नेपाली समाज बहुजातीय र बहुधार्मिक समाज मात्र होइन बहुकवि प्रजातिको समाज पनि हो । मलाई एक जना राजनीतिज्ञले सोधे होइन शुभेच्छु तपाईँ कुन पार्टीको कवि ?  तपाईँ नामपछाडि शुभेच्छु मात्रै लेख्नुहुन्छ कुन जातिको कुन समुदायको र कुन् धर्मको कवि ? म अलमल परेँ । कतै कविको पनि पार्टी हुन्छ र । कतै कविको पनि जाति र धर्म हुन्छ र ? अझ कविको सम्प्रदाय विशेष हुन्छ र ? मैले उनैलाई यी प्रश्न गरेँ । तर उनले मलाई नेपाली साहित्य जगत्का यथार्थबारे बताइदिए । कवि पनि थरिथरिका हुँदारहेछन् । उनले भनेको यो विचार वाक्यलाई मेरो आफ्नो शोध बनाएर कविका प्रजातिको खोजिमा लागेँ ।

कविको प्रजाति खोजी गर्ने पहिलो स्रोत व्यक्ति तिनै नेता थिए । ती नेताकाअनुसार कविको पदवी पनि हुँदो रहेछ । उनी भन्दैथिए वरिष्ठ कवि, कनिष्ठ कवि, अध्यक्ष कवि, सदस्य कवि, महासचिव कवि, सचिव कवि, सहसचिव कवि, उपसचिव कवि, कोषाध्यक्ष कवि, सहकोषाध्यक्ष कवि आदि । कविको अर्को जागिरअनुसारको वर्गीकरण पनि हुँदोरहेछ मुख्यसचिव कवि, सचिव कवि, सहसचिव कवि, उपसचिव कवि, अधिकृत कवि, नायव सुब्बा कवि, खरदार कवि, सहयोगी कवि, परिचारक कवि, ड्राइभर कवि सहचालक कवि आदि । यो पनि कार्यालयका प्रकृतिअनुसार अलग अलग हुँदो रहेछ । यो निजामतितिरको वर्गीकरण भयो । उता संस्थानतिर निर्देशक कवि, कार्यकारी कवि, प्रबन्धक कवि इलेक्ट्रिसियन कवि, मर्मतसंभार कवि, सडक ब्यवस्थापन कवि, बिजुली कवि, बिजुलीपानी कवि, कुलपति कवि, उपकुलपति कवि, सदस्यसचिव कवि, प्राज्ञकवि, परिषद् कवि, सभाकवि, सहकारी कवि, वित्तीय संस्था कवि, बैड्कर कवि आदि फरक प्रजाति हुँदारहेछन् । यी कविमध्ये आफू कहाँ पर्छु भनेर हेरिरहेरेँ कतै पनि परिएन । 

खोज्दैजाँदा पार्टीपिच्छेका कवि हुँदारहेछन् । आजकाल हुने कविगोष्ठीमा पार्टीपिच्छेका कविलाई पालैपालो कविता सुनाउन दिइँदो रहेछ । प्रतिष्ठानका कविगोष्ठीमा किन खाँटी कवि देखिन छाडे भनेको त जमानै अर्को आइसके छ । त्यहाँ सबै पार्टी प्रतिनिधि कवि हुँदा जाँदा रहेछन् । नेपालमा क्षेत्रीय र राष्ट्रिय पार्टीको चलन आएपछि राष्ट्रिय कवि, क्षेत्रीय कवि, उपक्षेत्रीय कवि स्थानीय कवि आदिको पनि वर्गीकरण हुन थालेको रहेछ । राजनीतिक चिन्तनअनुसारका केही गणतान्त्रिक कवि, सङ्घीय कवि, उपसङ्घीय कवि, जातीय कवि, मधेसी कवि, पहाडिया कवि, आदिवासी कवि, जनजाति कवि, सम्भ्रान्त कवि, सर्वहारा कवि, हिमाली कविको प्रजाति पनि विकास भइसकेको रहेछ । यी कविमा आफू कहाँ परेँ भनेर भनिरहनु राजनीति गरेको ठहरिने हुँदा तपाइँ नै विचार गर्नुहोला ।  

