सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढ्यौली

उनको अनुहारका चाउरीहरू हेर्दा मलाई आफूले बनाएको माछा मार्ने जालको नक्सा सम्झना आउँछ । 

Nepal Telecom ad

उनको अनुहारका चाउरीहरू हेर्दा मलाई आफूले बनाएको माछा मार्ने जालको नक्सा सम्झना आउँछ ।

उनको टाउकामा फुलेका कपाल हेर्दा बोहोरे खोरियामा भररर फुटेका कपासको एक थुप्रो सम्झना आउँछ । यस अनुहारका एक जोर आँखाले कति हिउँद, कति बर्खा, कति खडेरी, कति हुरी हुण्डरी हेरे ! के के बेहोरे, के के देखे ! उनका हात हेर्दा, उनका खुट्टाहरू हेर्दा त म एक पल्ट भावुक नै हुन्छु । अहो ! यी हातले कति घाँस काटे ! कति भाँडा माझे ! कति ढुङ्गामाटोसँग कुस्ती खेले ! तिसौं वर्षदेखि म उनको छिमेकमा छु । म उनलाई सारै राम्ररी चिन्दछु । उनको पुखली बोली, उनको साहसी जीवन शैली, उनको निर्भिकता मलाई सारै मन पर्ने कुरा थिए । जुनसुकै नारीमा उनका ती गुणको एक छेउ पनि पाइन्न । मन परेको कुरामा आफ्नो मासु काटेर दिन तैयार हुने तर हेपाइती परेको बोध भए ब्वाङ्गै जिउ छाडेर जाइलाग्ने उनको स्वभाव अरुभन्दा उनलाई अलग्याउने कुरा थिए । अरु भन्दा पनि उनले ठिक लागेर पक्ष लिएको कुरामा उनले अड्डी लिँदा उनले बोल्ने गरेका वाक्य, उनका तर्क यति बलिया लाग्थे, म आफूलाई निकै वादविवादमा खप्पिस ठान्ने मान्छे हुँ, तर म पनि अनजवाफ हुन्थें ।

उमेरमा कति राम्री थिइन् होला ! गोरी, ठुलो निधार, ठुलाठुला आँखा । मैले पहिला देखेको बेलामै पनि उनी साठी पैंसठ्ठीकी थिइन् । त्यति बेला पनि उनी एक भव्य महिला लाग्थिन् । उनी अति सामान्य सारी चोलोमै आमा, काकी भनिन एकदम लायक लाग्थिन् । उनका पति खसेकै निकै भैसकेको थियो । पछिल्लो पति उनका तेस्रो पति अरे । तिन वटै पतिपटि उनका छोराछोरी भएकै हुन्, छन् । पछिल्लो पतिपटिका छोरासँग उनका पछिल्ला दिनहरू बितिरहेका छन् । दिनमा एक पल्ट जसो पुगेर उनका खिरिला, छरिता, साहसले भरिएका कुराहरू सुन्ने गरेको म अचेल उनकामा जानै छाडेको छु । अचेल म उनकामा जान छोड्दै गरेको बेलामा मेरा मनमा अनेक प्रश्नहरू पनि जन्मँदै छन् । किन म साँझबिहानै जान्थें उनका आँगनमा ? किन म गएर त्यस छानोमुनि बस्थें एकाछेउमा थोत्रे मुढामा र उनका कुरा मनमुग्ध भएर सुन्थें ? जल्लोखल्लो नै सही उनका हातको चियासिया मिठो मानेर खान्थें ? किन म अचेल महिनौं दिन त्यता मुख नफर्काउँदा पनि त्यता जान जाँगर चलाउँदिन ? बुढाबुढी हुँदाको तितो यथार्थ बुझ्दै नबुझेर हो ? बुढाबुढी भएपछि मान्छे केटाकेटी जस्तो पिन्चे हुन्छ भन्ने लागेर हो ? जे होस् ! तर पटक्कै त्यतातिर जान खुट्टाहरू रमाइरहेका छैनन् ।

