनका लागि अपूतालीमा पाएको सम्पत्ति सरह थियो ।

त्यस राज्यका नेता, सांसद र मन्त्रीहरू कलाकार भन्दा कम थिएनन् । तिनीहरू भाका फेरी फेरी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको शोकधुन बजाउन सिपालु थिए । शोकधुन बज्नासाथ थपडी बजाउँदै नाँच्ने कार्यकर्ताहरूले देशभर शोकको वातावारण तयार पारिदिन्थे । त्यसपछि भावविभोर हुँदै जनता शोकाकुल हुन्थे । कथंकदाचित जनता खुशीमा रमाउन आँटे नेताहरूले कुनै बितण्डा मच्चाएर शोकको साम्राज्य स्थापित गराई छाड्दथे । 

संसारको एक मात्र त्यस राज्यको मौलिक शासन व्यवस्था शोकतन्त्रमा पिएच्डी गर्दै गरेका एक जना विदेशी विद्यार्थीले आफ्नो शोधको पुछारमा लेखे–‘जनतालाई शोकमा पारेपछि नेताहरूलाई राज्यको ढुकुटी लुट्न सजिलो हुँदोरहेछ ।’ 

बेलायत