केही हप्ता अघिको झटारो

विभिन्न दलहरूको ध्रवीकरण र खासगरी एमाले र माओवादी केन्द्रको गठबन्धन र एकताको कुराले धेरैलाई चिन्तित बनाएको छ । आउँदोे चुनावपछि पनि यो एकता कायमै रह्यो भने यसले नेपाली समाजमा ठूला ठूला दुष्प्रभावहरू पार्नेछ । धेरैको रोजीरोटी गुम्नेछ । धेरैको निन्द्रा खानेछ, भोक हराउने छ । 

धेरै मानिसहरूको खानपान र मनोरञ्जनका लागि वाम पार्टीहरूको लडाईँ लाभदायक थियो । टुक्रा टुक्रामा बाँडिएर उनीहरू एकअर्कालाई मनपरी गाली गर्थे, एकअर्कालाई नाङ्गेझार बनाएर टुँडिखेलमा लडाउँथे र सिस्नुपानीले हान्थे । अब त्यस्तो रमिता हेर्न नपाइने आशङ्काले हामी नेपाली जनता दुखी छौँ । गाली सुन्न नपाउँदा हाम्रा कानहरूलाई शून्यता र दिग्दारी हुनेछ । दक्षिणपन्थी, उग्रवादी, प्रतिगामी, यथास्थितिवादी, टाउकोकट्टा, घाँटीरेटुवा, नपुङ्सक, दरबारिया, भ्रष्टाचारी, हत्यारा, गुप्तचर, छेपारो, विषवृक्ष, कठपुतली, वैशाखी, पाखण्डी, शिखण्डी, जस्ता अनेकौँ उपाधीहरूद्वारा वाम पार्टीहरूले एकले अर्कालाई गाली गर्दा फोका उठुन्जेल ताली बजाउने हाम्रा हातहरूमा खिया लाग्नेछ । खोक्रो राष्ट्रवादी र लम्पसारवादीमा आएर गाली गलौजको शृङ्खला अड्किँदा हामीलाई नाच्दा नाच्दै अचानक बाजा बन्द भएजस्तो भएको छ । हामी स्तव्ध भएका छौँ । वामहरू साँच्चिकै एक ठाम भए भने भावी पुस्ताले गाली, श्राप, धारे हात, ठोकाठोकको आनन्द लिन पाउने छैनन् । उनीहरूमाथि अन्याय हुनेछ । 

वाम विरोधी शतिmहरू खासगरी काङ्ग्रेस पार्टी यो झगडाबाट सदा लाभान्वित थियो । काङ्ग्रेसलाई चुुनाव जित्न परिश्रम गर्नु पर्दैनथ्यो । वामहरूले नै जिताइदिन्थे । अब उसलाई चुनाव जित्न धौ धौ हुनेछ । उसका शरिरमा जमेको बोसो नास हुनेछ । कम्युनिष्ट मन नपराउने विदेशी शक्तिहरू र छिमेकीहरूलाई पनि ज्वरो आउने सम्भावना हुनेछ । 

यो एकताले कुन गठबन्धन प्राकृतिक कुन अप्राकृतिक छुट्याउन नसकिने भएको छ । एमाले, माओवादी, त्रिपाठी, चुरेभावर, प्रेमबहादुर, मनाङ्गे, परिवार दल, पासवानहरू मिसमास भएर बन्ने दलको सिद्धान्त के वादी हुने, बुद्धिजीवीहरूलाई विश्लेषण गर्न पनि मुस्किल हुनेछ । वाम पार्टीहरूमा शत्रु केलाउने सिस्टम पनि भद्रगोल हुने भयो । अब को प्रधानशत्रु, को सहायकशत्रु, को मित्रशक्ति पत्ता लाग्नै गाह्रो हुनेभयो । कार्यकर्ताहरूलाई अन्यौल हुने भयो, कसलाई मुक्का हान्ने कसलाई अँगालो हाल्ने । 

नेपाली भाषा भण्डारमा पनि यो एकताको दुष्प्रभाव पर्नेछ । गाली गलौजका नयाँ शब्दहरूको उत्पादन घट्नेछ । हास्यव्यङ्ग्य र उखानहरूको प्रचार प्रसार र प्रवद्र्धनमा गिरावट आउनेछ । प्रचण्डजीलाई व्यङ्ग्य गर्दा ओलीजीले प्रयोग गर्ने उखानको सटिकता वा प्रभाव अरु कसैलाई प्रहार गर्दा कायम रहने छैन । ओलीका श्रोता दर्शकलाई उनको भाषण खल्लो लाग्ने छ । उनको व्यक्तित्वमा ह्रास आउनेछ ।

पार्टीहरूको ध्रुवीकरण र एकता कायम रहेमा मुसा पार्टीहरूको महादशा हुनेछ । एक सदस्यीय दलका एक मात्र समानुपातिक नेताले आजीवन मन्त्री हुन पाउने स्थिति समाप्त हुनेछ । पाँच वर्षसम्म एउटै सरकार सत्तामा रहने स्थिति आयो भने लोकतन्त्रको भविष्यप्रति अति चिन्तित केही नेताहरूले भने जस्तो नौ नौ महिनामा सरकार परिवर्तन हुने घनघोर प्रजातान्त्रिक परिपाटी समाप्त भएर देश पाँचवर्षे अधिनायकवादतिर जाने डर हुनेछ । यसरी वामहरूको एकताको दुष्प्रभाव जताततै पर्ने देखियो । त्यसैले हामी प्रार्थना गरौँ, यो गठबन्धन चुनावपछि भताभुङ्ग होस् । हामीलाई पुनः पुरानै शैलीको मनोरञ्जन प्राप्त भइरहोेस् । अस्थिरताका बाजाहरू बजिरहून, हामी मदमत्त भएर नाचिरहन पाइरहूँ ।