मेरो कुरा छोड्नोस् ! उनकै छोरी उनको घरअगाडि बाटाबाटै उनीसँग दोहोरो नबोली हिंडेको थाहा हुँदैछ मलाई । उनकै छोरो, उनीसँग सारै लेपासिने गरेको छोरो नै त्यहाँ झुल्किन छाडेको छ अचेल । उनलाई पालनपोसन गर्ने छोरो पनि झर्कोफर्को गर्दै गरेको सुन्छु अचेल । बुहारी पनि सासूसँग ठाडोठाडो बोल्छिन् भन्ने सुन्छु अचेल । कसरी हेलाँ हेलाँ हुँदै जान्छ नि जीवन ! बुढो भयो सब रङ्ग गयो, आँगन भयो परदेश सम्झन्छु म । कम्मरमा टुईंक्क पटुका कसेर कति छरिती देखिएर घरघर पुग्थिन् उनी । उनका हातमा कि एउटा हँसिया हुन्थ्यो, कि एक मुठी साग हुन्थ्यो, कि काँधमा एक मुठो घाँस हुन्थ्यो । एक थोक न एक थोक यस्सो बोके झैं गर्दै, कामकै सिलसिलामा झैंं उनी गाउँ टेक्थिन्, गाउँ उज्याल्थिन् । पाँच–सात वर्ष भयो, उनी हिँड्ने बाटामा अब झार जङ्गल पलायो भने हुन्छ । पोहोरसम्म त यसो लठ्ठीसठ्ठीको सहारामा महिना डेढ महिनामा आइपुग्थिन् पो ! अब त लठ्ठीले पनि शरीर थेगिन छोडेछ । जब पुग्यो असी कुनामा बसी भन्छन् । उनी त असीमा पनि ठमठमी नै पो हिड्दै थिइन् । अहिले बयानब्बे–त्रियानब्बे कतिकी भइन् !

अलिक ठुलो दारकी, धाङर मान्छे । बुढी भएपछि होचा, साना काँटीकालाई जस्तो सहज नहुँदो रहेछ । ढ्याप्पै ओछेन परिन् । त्यसमाथि अलिअलि गर्दै उनका कानले पनि धर्म पालना गर्न छोडेछ । सबैभन्दा मलाई त्यहाँ जान बिरत गराउने विषय चाहिँ त्यही हो । उनीसँग बात मार्नुपर्दा सारोसारो गाउँ नै थर्किने गरी कराउनु पर्छ उनले सुन्ने गरी बोल्दा । आँखाले पनि धर्म छाड्दै गयो विचरीको । अब उनसँग यसो भलाकुसारी गरौं न त भनेर जाने हो भने, आँखा त मधुरा भएभए, बोलीबाट चिनाउँ न त भन्दा उनका कानले पनि धर्म छाडे । अब उनी चिन्न नै छाडिन् ।