केही कविका प्रजाति अलि फरक रहेछन् । ती कवि कम लेखेर पनि बढी चर्चामा आउँदा रहेछन् । तीनको प्रजातिलाई सञ्चार कवि भनिँदो रहेछ । सञ्चारकविका पनि मञ्चकवि, माइक कवि, माइक्रोफÞोन कवि, वक्ता कवि, वाचक कवि, संवाददाता कवि, उद्घोषक कवि, सम्पादक कवि, उपसम्पादक कवि, सहसम्पादक कवि, कार्यकारीसम्पादक कवि, गफकवि, स्क्रिन कवि, ध्वनि कवि, फोटोग्राफर कवि आदि फरक फरक प्रजाति हुँदारहेछन् । यी कविहरूले खोके मात्र भने पनि सञ्चारमाध्यमले नोवल पुरस्कार पाउने खालको कवि भनेर प्रचार गर्दा रहेछन् । यिनको एउटा पुस्तक निस्कियो भने प्राज्ञकविका सातवटा पुस्तक निस्किए बराबर चर्चा चल्दो रहेछ । यिनीहरूसँग कसैका बाबुको केही लाग्दो रहेनछ । पालो गरी गरी पत्रिकापिच्छे ठूला ठूला फोटा छाप्न भ्याउँदा रहेछन् । रेडियो र टेलिभिजनमा गजब गजबका अन्तर्वार्ता प्रशारण गर्दा रहेछन् । यस प्रजातिमा मेरो नाम आउने कुरै भएन । 

केही राम्रो लेखेर पछाडि परेका कविहरूको अर्को प्रजाति रहेछ । त्यो प्रजाति चाहिँ नगरपालिका प्रतिनिधि कवि, गाउँपालिका  प्रतिनिधि कवि, वडा प्रतिनिधि कवि, टोलप्रतिनिधि कवि आदि । यिनको चाहिँ त्यति चर्चा हुँदो रहेन छ । यिनले पनि आफ्नो पालिका र वडाको बजेट पाएका मौकामा चाहिँ राम्रैसँग चर्चा पाउँदा रहेछन् । उनीहरूको कविको प्रजाति उल्लेख गरेरै मञ्चमा केही भाषणसहित कविता पढ्ने मौका पाउँदा रहेछन् । मैले सबै प्रजाति सुनिसकेपछि आफूलाई आफ्नै वडाको ठूलो कवि ठानेर यही प्रजातिमा राखेँ । अरुमा उति पहुँच पुग्ला जस्तो लाग्दै लागेन । तर वडावडामा बजेट आउने भएपछि र आफू वडा सदस्य वा अध्यक्ष नहुने भएपछि त्यो पनि मेरा पहुँचको कवि प्रजाति रहेन । यहाँ माथि राष्ट्रपति कवि, उपराष्ट्रपति कवि, प्रधानमन्त्री कवि, उपप्रधानमन्त्री कवि, उपप्रधानमन्त्री एवम् कोनी केजाति मन्त्री कवि, मन्त्री कवि, सभामुख कवि, उपसभामुख कवि, सांसद् कवि, प्रदेश कवि हुँदै लामो पहुँच चाहिँदो रहेछ । यस प्रजातिमा आफूलाई कतै नपाएर निरास भएँ । 

झन् जान्यो झन् कठिन भनेझैँ मलाई अरु कविका प्रजाति केके हुँदा रहेछन् भन्ने जिज्ञासा पलाएर आयो । अनुसन्धान अनुसारका थप केही प्रजातिहरू मानवीय प्रवृत्तिसँग पनि मिल्दाजुल्दा हुँदारहेछन् । ती हुन् अग्रगामी कवि, पच्छगामी कवि, प्रगतिनशील कवि, अगतिशील कवि, दक्षिणपन्थी कवि, उत्तरपन्थी कवि आदि । पूर्वपन्थी कवि आदि । यी कविको चाहिँ भने देशमा बोलवाला रहेछ । यिनीहरूको कवित्वमाथि कसैले प्रश्न उठायो कि उसको कवि संकटमा पर्यो । यी कविले राजनीति पदअनुसारका कविहरूको सातो खाँदा रहेछन् । मनमनमा यिनका प्रजातिमा पर्न सके हुन्थ्यो भन्ने लाग्यो तर के गर्नु आफू सातो खान सक्ने परिएन । 

