सुनशान बगैंचा बसेर उङिराछ 
बकुला भगतमा एक टक
सिंहदरबारतिर हेरेर झुङिराछ 
त्यो सत्ता त्यो शासन
त्यो रौनकता त्यो भब्य आशन
बिगतलाई सम्झेर बरबराउँछ 
बर्तमानमा बिउँझिदा घरबराउँछ 
निरस पोखरीमा उभिएर उङिराछ 
सिंहदरबार तिर हेर्दै झुङिराछ ।  

त्यो समय त्यो शक्ति
जनताको त्यो जयजयकार त्यो भक्ति
सम्झेर घुटुघुटु थुक निल्छ 
मिठो त्यो कल्पना त्यो 
छिनमै शितको थोपाझै बिल्छ 
कराउँदै कहिले यता कहिले उता हिल्छ 
मानौ उसलाई घरीघरी बारुलाले चिल्छ 
सिंहदरबारको शक्तिलाई फर्काउन अनेक सोच्छ 
जनतालाई भट्काउन पनि खोज्छ 
सिंहदरबारलाई अनेक आरोप पनि लाउँछ 
उसको बिरोधमा पैसोको खोलो पनि बगाउँछ
तर सफलता हात नपरेपछि 
एक्लै एक्लै गमेर उङिराछ 
सिंहदरबार हेर्दै अजिङ्गर जस्तै झुङिराछ ।

आफ्नो अस्तित्वजोगाउन नारायणहिटी 
पहाड चढ्छ तराई झर्छ
कहिले मेची गर्छ कहिले काली गर्छ 
किनभने उसलाई 
आफ्नो इतिहास मेटिने डर छ 
सिंहदरबारलाई जिस्काउँछ 
जनतलाई उक्साउँछ
तर कसैले साथ नदिएपछि 
आफ्नै छाती चस्काउँछ
उसलाई भेट्न अब त्यहाँ
न सचिव आउँछन् मन्त्री आउँछन् 
न राजदूत न प्रधानमन्त्री आउँछन् 
अझै लाग्दैन उसलाई 
उसको शक्ति सिंहदरबार सर्या छ 
त्यसैले बेला बेला नारायणहिटी 
सिंह जस्तै गर्जिने गर्या छ ।  

नारायणहिटी
तिम्रो बारे यहाँ अनेक हल्ला छ 
तर तिमीलाई मेरो एउटा सल्लाह छ 
अब तिमी इतिहासलाई सजाएर बस्न जान
तिमीलाई हेर्न आउने जनतालाई 
स्वागत गर्दै हाँस्न जान ।

दाङ, हाल : काठमाडौं