उनले पहिला पतिपटिको एउटा छोरो चार वर्षको भएर खस्ताको अत्यन्त दुःखद कथा सुनाएकी थिइन् । म त्यो सम्झिन्छु र ममा हाम्रो जातीय संस्कारका लोग्नेमान्छेको नीच र घृणायोग्य कठोरता उपर रोष उत्पन्न हुन्छ । काखको छोरालाई कोव्रmामा छोडेर विरामीलाई बिछ्यौनामा सुताएर रोपाईंमा गएकी उनले फर्किंदा त विरामी छोरो चिसो भएर अररिरहेको पाइन् । छोराको मर्मघाती मृत्युको खबर कसले सुनाइ देला आफ्ना पतिलाई ? कसले सुनाइदेला सासूससुरालाई ? अवहेलित बुहार्तन बेहोरिरहेकी र लोग्नेबाट समेत हेलाँ भएकी उनको मनमा लागेको डढेलो उनले मात्र बुझेकी थिइन् । लासलाई थाङ्नाथहराले छोपेर सानो छोरो काखीमा चेपेर उनी गइन् मूलघरमा र सुनाइन् भक्कानिँदै ‘पाले पुण्य मारे पाप’ भन्दै पाणिग्रहण गरेर कन्यादान लिएका आफ्ना पतिलाई । जुरुक्क उठेर आउला र आफ्नो यो आपतमा सहयोगी होला ठानेकी उनको हृदयलाई अझ ठोस्तै भनेथे पतिले– “ए, म¥यो त्यो तेरो छाउरो ? जा ! रुङ् आज ! यो रातिउँदो अब के गर्नु र ? बिहान भएपछि हो जङ्गल लाने ! म साथीहरू लिएर आउँला बिहान ! जा ! जाइहाल् ! फेरि उता स्यालकुकुरले लैजाला त्यस छाउरालाई र अर्को आपत होला !”

रुँदैरुँदै उछिट्टिएर फर्किइन् र छोराको लासलाई छाँद हालिन् । रोइन्, चिच्याइन् र मनमनै प्रतिज्ञा गरिन्, छोरो त म¥यो सँगसँगै लोग्ने पनि म¥यो ठानिन् । छोराको व्रिmयाकाज सकेपछि चटक्क छोडेर हिड्ने सम्झेकी उनलाई अल्झाउने सानो नानी काखैमा थियो । त्यो छोराप्रतिका कर्तव्यको डोरीले बाँध्यो उनलाई । तर त्यो डोरी व्रmमशः लोग्नेका त्यसपछिका कुकर्महरूले मक्किँदै मक्किँदै गयो । काखको छोरो पिठ्यूँमा हालिन् र एक दिन पाइला मेट्तै मेट्तै हिडिन् अनिश्चित गन्तव्यतिर । ‘लडेको ढुङ्गाले पनि वास पाउँछ’ उनले सुनेको यो टुक्का कतिको सारपूर्ण छ त ? उनका मनमा अनिश्चित भविष्यको त्रास थियो तर त्यस घरमा, त्यस्तो निठुरी लोग्नेमान्छेलाई भर गरेर बस्तै नबस्ने दृढता पनि थियो ।

पुसका दिन मधेशतिर झर्ने मान्छेहरूको एउटा हुलमा आफैंआफ मिसिएर मधेश झरिन् वास बस्तैबस्तै । चारपाँच दिन लाग्ने बाटो हिड्नु छ । चार वर्षको नानी बचाउनु छ ।
“अनि यस्तो सानो नानी लिएर कता हिड्नु भएको ?” सोध्थे मान्छेहरू ।
“मधेशतिर ! मधेशमा दुःख गर्दा अलिक सजिलै खान पुग्छ अरे !” उनले उत्तरा गर्थिन् । चिनेजानेका कोही होलान् नहोलान् । भए कहाँ होलान् केही थाहा छैन । कुहिराको काग झैं पखेटा चाल्दैछिन् ।
“मधेश गएर कहाँ बस्ने त ?” सोध्थे मान्छेले ।
“खोइ ऽ ! पाइएला नि कतै वास ! लडेका ढुङ्गाले पनि वास पाउँछ भन्छन् !” त्यही टुक्का उनलाई पनि सहारा भयो ।

नभन्दै मधेशमा पुगेर एउटा मगरजीका आडपिछामा बस्न पाइन् । काखे छोरो थियो साथी भनेपनि, सहारा भनेपनि । काखे छोराकै कारण हो कि, उनको उमेर, रुप र वैंशका कारणले हो, जे होस् दयामाया अरुहरूबाट पाइन् उनले । बनीबुतो गरेर, पाखुरा बजाएर, आफ्नो बलवर्कत र जाँगरले आफूलाई पाल्दै गइन् । दुई वर्ष तीन वर्ष बितेका थिए क्याहो ! गाउँमा एक कान दुई कान मैदान भयो ‘उनी मगरजीसँग लहसिइन्’ । नभन्दै उनी मगरजीकै दोस्री पत्नी बन्न पुगिन् । एउटा बच्चो पाइन् । बच्चाको नाक उनलाई आडअडेसो दिने मगरजीको नाकसँग दुरुस्त मिल्थ्यो साँच्चै ।