कविहरूको अर्को प्रजाति पनि रहेछ झ्यालमा बसेर बाटामा हिँड्ने केटी जिस्क्याउने झ्याल कवि, आफ्ना एरियामा लेग्रो तानी तानी, घोक्रो फुलाइ फुलाइ कविता पढ्ने र अलि अग्रज कविका अगाडि र अलि पर गएर कविता पढ्नु परे लुत्रुक्क पर्ने कवि, स्याल कवि, केटी श्रोता भेटे चिच्याएर कविता पढ्ने कवि, माल कवि, कसैले भात दिन्छ भने सित्तैमा जहाँ पनि जाने र कविता सुनाउने कवि भातदाल कवि, मञ्चैपिच्छे कविता प्रतियोगितामा भाग लिने तर पुरस्कृत हुन नसक्ने सामान्य कवि, जहाँ भाग लियो त्यहाँ पुरस्कार उडाइहाल्ने असामान्य कवि, मञ्चमा चढ्यो कि ताली ताली भनेर बीचबीचमा कराइरहने कवि, वाह वाह कवि, कविता पढिरहने तर के पढेको भन्ने बुझ्दै नबुझिने कवि हा हा कवि, कविता पढिसक्ता पनि श्रोताले ताली नबजाउने कवि छ्या छ्या कवि आदि अरु प्रजातिका कवि रहेछन् । यी मध्ये आफूलाई यसो दाँजिहेरेँ कतै परिएला जस्तो लागेन । आफूले आफैलाई छ्याछ्या कविका दर्जामा कसरी राखूँ । 

कविको वर्गीकरण गर्ने क्रममा हाम्रामा र उता अम्रिकामा पनि राजक कवि र अराजक कविको चर्चा रहेछ ।  पुरानो कवि र नौलो कवि अर्को संसारमै प्रचलित प्रजाति रहेछ । त्यसो त नेपमालमा पनि कविका प्रजाति नभएका होइनन् । राजाले कविका कविता पढ्दै पदवी दिँदै गर्थे । धन्न देवकोटाका कविता कुनै राजाले पढेनन् र महाकवि भए । नत्र उनलाई पनि अरु कुनै पदवि दिएर कविमै सीमित गरिदिन्थे । युवाकवि र वृद्धा कविको तानातान त छँदैछ । अहिले मञ्चमै शक्तिशाली महिला कवि र पुरुष कविको जुहारी चल्न थालेको छ । दलित कवि र बाहुन कविको हानाहान नै छ । 
 
अनुसन्धान गर्दे गर्दा, प्रवृत्तिहरू सिलो गर्दै जाँदा र समीक्षकहरूका भूमिका एवम् विमोचन समारोहका भाषण सुन्दै जाँदा विश्वमै नभएका नेपालमै जन्मिएका केही खास कविका प्रजातिहरू पनि फेला परे । नेपाल छाडेर कविता लेख्ने कवि डायस्पोरिक कवि । उनीहरूलाई लाउरे कवि पनि भनिन्छ । उनीहरूका कविता भन्दा पनि कविता कृतिका गाता र कागज गजबको हुँदो रहेछ । तिनका कविता माथि ठूलठुला समीक्षकले कलम चलाउँदा रहेछन् । अर्को प्रजाति  नेपालमै बसेर कविता लेख्ने त्यति छाप्न नसक्ने, छापिहाले सामान्य कागजमा छाप्ने, नेपालकै वनपाखाका विम्ब टिपेर लेख्ने कवि हुँदा रहेछन् । त्यस्ता कवि चाहिँ कवि चाहिँ रैथाने कवि । यस्ता कविलाई चाउरे कवि पनि भनिन्छ । प्राय गाउँघरकै विम्ब लेख्ने हुँदा  गाउँले कवि र पाखा पखेराका विम्ब प्रतीक एवम् लोक भाका लेख्ने हुँदा पाखे कवि पनि भनिन्छ । यिनका कवितालाई समीक्षकहरूले त्यति दृष्टि नै पुर्याउँदैनन् । पुर्याउन् पनि कसरी पश्चिमको समीक्षा सिद्धान्तले तिनको छेउटुप्पो केही भेटिने नै होइन । यस वर्गीकरणमा मैले आफूलाई चाउरे र पाखे कविका कोटिमा पाएँ । यो कुरा हल्ला नगरिदिनुहोला फेरि समीक्षकहरूले हेला गर्छन् । सित्तैमा किताब बाँड्दै हिँड्ने कविले पनि दिन छोड्छन् ।  

