मैले लिलिपुटको राजधानी पिल्डेन्डो घुम्नका लागि सम्राटसँग अनुमति मागें । उसले मलाई अनुमति त दियो तर त्यहाँ घुम्दा ज्यादै सावधानी अपनाउनु पर्छ नि ! भनेर मलाई सावधान पनि गरायो । ऊ मेरो कारणबाट उसका जनता डराउने स्थिति नआओस् भन्ने चाहन्थ्यो । म भने त्यो सहर घुम्न पाएकोमा र आंशिक रूपमै भए पनि सम्राट्को दरवार देख्न पाएकोमा म ज्यादै प्रफुल्ल पनि थिएँ । आंशिक रूपमा किनभने म ज्यादै ठुलो भएकाले त्यस दरवारभित्र पस्न सक्दिनथें तर त्यस महलका झ्यालहरूबाट भित्र चिहाएर हेर्न भने सक्दथेँ । मैले त्यहाँ भित्र जे जति देख्न पाएँ त्यसबाट म अत्यन्तै हर्षित पनि भएँ । 

म दुई हप्ता जति मिल्डेन्डो बसें । एक दिन सम्राट्को एउटा मन्त्री मलाई भेट्न आयो । ऊ बडो चिन्तित देखिन्थ्यो । आउना साथ उसले मलाई उसको छिमेकी मुलुक ब्लेफुस्क्युसँग युद्ध हुन लागिरहेको कुरा बताउँदै त्यस युद्धमा मेरो सहयोगको आवश्यकता परेको कुरा बतायो । उसले मलाई युद्ध हुनुपर्ने कारणबारे पनि विस्तारमा बतायो । युद्ध हुनाको कारण पनि बडो विचित्रको रहेछ । मलाई त्यस सैन्य र अरू लघुमानवहरूले युद्ध अन्डा खाने तरिकाका बारेमा भएको विवादका कारण हुन लागेको बताए । 

मलाई उनीहरूबिच हुन लागेको युद्धको कारण थाहा पाउँदा त गज्जबै लाग्यो ! उनीहरू अन्डा खाने ठिक तरिका के हो भन्ने बारे चिन्तित रहेछन् । यसअघि चाहिँ लिलिपुट र ब्लेफुस्क्युका मानिसहरू अन्डाको ठुलो पट्टिको भागबाट फुटाएर खानु उपयुक्त हो भन्ने बारे सहमत रहेछन् तर एक दिन चाहिँ सम्राट्को हजुर्बाले अन्डा छोडाउँदा उसको हातमा चोट लागेछ । त्यसपछि त्यस सम्राट्ले सबै लिलिपुटका नागरिकलाई अबदेखि अन्डा सानोपट्टिबाट फुटाउनू भनेर उर्दी गरेछ तर जनतालाई भने यो उर्दी मनपरेनछ । त्यसैले कतिपयले भने त्यस शाही उर्दीको अवज्ञा गरेछन् । यसका कारण त्यहाँ ठुलो गृहयुद्ध नै भएछ । युद्धमा थुप्रै जनता हताहती पनि भएछन् । सम्राट्को मन्त्रीले मलाई बताए अनुसार ब्लेफुस्क्युले भने त्यस गृहयुद्धमा विप्लवीहरूलाई समर्थन गरेको रहेछ र थुप्रै विप्लवी राजद्रोहीहरू ब्लेफुस्क्युतिर बस्न पनि गएछन् । 

अहिलेको यो परिस्थिति भने निकै गम्भीर नै थियो, किन भने यसै कारणबाट ब्लेफुस्क्यु र लिलिपुटका बिच युद्ध छेडिएको थियो । यस अन्डायुद्धमा हजारभन्दा बढी नागरिकहरू मारिएका थिए । त्यस सरकारी मन्त्रीले ब्लेफुस्क्युले लिलिपुटमाथि आक्रमण गर्ने योजना बनाइरहेको छ भन्ने कुरा पनि मलाई बतायो र उसले सम्राट्ले यस परिस्थितिमा मेरो सहयोग चाहेको कुरा पनि थप्यो । मैले पनि सम्राट्लाई सहयोग गर्न तयार रहेको कुरा भनें । 

ब्लेफुस्क्युका जलसेनाले समुद्रतिरबाट लिलिपुटमाथि आक्रमण गर्ने योजना बनाइरहेका रहेछन् । ती दुई मुलुकबिचको दूरी समुद्रबाट त्यस्तै तिनसय मिटर जति हुँदो हो । ब्लेफुस्क्युका सबै युद्धक जहाजहरू तयारी अवस्थामा थिए अनि उनीहरू त्यस युद्धमा हाम्रै विजय हुनेछ भनेर ढुक्क पनि थिए । शत्रुलाई पराजय गरेर लिलिपुटलाई सहयोग पु¥याउने मेरो आफ्नै योजना छ भन्ने कुरा मैले लिलिपुट सम्राट्लाई बताएँ । 

मैले साँझ पर्ने बेलासम्म पर्खें । त्यसपछि जब साँझ प¥यो अनि म केही डोरीहरू लिएर यी दुई मुलुकको सिमाना छुट्टिएको ठाउँनेर समुद्रकिनारामा पुगें । त्यहाँ पानी पनि उति गहिरो रहेनछ । त्यसैले म समुद्रमा हिँड्दै गएँ । यस बेला मैले दुस्मनका वाणबाट आफ्ना आँखा बचाउनका लागि चस्मा लगाएको थिएँ । त्यहाँ पुगेर मैले ब्लेफुस्क्युका प्रत्येक जहाजमा डोरीले बाँधें । 

