कुरा सुन्नु बूढाको आगो ताप्नु मुडाको । यो उखान त्यसै बनेको हैन । हाम्रा मावलीबाले एउटा कथा सुनाएका थिए । त्यही कथालाई निबन्धमा ढाल्दैछु जसरी हाम्रा गाउँका सुनारेले हाम्री आमाका बडाबडा मारबाडीलाई ससाना टपमा झारेका थिए । जसरी लोहारले झम्पललाई चुपी बनाएका थिए । ज्ञान त सबैबाट सिक्नु पर्यो नि । 

बाले भनेको कथाका हिरो एउटा साधु थिए । हिरोइन एउटी गाउँले बूढी थिइन् ।  ती साधु साँझपख कसैका घरमा बास माग्न पुगे । लोग्ने मान्छे नभएकाले बास नदिने कुरा घरबूढीले गरिन् । साधु ढिकेरीमै बास बस्न र एउटा ओछ्याउने राडी भए रात काट्न तयार भए । बूढीको मन पग्लियो र बास दिइन् । घरमा आएका पाउनालाई चिल्लोचापुल्लो केही खान पनि दिइन् । ओड्ने कम्मल पनि दिइन् । बूढीको सेवा पाएर साधु सुतिहाले । घुर्न थालिहाले ।
बिहान बूढी र उनकी छोरी हेर्न जाँदा साधु उठेर हिँडिसकेका । उनलाई ओछ्याउन दिएको राडी पनि हिँडिसकेको । ओड्न दिएको कम्बल पनि हिँडिसकेको । बुढीले गाउँ गुहारेर साधुलाई पक्डाइन् र गालैमा चड्काइन् । साधुले भन्यो महतारी हिजो तिमीले दिएको खाना चोरी भएको रहेछ । त्यसले मेरो बुद्धि बिग्रियो र राडी लिएर हिँडेछु । फेरि माथ्लो गाउँ जान भनेर हिँडेको तल्लो गाउँ पुगेछु । उल्टो बुढीको चोरी पक्रिएर छिमेकीले असुलउपर गरे । साधु चोरीको अन्नबाट पेट साफ भएपछि उकालो लागे । 

कथा यत्ति हो । लम्ब्याएर सुनाउँदा लामै भए पनि आज यति । आजभोलि मेरो पनि बुद्धि बिग्रिन थालेको छ । मेरो घडेरी नै चोरगाउँमा परेको छ । त्यही घडेरीमा रोपेको सागसब्जीमा छिमेकीका बारीको पनि थपथाप पारेर छेउको ठूलो घरमा डेरा लिएर बसेको छु । आफै बसेका घरको कुरा नगरुँ । गाउँको कुरा चाहिँ कसैलाई नभन्ने सर्तमा गर्न सक्छु । आँखा चिम्लेर र कान खोलेर सुन्नुहोस् ।

मेरो गाउँको नामले नै गाउँलेका कृत्य थाहा पाइहाल्नु भो । यस गाउँमा घरैपिच्छे बिजुलीचोर हुन्छन् । बिजुली चोर्न नजान्ने बिजुलीको तार चोर्छन् । खानेपानी चोर हुन्छन् । खानेपानी चोर्न नजान्ने खानेपानीको पायप चोर्छन् । अलि बाठा पानीको मिटर चोर्छन् । अझै बाठा पानी तान्ने मोटर चोर्छन् । नसक्ने पानीका धाराका टुटी चोर्छन् । पानी आउला र थापूँला भनेर लाइनमा राखेका गाग्री चोर्छन् । 

मेरा टोलका सबैभन्दा बाठा सुन चोर्छन् । उनीहरूसँग कसले कति नम्बरी र कति तोला सुन लाएको छ भन्ने हिसाबकिताब ताजा हुन्छ । गहनाका नाम, तिनका अन्दाजी आना तोला सब थाहा हुन्छ । केटीहरूले कानको मुन्द्री हराएपछि मात्र त्यो प्रेमी नभएर चोर रहेछ भन्ने थाहा पाउँछन् । बुढीहरूले माडबारी चोरिएपछि मात्र त्यो मन्त्र दान गर्ने साधु नभएर चोर रहेछ भन्ने थाहा पाउँछन् । बेरुवा औँठी लाउने बूढाहरू बाबुको सराद्धे सकेर भात खाएर चुठ्तै गर्दा मात्रै अघि घरमा आएको बाजे चोर रहेछ भन्ने थाहा पाउँछन् । उनीहरू भेषै बदलेर आउँछन् भन्या । 