उक्त केही प्रजातिबाहेक प्रविधिले केही नयाँ कविका प्रजाति विकास गरेको पाइयो । त्यस्ता कविमा फेसबुके कवि, ट्विटरे कवि, युटुवे कवि आदि देखिन थालेका रहेछन् । यीमध्ये फेसबुके कवि बेलाबेलामा फेसबुकमा कविता पोस्ट गरिरहँदा रहेछन् । आफ्ना कवितामा लाइक आए जति पाठकको मन जितेको ठानेर बस्ता रहेछन् । कसैले नदेखेझैँ गरे मेसेन्जरबाट फोन गरेर लाइक र कमेन्ट हनाउँदा रहेछन् । अहिले इनको बिग्बिगी स्वदेश विदेश गाउँसहर जहाँसुकै बढिरहेको छ । त्यस्तै गफाडी कवि रहेक कार्यक्रममा जाँदारहेछन्, कविता चाहिँ नसुनाइकन बाहिर निस्कँदा रहेछन् र खाजा खाने बेलामा साथीभाइलाई सुनाउँला भनेको समय नै पुगेन, सुनाउन पाएको भए सबैलाई चकित पारिदिन्थेँ भन्दा रहेछन् । उनीहरूका कविता कतै पनि पढ्न पाइँदो रहेनछ । ट्विटरे कवि समय समयमा ट्विटरमा छोटा छोटा हाइकू जत्रा कविता ट्विट गरिरहँदा रहेछन् र आफू ठूलो कवि भएको दावि गर्दा रहेछन् । युटुवे कविले चाहिँ कम्प्युटरका भित्तामा तहल्कै मच्चाउँदा रहेछन् । नयाँ नयाँ राम्रा राम्रा मोडेललाई अभिनय गराएर, स्वर भएकालाई पढाएर आफूले नै पढेझैँ ओठ चलाएर सुटिड गरिओरी कविता पोस्ट गर्दा रहेछन् । कविता पढिसक्ता गरररर ताली बजेको कुनै विशेष हलको दृश्य पनि समेट्ता रहेछन् । यिनलाई चाहिँ केही भन्नै सकिँदो रहेन छ । यसो हेरेर लाइक वा कमेन्ट गर्न बिर्सियो भने फोन गरेर थर्काउन थाल्दारहेछन् । यी प्रजातिमा पाखे कविको पहुँच पुग्ने कुरै भएन ।  

अनुसन्धान गर्दै जाँदा अब हाम्रा आचार्य जगन्नाथले गरेका कविका वर्गीकरणले फेल खान थालेछन् । उनले कविताका आधारमा कविलाई उत्तमोत्तम, उत्तम, मध्यम र अधम भनेर चार प्रजातिमा बाँडेका रहेछन् । उनका अनुसार विशिष्ट अर्थ व्यक्त गर्ने कविता लेख्ने कवि उत्तमोत्तम कवि हो । व्यड्ग्य प्रधान नभएर पनि चमत्कृत कविता लेख्ने कवि उत्तम कवि हो। वाच्यार्थ र व्यड्ग्यार्थले समान चमत्कार उत्पन्न गर्ने कविता रच्ने कवि मध्यम कवि हो । र, अर्थको चमत्कार भन्दा शब्दको चमत्कार हुने कवि अधम कवि हो । आजभोलि यी एक दुई र तीन नम्बरी कवि पाउन मुस्किलै होला । भए पनि कतै गोदावरीतिर विश्वामित्रलाई इन्द्रले मेनका पठाएर छले जसरी कसैले छलिरहेको हेला ? कुनै कुनै पेसेवार र पैसेवार समीक्षकले कसैलाई ती प्रजातिमा राखे पनि मैले आफूलाई चौथो प्रजातिकै कविका रुपमा पाएँ । अनि कविता पढिहेर्दा त्यहाँ पनि नपाएर जिल्ल परेँ ।