ब्लेफुस्क्युका नाविकहरू मलाई देख्दा डरले पुरै आत्तिए । उनीहरू त मलाई देखेर अत्तालिँदै समुद्रमा फाल हानेर पौरन थाले । मैले जहाजका सबै डोरीहरू हातमा लिएँ र ती ब्लेफुस्क्यु सेनालाई तान्दै लिलिपुटतिर ल्याएँ । लिलिपुटका जनताले ब्लेफुस्क्युका जलसेना देखेपछि उनीहरूले त अब आक्रमण सुरु भएछ भन्ठाने । उनीहरू ज्यादै डराएका थिए । त्यसपछि मैले ब्लेफुस्क्युका जहाजहरू लिलिपुटतिर तान्दै ल्याएको देखेपछि भने लिलिपुटका जनता ज्यादै खुसी भए । सम्राट्ले त मलाई नायककै उपाधि दियो । लिलिपुट सम्राट्ले मलाई ब्लेफुस्क्युविरुद्धको त्यस युद्धमा जान अरायो । म भने युद्ध नचाहने मान्छे, म त्यति धेरै जनता युद्धमा मरून् भन्ने चाहन्नथें । सम्राट मेरा कुरा सुनेर औधि नै रिसायो । त्यसपछि त मलाई उसले मनपराउनै छोड्यो । 

ब्लेफुस्क्युका केही मन्त्रीगण पनि लिलिपुट आए । मैले उनीहरूसँग केही कुरा गरें । उनीहरूले पनि मलाई उनीहरूको मुलुक घुम्न आउनका लागि निम्तो दिए । मैले निम्तोका लागि उनीहरूलाई धन्यवाद दिएँ अनि सम्राट्सँग ब्लेफुस्क्यु घुम्न जानका लागि अनुमति लिने विचार गरेर भनें – “ब्लेफुस्क्युका मन्त्रीहरू मलाई उनीहरूको मुलुक घुम्न जाऔं भन्दैछन्, के मलाई अनुमति छ सम्राट् ?”

जवाफ दिनुअघि सम्राट्ले बडो बेवास्तासाथ मलाई हे¥यो र भन्यो – “हुन्छ जान सक्छौ !”
म त्यस सम्राट्को मप्रतिको चिसोपन देखेर छक्क परें । मलाई त हामी दुवै असल मित्र हौं भन्ने पो लागेको थियो । उसलाई फेरि सहयोग गर्नका लागि मलाई चाँडै नै एउटा सुअवसर मिल्यो । एक रात म मस्त सुतिरहेको थिएँ । मध्य रातमा ठुलो खैलाबैला सुनेर ब्युँझें । थुप्रै मान्छेहरू कल्याङमल्याङ कराइरहेका थिए अनि मलाई पनि बोलाइरहेका थिए । सम्राट्का केही मन्त्रीहरू मकहाँ आए र मलाई दरबारमा ठुलो आगलागी भएको जानकारी गराए । यो सुनेर म दरबारतिर दौडिँदै गएँ । जताततै आगो आगो रहेछ, धेरै मानिसहरू आगो निभाउन बाल्टीका बाल्टी पानी खन्याउँदै थिए तर आगो भने झन् सङ्ग्रालिँदै गइरहेको थियो । यसले सबै दरबार सखाप पार्ने सङ्केत गरिरहेको थियो । त्यही बेला मलाई एउटा राम्रो उपाय सुझ्यो । 

मैले त्यस साँझ भक्कु वाइन धोकेर सुतेको थिएँ । मेरो पालो आगलागी हुँदै गरेको दरवारमाथि पिसाब फेर्न थालें । पिसाबले त दरबारमा लागेको आगो सबै झ्यापझुप्पै निभ्यो । मेरो त्यस कार्यले दरबार भष्म हुनबाट जोगियो । म मैले गरेको त्यस कार्यबाट निकै खुसी पनि थिएँ । 

त्यसपछि पो मैले झट्ट सम्झें त्यस लिलिपुट राज्यको महत्वपूर्ण एउटा नियमबारे ! त्यस कानुनले दरबार परिसरभित्र पिसाब गर्नु एउटा मृत्युदण्डयोग्य अपराध मान्दथ्यो । अब भने मलाई बडो चिन्ता लाग्यो, तर त्यस सम्राट्ले मलाई एउटा सन्देश पठाएछ । उसले सन्देशमा मैले गरेको त्यो अपराधलाई क्षमा गर्न न्यायालयमा आदेश पठाउन सक्ने कुरा उल्लेख गरेको रहेछ । मैले पछिबाट थाहा पाएँ सम्राज्ञी चाहिँ मैले गरेको अपराधका कारण ज्यादै रिसाएकी रहिछे । यसै कारण मलाई घृणा गर्न थालिछे । उसले कहिल्यै दरबार पनि नफर्कने निर्णय गरेकी रहिछे ।

गुलिभरको भ्रमणबाट अनु. : गंगाप्रसाद अधिकारी