मेरो गाउँको खाद्यान्न पसलमा गएर उभिए नूनचोर, खाद्यान्न चोर, दलहन चोर, तेलन चोर, ग्यास चोर, अगरवत्ती चोर, धुप चोर, सलाइ चोर, लाइटर चोर, चाउचाउ चोर, सियो चोर, पिनसियो चोर आदि चोर नै चोर भेटिन्छन् । तिनले एउटा सामान मागेर पसलेले उता हेर्दा नहेर्दा यता अर्को सामान चप्काइसकेका हुन्छन् । तिनका हात आवश्यकता अनुसार जति पनि जम्बिन सक्छन् । तिनलाई कमाएर ल्याएको पाथीभात भन्दा चोरेर ल्याएको चाउचाउ खाएका दिन चाड आउँछ । 

केही चोरहरू सञ्चार क्षेत्रमा हुन्छन् । तिनलाई हाम्रो गाउँले चौथो दर्जामा राखेको छ । अलि बाठा चोरहरू टेलिफोन चोर, अलि सोझा चोर टेलिफोनको तार चोर, साँच्चै बाठा मोवायल चोर, समाचार चोर, किताब चोर, बुद्धि चोर, जिङ्गल चोर, आवाज चोर, लवज चोर आदि चोर नै चोर भेटिन्छन् । तिनलाई जासुस पत्रकारले पनि फेला पार्दैनन् । 

यस गाउँमा चोरहरूको वर्गीकरण गर्न कठिन छ । कामचोर, दामचोर, नामचोर, मामचोर, ठामचोर, कमिसनचोर, वनचोर, औषधीचोर, मलचोर, ढलचोर, माटोचोर, बाटोचोर, राजस्व चोर, बीऊ चोर, घिउ चोर, नैवेद्य चोर आदि आदि त आआफ्ना क्षेत्रमा विशेषज्ञ भएर चोरदादाका रुपमा प्रसिद्ध छन् । तिनका खासा कार्यालयहरू मन्त्रालय र सिंहदरबारभित्रका गोप्य ठाउँमा हुन्छन् । पार्टी अध्यक्षका खोपी र भीभीआइपीका दरबारभित्र गुमनाम हुन्छन् । तिनका पछिलागेर साध्य छैन । अलिपर पुगेपछि कालो, सेतो, पहोलो, रातो कस्तो पोसाक फेर्नु पर्ने हो फेरिसक्छन् । 

तपाई गरिबहरू दुख पाएर चोर्छन् भन्नुहोला । यहाँ राज्यले तलव दिएरै चोर पालेको हुन्छ । जुनसुकै कार्यालयमा जानुहोस् चोरी नभएको पाउनु भएछ भने परेको मै बेहोरौँला । कार्यालयका कुर्सी टेवल चोर, झ्याल ढोकाका पर्दा चोर, तालाचावी चोर, चुकुल चोर, कम्प्युटर चोर, ल्यापटप चोर, कम्प्युटरको माउस चोर, पेनड्राइभ चोर, मसीदानी, कलमदानी चोरदेखि लिएर ट्वाइलेटका सामानचोरसम्म त्यहीँ जागिर खाइरहेका हुन्छन् । यस्ता चोरलाई जति चोर्यो उति बढुवा गर्छ राज्यले । बढुवा मात्र हो र पुरस्कार दिन्छ । नपत्याए सरकारी कार्यालयको ट्वाइलेट पसेर हेर्नुहोला त्यहाँका पानीका धारा, पायप, वेसन, ऐना सबै चोरिएका रहेनछन् भने मलाई भन्नुहोला । सिंहदरबारभित्र रोकेर राखेका गाडीका पार्टपुर्जा दिउँसै हराउँछन् । मन्त्रालयमा मन्त्रीको कोठा सजावटका सामान हप्ता हप्ता दिनमा हराएर नयाँ जोड्ने कर्मचारीहरू नै नियुक्ति गरिएको हुन्छ । अनि के कुरा गर्नु भन्या । अन्त  गाइरहनै पर्दैन हाम्रा जिल्लाका जिल्ला प्रशासन कार्यालयका ट्वाइलेटमा गएर हेरे प्रस्ट भइहाल्छ । सबैभन्दा बढी चोर संरक्षित रहने कार्यालय भनेकै त्यही हो । दोस्रो तेस्रोमा मन्त्रालय र सिंहदरबारहरू पर्छन् । यस्ता चोरीका नमुना गाउँपालिका र नगरपालिकाका कार्यालयका ट्वाइलेटमा छिरेर पनि हेर्न सकिन्छ ।  