आजकाल नै त नभनू देवकोटाकै पालादेखि नेपालमा कविको अर्को प्रजाति पनि देखिँदै आएको छ ।  छन्देकवि र बेछन्देकवि । यसमा छन्देकविको पनि सिलोके र झ्याउरे कविको विग्विगी छ भने बेछन्देकविका भाले वेछन्दे र पोथी वेछन्दे कविको विग्विगी छ । छन्दे कविहरू ह्रस्व दीर्घ आदि वर्णविन्यास, शास्त्रीय कर्मकाण्डसहित कविता पनि लेख्ने भएकाले अलि शान्त खालका हुन्छन् । बेछन्देकविलाई छोइसक्नु हुँदैन । उनीहरू तुक्का जोड्न र ठूलो ठूलो आवाजमा थर्काएरै कविता पढेर श्रोतालाई तह लाउँछन् । उनीहरूको भालेशैलीका अगाडि हाम्रो केही लाग्दैन । झ्याउरे कविहरूका कवितामा लोकका पीडा व्यथा भए पनि कसैले नसुन्ने र र्याप र पपको जमानामा लोकव्यथाको अर्थ नहुने हुँदा उनीहरूको डाको पनि सेलाएको देखिन्छ । यस्ता प्रजातिमध्ये म कहाँ परुँला भनेर पहिल्याउनै सकिनँ । सिलोके कवि भनूँ सिलोक लेख्नै आउँदैन, झ्याउरे कवि भनूँ कविता गाउँनै सकिँदैन अछन्दे कवि भनूँ अछन्दको कविता पनि के कविता यहाँ मेरो लिग पहिचानको संकट पर्यो । बरु छन्दे न बन्दे कवि हुँ भन्नु उपयुक्त होला । यस्तोलाई आचार्य हेमचन्द्र बूढाले चम्पु भनेका थिए क्यारे ? चम्पु कवि हुँ भनूँ भने चम्मु कवि भन्लान् भन्ने डर ।

अर्को कविका प्रजातिमा पुरानो हाम्रै परम्परा पनि भेटियो । हाम्रा बाजेका पालाका आचार्य हेमचन्द्रले कविलाई मुक्तक कवि, सन्दानितक कवि, विशेषक कवि, कलापक कवि र कुलक कवि भनेर बाँडेका रहेछन् । आजभोलि यस किसिमका कविको भने राम्रै चहलपहल छ । महाकाव्यकार र काव्यकार कवि नभएपछि यिनका दिन बढेका छन् । यी कविको वर्गीकरण कविले लेख्न सक्ने लाइनका आधारमा भएको रहेछ । उनले एकै सिलोक लेखेर चर्चामा आउने कविलाई  मुक्तक कवि भनेका रहेछन् । दुई श्लोक लेखेर मञ्च हल्लाउने कविलाई सन्दानितक कवि भनेका रहेछन् । तिन सिलोक लेखेर देस हल्लाउने कविलाई विशेषक कवि भनेका रहेछन् । चार सिलोक लेखेर विश्व थर्काउने कविलाई कलापक कवि र पाँच सिलोकमाथि लेख्न सक्ने कविलाई कुलक कवि भनेका रहेछन् । यो वर्गीकरणमा आफू एके नम्बरको प्रजातिमा पर्छु भन्ने पकका भयो । अनि अरु खोजी गर्ने टाउकै दुखाइनँ । भामहको शब्दार्थो सहितौ काव्यं (शब्द र अर्थको सहभाव काव्य हो) भन्ने कुरा मलाई त्यति मन परेन । अब यतिका नेपाली मौलिक कविका आविस्कार आइसके र यतिका आविष्कारक जन्मिइ सकेपछि पुराना कुरामा अलमलिइरहनु आवश्यक पनि लागेन । बरु भामहको कुरा मन पर्यो । उनले गद्य, पद्य दुबैलाई  काव्य (कविता) भनेका रहेछन् । आज पनि त्यस्तै भएको छ गद्य पनि कविता पद्य पनि कविता अनि के कविका प्रजाति नहुन् त । अब कथा कवि, निबन्ध कवि, नाटक कवि, फिलिम कवि, आदिको अनुसन्धान हुन आवश्यक छ । जमाना छ जो विनिर्माणको । कवि प्रजातिलाई चाहिँ किन नछुने त्यो विनिर्माणले ? 

पाँचथर, हाल काठमाडौं