एक प्रकारले उनले जीवनको स्थिरता प्राप्त गरिन् झैं थियो । सातआठ बिघा जग्गाका मालिक मगरजीले उनलाई एक बिघा जग्गा लेखिदिएर एउटा झुप्रो पनि हाल्दिएर राखेथे । उनलाई त्यस बेला देख्ता, उनले पहिलो पति छाडेर ठिकै गरिन् झैं लाग्थ्यो । उनका नवपति मगरजीको वास साविकको आफ्नो घर र त्यो झुप्रोमा वरावर झैं थियो । गाउँसमाजको चेतना ‘मर्दका दस वटी’ भन्ने संस्कारबाट मुक्त भैसकेको थिएन । केही महिलाहरूको नजर उनीमाथि अलिक टेढो भएपनि मगरको हकडक त्यहाँ अलिअलि कायम भएकाले त्यो टेढो नजर घाममा परेको सिस्नो जस्तो ओइलाउँदै गयो । उनले मधेश आएको पाँचौं वर्ष्तिर हुनु पर्छ दोस्रो बच्चा पनि पाइन् । व्रmमशः हुर्काइन् । उनको हँसिलो व्यवहार, निरन्तरको लगनशीलता, कपटहीन व्यवहार आदिले टेढा नजरहरू पनि सोझिए । धेरैको सद्भाव पाइन्, माया पाइन् ।

उनको जीवनले सोझो बाटो हिड्नु नहुने हो कि क्या हो ! उनले हाँसेर जीवन बिताउन पनि नहुने हो कि क्या हो ! अचानक हृदयाघात भएर मगरजी बिते । उनले मगरपतिको काजव्रिmया गरिन् । काजव्रिmया गर्दाकै क्षणदेखि त्यहाँ, त्यस गाउँमा उनको जीवन फेरि फलामको चिउरा चपाउने जीवनमा बदलियो । मगरजीको जीवन रहिञ्जेल त त्यही झुप्रो पनि महलभन्दा सुखको थियो, तर मगरजीको निधनपछि एक्कासि घामले ओइलाएको छिप्पिएको सिस्नो पानीमा चोबिएर ब्यूँतिए जस्ता हुन लागे । उनका हितैषीहरू हराउँदै गए । मगरजीका जेठी पत्नीको परिवार उनलाई जरिउपर गर्न खोज्ने भए । अब उनको पक्षमा ठिङ्ग उभिने कोही भएन । ‘विपत्तीमा कोही छैन दाजुभाइ’ भने झैं भयो उनलाई । तैपनि उनी निर्भिकता पूर्वक त्यो एक बिघा जग्गाको झुप्रोमा दरा खुट्टा टेकेर उभिरहिन् । तिन जना छोराछोरी उनका साथ थिए । उनले त्यहाँ आउँदा ल्याएको छोरो त अब उनलाई ढाडस दिने, ‘म छु नि आमा !’ भन्ने भएको थियो । कति काममा उनीसँग हात बाँड्ने पनि गथ्र्यो ।