राज्यले पालेका चोरहरू प्कार प्रकारका हुन्छन् । तिनलाई कसैले कर्मचारी भनेर चिन्छन् कसैले पुलिस भनेर र कसैले नेता भनेर चिन्छन् । यहाँ यस्ता अनेकौँ प्रकारका चोर छन् । मालपोत जानुहोस् त्यहाँ चोरहरू डाँका गरिरहेका हुन्छन् । मालपोतमा बस्ने चोर डाका चोर हुन् । त्यहाँ हाताहाती घुस कारोबार चल्छ । नापी कार्यालय छिर्नुहोस् कार्यकक्षमै लेनदेनको बहस चल्छ । पुलिस प्रशासनको कुरा नगरुँ फेरि रिन गरेर किनेको घडेरी पनि उड्न सक्छ । 

यहाँ राज्यले तलब नदिएका तर संरक्षण गरेका चोरहरू पनि छन् । त्यस्ता चोरहरूमध्ये केही म्यानपावर नामका अफिसमा बस्छन् । ती चोरभन्दा माथि डाका नै हुन्छन् । गरिबका छोराछोरीमाथि दिउँसै डकैती गर्छन् । तिनको साखा कार्यलय राज्यका श्रम कार्यालय, विद्यार्थी कन्सलटेन्सी, श्रमविभाग आदि हुन् । त्यहाँ साँझविहान  हँुदाखाने जनताका छोराछोरीमाथि कस्तो अत्याचार हुन्छ भन्ने कुरो चोर गाउँमा बसेर भन्न मिल्दैन । चासो लागे तपाईँ आफैँ गएर बुझ्न सक्नुहुन्छ । तिनले क नचिनेका देखि डिग्रीको सटिफिकेट बोक्नेसम्म साराका बुद्धि चोरी गरेर विदेसमा दास बनाइदिन्छन् । सटिफिकेट नै नभएकालाई पढ्नै नजान्ने सटिफिकेट बनाएर कुन देशको कुन घरको कुन ट्वाइलेट सफा गर्ने गरी पठाइदिने हो सोझै त्यहीँ पुर्याइदिन्छन् । 

केही चोरहरू लफर्म नामका गुफामा बस्छन् । तिनका साखा कार्यालयहरू अदालतहरू नै हुन् । तिनका पार्टटायम जागिरेहरू कार्यालय प्रमुख र सहायकका रुपमा अदालतमै बस्छन् । मूल कार्यालयमा जाउँ वा शाखा कार्यालयमा त्यहाँ पस्ना साथ एकपाना कागज लिन घुस माग्छन् । कालो कोट लाउँदा लाउँदा कालो भएको मन बाबुलाई पनि छोड्दैनन् । यिनका उपर उजुरी गरेर न्याय पाउनु भनेको सोझै परमधाम जानु हो । यिनका बारे धेरै नबोलूँ । बोल्यो कि पोल्यो । 

केही चोरहरू ड्राइभिड स्कुल नामका मैदानमा बस्छन् । तिनको शाखा कार्यालय राज्यको यातायात कार्यालयमा हुन्छ । त्यहाँ गइमात्र हेर्नुहोस् कसरी चोर्छन् । चोर्न नपाए कसरी लुट्छन् भन्ने कुरा बुझिन्छ । म यै गाउँको मान्छे हुँदा धेरै कुरा बोल्न मिल्दैन । तपाई मिलाएर कुरो बुझ्नुहोस् । ड्राइभिड मात्र होइन स्कुल भन्ने सबैजसो ठाउँमा राज्यले तलब दिएका र तस्करले दिएका चोरहरूले भरिएका छन् । यिनका बारे पनि धेरै नबोलूँ । बेल्ट बाँध्ने, बुट लाउने र टाइबाँध्ने चोरले सोहोरेको मैले बाहेक अरु कसले देखेको होला ? 

