“लौ है मन्त्रीज्यूतर्फबाट सिफारिस आयो । नपारी हुन्न अब उहाँको मान्छेलाई ।” आयोगका अध्यक्षले छनोट समितिलाई फोन रिसिभ गरिसकेर भने ।

“हामीले नाम तयार पारेर परिणाम घोषणा गर्न मात्र बाँकी थियो । यस्तो अवस्थामा अब कसको नाम कटाउनु होला ?” अन्तर्वार्तामा सामेल एक सदस्यले अलिक चिन्ता भएजस्तो गरी भने ।

“हेर्नुहोस् जसरी भए पनि मन्त्रीजीको सिफारिसलाई हामीले बेवास्ता गर्न मिल्दैन । जसरी पनि समावेश गर्नै पर्छ ।” अध्यक्षले बडो लाचारीका साथ कुरा राखे । 

यसरी अध्यक्षले नै भनेपछि अन्तर्वार्ता टिम पनि तयार भइसकेका नामहरूमा लाग्यो पुनः विचार गर्नतिर । 
“यो कुमारप्रसाद भन्ने मान्छे प्रधानमन्त्रीकै हो यसलाई हटाउने कुरै आएन ।” 
“यो धनबहादुर भन्ने मान्छे चेयरम्यानबाट सिफारिस भएको हो । उसलाई हटाउने ता झन् कुरै भएन ।” 
गिरिधन भन्ने कसको सिफारिसमा आएको नाम हो भन्नेबारेमा निकै सोधपुछ भएपछि ऊ पनि विपक्षीदलका नेताबाट आएको बुझेपछि हटाउन नसकिनेमा टुङ्गो लाग्यो ।
“यो गौरवकुमार मेरा आफ्नै साला हुन् ।” एक जनाले भने । 
“अनि यी विमल यादव मेरा आफन्त हुन् ।” अर्का सदस्यले तत्काल भने । 
“ती पाँच जना मेरा हुन् ।” यसै बेला अध्यक्षले पनि भने ।
“उसो भए कसरी एडजस्ट गर्ने होला । यता जनजातिको कुरा छ । आरक्षणको कुरा पनि छ । त्यसरी आएकाहरूको नाम काट्नु भनेको ता झन् तातो खरानीमा टेक्नु जस्तो भा छ अचेलभोलि ।”

अन्तर्वार्ता समिति नै बडो अन्योलमा पर्यो । मन्त्रीको मान्छे अब कसरी एडजस्ट गर्ने त हँ !! 
“लु यसको नाम काटौं । एक नाम देखाउँदै एक जनाले उपाय निकाले । कसैको सिफारिस र आरक्षणमा पनि नपरेको तर अति नै ट्यालेन्ट कमल शर्माको नाम काट्नेमा सबैको सहमति हुन लाग्दा एक जनाले शङ्का प्रकट गरे “यो ता हरेक रुपमा अब्बल हो नि कसरी काट्नु होला र !!”

तत्काल अध्यक्षले भने– “यो सारै ट्यालेन्ट छ कतै न कतै यसले पाइहाल्छ नि । लु यसैको नाम काटौं ।” समाधान हुने उपाय देखेर अध्यक्ष बडो हँसिलो अनुहारमा देखिए र भने– “लु चाँडै गरिहालम नत्र फेरि कुनलाइ काट्ने बखेडा आउन सक्छ......!”

समस्याको सबैभन्दा सजिलो समाधान नै सबैभन्दा गतिलो क्यान्डिडेटलाइ हटाएर निस्कियो । यसमा समिति पनि सहमत भो र कमल शर्माको नाम काटियो । अनि मन्त्रीका मान्छेको नाम एक नम्बरमा राखेर नतिजा सार्वजनिक गरियो ।

(हिन्दी कथाकार सुरेशबाबु मित्रको कथा समाधानमा आधारित)