दिन बित्दै थिए, तर बित्ने दिनहरू अफ्ठ्यारो गरी घस्रिंदै बित्थे । विपत्ती आउँदा हवाज चढेर आउँछ, जाँदा भने गोरु गाढामा जान्छ भन्छन् नि मान्छेहरू । उनका बिपत्ती पनि बिस्तारो बिस्तारो पाइला चाल्थे झैं लाग्थ्यो । हाम्रो समाजमा कृषि कर्म गरिखाने परिवारको जीवन कति धेरै पतिपत्नीको संयुक्त जीवनको माग गर्ने छ नि ! घरमा खानपिनको काम गर्न, घरलाई घर जस्तो बनाउन पत्नी अनिवार्य जस्तो, घरबाहिर खेतीपातीको काम गर्न, खनजोतलाई व्यवस्थित गर्न पति अनिवार्य जस्तो, । उनको एक बिघा जग्गालाई खनजोत गरेर त्यसबाट खानेलाउने उब्जाउन एउटा जुँगामुठे लोग्नेमान्छे आवश्यक थियो । एकातिर आइमाईले हलो जोत्न हुँदैन भन्ने, अर्का्तिर लोग्ने नभएकी आइमाईको जग्गा खनजोत गर्न कोही लोग्नेमान्छे आएमा दस किसिमले शङ्का पनि गर्ने हाम्रो समाज कति निठुरी छ नि !

यही परिवेशमा कुहुनु र पहरो जस्तो कठिन जीवनलाई आत्मसात गर्न अभिशप्त थिइन् उनी । अब चारपाँच वर्ष पर्खिन सक्ता त जेठा छोराले त्यो लोग्नेमान्छेको जिम्मेवारी समाल्थ्यो होला । बुहारी पनि भित्रिन्थी होली । उनका आँगनमा अलिक सहजै खुसीका फुलहरू फुल्थे होला । तर ती चारपाँच वर्ष ती चौधपन्ध्र सय दिनहरू चौधपन्ध्र सय रात नबिती कहाँ बित्थे र ! एउटा वर्षमा दुई बाली खेती लाउनु पर्छ । एक बालीका लागि चार पाँच चास जोत्नु पर्छ । एक बिघा जग्गा एक चास जोत्न छ–सात दिन लाग्छ । अहो ! लगातार एक महिना जोत्नु र बाली लाउनु, अनि बाली उठाउन त्यस्तै । एक दिन, दुई दिन आठपाँच लाठे लगाउँदा कहाँ उठ्थ्यो र खेतीपाती !

हेर्दाहेर्दै उनका घरमा एउटा लाठेमान्छे, एउटा पहाडे मान्छे नियमित काम सघाउन थाल्यो । एउटी लोग्ने नभएकी आइमाईका घरमा एउटा लाठेमान्छे बिहान बिहानैदेखि रातसाँझसम्म काम सघाउँछ । उनी त्यसलाई खानाखाजा गर्छिन् । मिठो मसिनो बोलीचाली गर्छिन् । हाम्रो गाउँसमाजलाई एक दिनको, एक मुस्कानले काम पुग्छ, कुरा उडाउन पुग्छ । उनलाई उडाउन के चाहिन्छ अरुथोक ? कुरा उड्न सुरु भैगए मगरजी बितेको पहिलो वर्षदेखि ।

यस्तै परिवेशले अर्को एउटा लोग्ने मान्छे आयो उनको जीवनमा । कोनि, त्यो लोग्नेमान्छे पनि लडेको ढुङ्गो भएरै आएको थियो कि ! जेसुकै होस्, उनको जीवनले फेरि नियमित प्रवाह सुरु ग¥यो । कुरा उडाउन खोज्नेहरूको सातोपुत्लो खाँदै, पत्थरका जवाफ दिँदै उनी जीवनको बाटोमा अडिग रहिन् । मगरजीबाट प्राप्त एक बिघा जग्गा घुनपुत्ली नलगाईकन आफ्नो नाममा धनीपुर्जा निकाली छाडिन् । नयाँ लोग्नेमान्छेसँगको उनको जीवनले एउटा छोरो, एउटी छोरी थप प्राप्त भए । जम्मा पाँच छोराछोरीकी आमा उनी अहिले बार्धक्य जीवन हिँड्दै छिन् । ‘जराकष्टं’ उनी भोग्दैछिन् ।