बाजेका पालादेखिका चोर संरक्षित भन्सार, नाका–नाकाका खरदारले समेत दुई महिनामै धन्सार बनाएको कुरा त मैलै गर्नै परेन । यो गणतन्त्रमा पनि कतिपय कार्यालयमा विभिन्न मालसामान खरिद–बिक्री, पुनर्निर्माणका नाममा सदाबहार चोरीधन्दा चलिरहन्छ । लोकतन्त्र र गणतन्त्रको पर्यायवाची शब्द कमिसनतन्त्र पनि हो । यसको अन्त्य गर्ने मन्त्र ठूलै पशुपतिका साधुहरूसँग पनि छैन अन्त के होला ? मूलहाकिम, नूनकर्मचारी, स्टोरकिपर र ‘चोचेमोचे क्रान्तिकारी’हरू मिलेपछि खेल खत्तम । अरु तैँचुप मैचुप । 

मेरो गाउँमा केही चोरहरू स्वास्थ्य स्वास्थ्य सम्बन्धी कार्यालयमा बस्छन् । तिनका नाम नझुकिनु चौकी, क्लिनिक, अस्पताल नर्सिङ होम जे पनि हुन सक्छन् । त्यहाँ कालो मन हुने र सेतो लुगा लाउने चोरहरू बस्छन् । तिनले मान्छेका मुटुकलेजा, किड्नी, पेटमा हुर्कँदै गरेका भ्रुणदेखि जन्मिएका बच्चाबच्चीसम्म चोरी गर्छन् तिनका शाखा कार्यालयहरू त्स्करका खोपीहरूमा हुन्छन् । सोझा मान्छे डाक्टरलाई भगमान ठानेर ढोग्छन् डाक्टरले भने यमरा जबनेर लुट्छ । लूटको प्रमाण कहाँ हुन्छ र ? लुट्न सिपालुले प्रमाणपत्र तयार पारेर कहाँ लुट्छ र ? उसलाई पढ्नेबेलामा ठूलो चोरले जसरी लुटेको हुन्छ त्यसरी नै बिरामी लुट्छ । म त मरिजाऊँ त्यो अस्पताल भन्ने टेक्तिनँ । तिनीहरू मान्छेको रगत चुसेर मोटाएका हुन्छन् । रोगै नलागी अस्पताल गयो भने पनि यो गर् र त्यो गर् भनेर हजारौँको औषधी थमाउँछन् । उपचारसँगै होटल पनि चलाउँछन्, लज पनि चलाउँछन् मनोरञ्जन पनि गर्छन् मोराहरू । आजकाल गर्भपतन गर्न जाने सोझा युवतीहरू तिनका मनोरञ्जनका गन्तव्य बनेका छन् । 

यहाँ चोरहरूका अरु प्रजाति पनि छन् । केही चोर विद्यालयमा बस्छन् । केही मन्दिरमा पस्छन् । केही समाजसेवा गर्छन् । केही पाटी फेर्छन् । कोही संस्था खोल्छन् । संसारको बाठो भनेको चोर  हो । चोरले चिडियाघरमा नचाउँछ मजूर । चोरले चुच्याउँछ घरको चुची । चोरले ठड्याउँछ सुनको गजूर । चोरले गर्छ हस् र हजुर । चोरले पट्याउँछ राम्री केटी वा केटो । चोरले ठम्याउँछ चोरीका वस्तुको मेसो । चोरैले थाप्छ मान सम्मान । चोरका सय दाऊ भन्ने त उखानै छ नि । तपाईँले सोझै भने चोर चिन्नु हुन्न । सर्पको खुट्टा सर्पले देख्छ भन्ने त थाहा छ नि । भोलि केही हरायो भने मलाई चाहिँ संका नगर्नुहोला ।

पाँचथर, हाल : काठमाडौं