नयाँ तराना सुसेलुँ भन्थें, 
फुरेन भाका म थालुँ केले
छ एक फर्सी कहाँ चढाउँ, 
हजार राजा म पालुँ केले ।।

चुलो बलेको छ दन्दनाई, 
छ एक डेक्ची बसाइएको
गलेन भन्दैछु दाल मेरो, 
शिला छ छड्किन्छ गालुँ केले ।।

व्यथा पुरानै छ अल्झिएको,
चसक्क चस्किन्छ दुख दिन्छ
जता समायो उतै कुहिन्छ,
म फाल्छु ता भन्छु फालुँ केले ।।

धरो लँगौटी भयो पुरानो, 
न फेर्न वा फाल्न नै म सक्छु
मिलेन टालो कुनै मलाई, 
म टाल्छु ता भन्छु टालुँ केले ।।

काठमाडौं