उनी यसै आँखा चिम्लेर जीवनलाई केटाकेटीदेखि यता सम्झेसम्मका कुराहरू मनमा ल्याउँछिन् । त्यो बलबर्कत हुँदाको दुःख, शोक र पहिलो लोग्नेका मुटु छेड्ने वचन पनि सम्झिन्छिन् । ‘मगरजी’ जीवनमा आएको क्षण सम्झिन्छिन् । ती बितेको क्षण सम्झिन्छिन् । अर्को लाठे आएको, ती पनि बितेको सम्झिन्छिन् । उनका सुकेका आँखा त्यसै रसिला झैं हुन्छन् । उनको अनुहार साउनको आकास हुन्छ ।

ती चारपाँच जना छोराछोरी जन्माउँदाको बेगल बेगल स्थिति सम्झिँदा अहिले पनि उनका आङमा काँडा उम्रिन्छन् । ती जन्मिए, जन्मिएपछि हुर्किन केहीले पनि छेक्तो रहेनछ । हुर्किए, तिनका प्वाँख पलाए, पखेटा लागे । उस बेलाको बज्राँठका हाँगा जस्ता हात गोडा भएको शरीर पनि अहिले शिथिल भएको छ । जस्तै अँध्यारामा पनि बाघका झैं बाटो पहिल्याउने आँखा अहिले लगभग दृष्टिहीन भएका छन् । कागको फुल चोर्ने जस्ती चलाक अहिले त्यस्सै गुमसुम भएकी छिन् । भोक तिर्खा के हो ? जाडो के हो ? उनले उमेरमा बुझिनन् ? अहिले जब गधाको उमेर हो कि ? लाटोकोसेराको उमेर हो भोगिरहेका बेला उनलाई निकै अप्ठेरो परेको छ ।

सदा झैं आज बिहान पनि चार पहर रात छँदै निद्राले छोड्यो । ओर्किनु फर्किनु, फेरि ओर्किनु फर्किनु, फेरि पनि ओर्किनु फर्किनु गरिन् । निद्रा फिटिक्कै कता भाग्योभाग्यो । उज्यालो भयो कि भनेर झ्यालतिर अनुहार फर्काइन् । निस्पट्ट अँध्यारो । अलिअलि उज्यालो त आँखाले नै भेउ पाउँदैन । भाले वासेनवासेको कानले सुन्दैन । चराचुरुङ्गी पनि कराउँदा हुन् कि ? अचेल सुविउ चरो पनि कराएको सुन्दिनन् । यसो मुन्टो उठाएर कान सुने जस्तो गरिन्, अहँ केही चालचुल छैन । उनका आङमा अलिक जाडो थपिए जस्तो भयो । असीको उमेर के भन्नु सत्तरीकै देखि भने हुन्छ उनलाई दिन काट्न भन्दा रात काट्न अप्ठेरो हुन थालेको हो । झन् हिउँदका समुद्र जस्ता लामा रात त पटक्कै छिचोल्न मुश्किल । कुहुना र घुँडा ठिहि¥याएको ठिहि¥याएकै गर्छन् । पटक्कै तात्तैनन् । ‘घुँडाका सिङ धोतीका पिङ’ भन्दै सानामा घरका बाबैलाई जिस्क्याएको सम्झिन्छिन् ।

घस्रिँदै घस्रिँदै गएर दैलो उघार्छिन् । उज्यालोको लत्को कतै छैन । निस्पट्ट अँध्यारो छ । दैलो ढेप्छिन् र फेरि ओछेनतिरै वामे सर्छिन् । घरका सब चकमन्न निदाएका छन् । छोराबुहारीहरूको नातीनातिनीहरूको कतै क्यै चालचुल छैन ।

ओछेनमै गुँडुल्किन्छिन् । जाडोले झम्टे जस्तो गर्छ । छोरो उठेर आए हुन्थ्यो, बुहारी आए हुन्थ्यो, आगो बालेर एक गिलास तातो पानी दिए पनि खान्थें पेटभरि जस्तो भयो । कराएर बोलाउन पनि अप्ठेरो लाग्यो । आफूलाई सासूले वचन लाएको सम्झिन् र चुपचाप गुँडुल्किरहिन् । ‘कचकच गर्छे यो बुढी रातिउँदो !’ भन्छन् होला भन्ने लाग्यो ।

अहो ! असमेलको पर्खाइपछि आजको उज्यालो भयो । उठे छोराबुहारी पनि । उठे नातीनातिनीहरू । आआफ्ना ध्याउन्नामा लागे । त्यसमाथि नातीनातिनीहरूको ढिपी र कल आफ्नै पाराको छ । तिनीहरूका फर्माइस पुरा गर्न नै छोरालाई धौ धौ छ । यो चाहियो र उ चाहियो भनेर हैरान पार्छन् । त्यसमाथि आफू साँप्रामाथि पिँडो थप बन्नु कसरी ?
नातिनातिनीहरूका माग पुरा गरेर छोराबुहारी आफूतिर फर्कलान्, अलिकति तातो पानी देलान्, अगेनामा आगो बाल्लान् छेउमा बस्न बोलाउलान् भनेर पर्खिंदापर्खिंदा पर्खिंदापर्खिंदा घाम झुल्किए । ओछेनबाट घस्रिंदै घस्रिंदै पाइखाना तिर लागिन् ।

“एक छिन् चुपचाप सुतिरहन छाडेर यो चिसामा किन निस्केकी आमा !” छोराले झर्किएको स्वरमा चिच्याएरै सोध्यो ।
“पाखा जानु परो नि त हाओ अनि ! कि ओछेनमै गर्नु ? एक गिलास तातो पानी खान पनि मुन लाग्याथ्यो” बोलिन् उनी ।
“मुकुन्दे पसेको होला पाइखानामा ! एक छिन सुत्नू ! सुत्नू एक छिन् !! पानी न सानी एकाबिहानै ! अहिले दिन्छे बुहारीले । उज्यालो राम्ररी भैसक्न पाएकै छैन । अघि नै कसकसका के के फर्माइस् पुरा गर्ने हो त्यो एउटीले ?” खस्रोखस्रै बोल्यो छोरो ।
“ए ! एक गिलास तातो पानी मागेको पनि ‘फर्माइस्’ भयो ? सारै मुगो कुरा पो मागें नि मैले ? लु लु ! भो पर्दैन !” अलिक दुखित झैं बोलिन् उनी ।
“ए आमा पनि ! गोरु बुढो भएपछि भिर खोज्छ, मान्छे बुढो भएपछि निहुँ खोज्छ भन्छन्, त्यस्तै पो गर्नुहुन्छ ! एक छिन् सुतिराख्नू न यो चिसामा भनेको ! त्यस्सै …” छोरो बुद्बुदायो ।
“भयो, छोरा भयो ! निहुँ पनि खोज्दिन, खोज्या पनि होइन । कोसँग निहुँ खोज्ने मैले ? हात गोडा बसे, कान बन्द हुँदै गए, आँखा बन्द भैसक्न लागे । बर्कत न बुता छानामा खुट्टा ! त्यसमाथि, अब को मेरो सत्रु छ र निहुँ खोज्नु ? मैले जन्माएर हुर्काएको छोरासँग एक गिलास तातो पानी माग्दा छोरो ओठे जुवाफ लाउने अनि म निहुँ खोज्ने ? …” सुँक्सुँक् गर्न लागिन् उनी ।

“ए मुकुन्दे बज्या ! कतिवेर बसिरहन्छस् पाइखानामा ? सकिनस् ?” नातिलाई हप्कायो छोराले ।
“म ट्वाइलेटमा छुइन त ड्याडी ! म त यता पो छु त !” अर्कैतिर बोल्यो मुकुन्द ।
आमा र छोराको सवाल जवाफ सुनिरहेकी बुहारीले तातो पानी गिलासमा लिएर सासूका छेउ पुगिन् र भनिन्– “लु आमा तातो पानी !” उनले सुनेको नसुन्यै गरिन् । नसुनेकै हुन् पनि कि ?
“आमा ! आमा !!” एक हातले आँखा चिम्लिएर बसेकी आमालाई यसो हल्लाइन् र भनिन्– “तातो पानी ल्याएकी !”
“ऊ तेरा पोइलाई दे ! यत्रो फर्माइस् कसरी पुरा गर्छेस् तँ ?” मुख छोप्तै व्यथित भएर भनिन् ।
“ए आमा पनि ! मुकुन्देले दिक्क लगाएका बेला के भन्नुभयो ? लिनू पानी !”
“चाहिँदैन ! चाहिँदैन ! अबदेखि फर्माइस् पनि गर्दिन !” जुरुक्क उठ्न खोजिन् । झन्नै लडिन् पनि । पातलो ओड्नेसँग उता घाम आएको ठाउँतिर घस्रिने छाँट गरिन् ।

पानीको गिलास त्यहीं छोडेर बुहारी यता चुलातिर लागिन् । उनको त्यो चाला देख्ता ‘घुक्र्याए घुक्र्याउँदै गर !’ भनेर दिक्क मानेको छाँट देखिन्थ्यो । नभए त हतेरेर सासूआमालाई घाम लागेका ठाउँमा लगेर बसाउँदा हुन्थ्यो । अनि तातो पानी हातमा राखिदिँदा हुन्थ्यो । उता छोरो पनि त्यो दृश्य हेरेर ‘ठिकै भयो बुढीलाई’ भन्ने ठान्या जस्तो लाग्थ्यो ।

“खोइ काल पनि कता भाग्यो भाग्यो ! तल्लाघरे माथ्लाघरेका बुढाबुढी त असी पनि पुग्नै नपाईकन बिते । मै पापीनीलाई चाहिँ किन कालले साँचेको साँच्यै गरेको हो ? यस्तो कसिँगर भएर बाँचिरहनु त … ! भोक पनि लाग्ने, खान पनि नरुच्ने, उभिन बस्न पनि नसक्ने अनि सुत्न पनि नहुने ! … थुइइया ऽ! त्यस्तो बाघसँग लाप्पा खेल्छु जस्तो लाग्ने शरीर यस्तो बिकामे हुने ! थुइया ऽ! … केको सजायँ बेहोर्नु पर्ने मैले चाहिँ । आफ्ना साथीसँगी, दौंतरी सबै गैसके ! अझै पो बाँच्न मुन लाग्ने ? थुइया ऽ! ती पल्लाघरे मास्टर नानी आइरहन्थे पैला पैला त ! कुरा गर्थे, कुरा सुन्थे, पहिले पहिलेका दुःखसुखका । अचेल त तिनले पनि कालले जस्तै चटक्कै माया मारे पो ए ! ती आए त यी बज्याबजिनीले तातो पानी दिनसम्म झर्कोफर्को गरेको कुरा भन्ने थिएँ नि ! ती पनि आउँदैनन् । अलिक धेर विमारी भएँ र ओछेनमै फोहोर पार्न थालेँ भने, ओखती मुलो गर्न मुँगो अस्पताल लानु प¥यो भने के गर्दा हुन् यिनीहरू ! कस्तो कसिँगर भइयो ! थुइया ऽ!” एकलै गनगनाइ रहिन् उनी ।

झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
फलानो डाक्टर

फलानो डाक्टर

पुण्यप्रसाद खरेल
उम्मेद्वार महोदय !!

उम्मेद्वार महोदय !!

पुण्यप्रसाद खरेल
उहाँ हजुर !

उहाँ हजुर !

पुण्यप्रसाद खरेल