मेरो नाम लिमुएल गुलिभर । म सोर सय... मा इङल्यान्डमा जन्मेको । युवा भएपछि मैले डाक्टरी शिक्षा लिएँ र सर्वप्रथम इङल्यान्डमै काम गरें । तर, त्यहाँ मैले त्यति सजिलै पैसा कमाउन सकिनँ । त्यसैले मैले जहाजको चिकित्सक भएर काम गर्ने निर्णय गरें । म ज्यादै भ्रमणप्रिय मान्छे पनि हुँ । त्यसैले मैले थुप्रै पटक समुद्रयात्रा पनि गरेको छु । मलाई यस्तो यात्रामय जीवनमा निकै रुचि पनि छ । 

चिकित्सक भएपछि म एन्टेलप नामको जहाजमा काम गर्न थालें । हाम्रो त्यो सामुद्रिक यात्रा प्रारम्भमा त निकै राम्रो रह्यो तर एक दिन आएको भयानक समुद्री चक्रवातले त हाम्रो हुर्मतै लियो । हाम्रो जहाज त्यस चक्रवातमा बत्तिँदै गएर एउटा समुद्री चट्टानमा बजारियो र डुब्न थाल्यो । हामी केही यात्रीहरू जहाजको आपातकालीन डुँगामा हाम फाल्यौं । बल्ल सुरक्षित भइयो भनेर अनुभव पनि गर्न पाउँदा नपाउँदै एउटा ठुलो छाल आयो र हाम्रो त्यस डुँगालाई त त्यहीँ पानीमा घोप्ट्याइ दियो । डँुगा घोप्टिए पनि अर्को उपाय थिएन, सबै जना पानीमा पौडन थाल्यौं । केही बेर त सबै पौडँदै थियौं अनि त पौडिरहेका सबै साथीहरू त्यहीँ समुद्रमा बिलाए । 

म भने घन्टौंसम्म पानीमा पौडि नै रहें । पौडिँदा पौडिँदा थाकेर लखतरान पनि परें । यस्तैमा मलाई अचानक पानी थोरै भएको आभास भयो । आहा, मेरा खुट्टाले त जमिन पो टेक्न पुगे ! बल्ल बाँचियो ! अब भने म बिस्तारै बिस्तारै समुद्रकिनारातिर निस्कने प्रयास गर्न थालें । निकै बेर हिँडेपछि बल्लतल्ल किनारामा उत्रें । त्यति बेलासम्ममा साँझ परिसकेको थियो । थकाइले लखतरान भएको जिउ । म त त्यहीँ त्यतिकै किनाराको बालुवामै पो निदाएँछु । एकैचोटि बिहान हुँदा मात्र निद्रा खुल्यो । अब उठ्नुप¥यो भनेर यसो जुर्मुराउन खोज्दा त मेरो शरीर हल्लिनै मान्दैन बा ! यसो अलिकति टाउको उठाएर स्थितिलाई नियालें । अचम्म, मेरो शरीर त डोरीले पो जेलिएको रहेछ ! मेरो पुरै शरीर टनक्क डोरीले कसिएको थियो । मलाई के भएको हो भन्ने कुरा बुझ्नै सकिनँ । 

त्यसपछि पो यसो नियाल्दा ससाना जीवहरू मेरो शरीरमा हिँडिरहेका रहेछन् ! मैले फेरि हेरैं बाफरे ! कस्तो अचम्म ! म त्यो देखेर त आश्चर्यचकितै भएँ ! ती जीवहरू त मसिना मानवहरू पो रहेछन् ! चाँडै नै ती लघुमानवहरू अझ धेरै संख्यामा जम्मा भए र मेरो शरीरमाथि यताउती गर्न थाले । म भएको चौरअगाडि तिनीहरू सयौंको संख्यामा जम्मा भएका थिए । उनीहरू आपसमा केही कुराहरू पनि गर्थे तर उनीहरू कुन भाषामा के भन्दै छन् भन्ने कुराको मैले मेलो पाउनै सकिनँ । 

म एकै चोटि ठुलो आवाज गरेर कराएँ । मेरो आवाज सुनेर ती निकै डराए पनि । त्यसपछि उनीहरू हतार हतार दौडँदै यताउती गर्न थाले । म भने आफूलाई बन्धनमुक्त गर्ने प्रयास गर्न थालें । पहिले मैले मेरो हातलाई जेलेका डोरीहरू चुँडाउने प्रयत्न गर्न थालें । केही बेरमा यो सम्भव भयो । त्यसपछि मैले छिटै नै आफूलाई बन्धनमुक्त बनाएँ । त्यसै बेला मलाई केही तिखो वस्तुले घोचे जस्तो हल्का पिडाको अनुभव भयो । ए, तिनीहरू त मलाई धमाधम तिखा वाणहरूले पो प्रहार गर्दै रहेछन् ! अत्यन्त झिना वाण, तर औधि तिखा पनि ! अनि मैले चाहिँ त्यहीँ त्यसै पल्टिरहने विचार गरें । 

एउटाले एउटा टौवा बनाएछ – मेरो कानै नेर । एउटा चाहिँ त्यस टौवामा चढ्यो र मेरो कानको नजिकै उभियो र मैले सुन्ने गरी मेरो कानैमा चर्को आवाज निकालेर करायो । तर उसले कुन भाषा प्रयोग गरेको हो मैले भेउ पाउनै सकिनँ । त्यसपछि उसले केही सङ्केत गरेर मलाई बुझाउने प्रयास गर्न थाल्यो । उसले मलाई उसको मुलुकको नाम लिलिपुट हो भनेर बुझायो अनि ऊ त्यहाँको सम्राटको लागि काम गर्ने कामदार हो भन्ने कुरा पनि बुझायो । उसले सङ्केत गरे अनुसार म उनीहरूको बन्दी भएको रहेछु भन्ने कुरा पनि स्पष्ट भयो । लिलिपुटको सम्राटलाई मलाई देखाउनका लागि उनीहरूले मलाई बन्दी बनाएका हुनाले नडराउन पनि उसले सङ्केत ग¥यो । 

भर्खरै बिहान छिप्पिन मात्र लाग्दै थियो, तर म भने भोक र तिर्खाले व्याकुल नै भइसकेको थिएँ । मैले औंलाले आफ्नो मुखतिर देखाउँदै भोक र तिर्खाले सताएको हुनाले मैले केही खान पिउन चाहेको कुरा सङ्केत गरें । त्यस लघुमानवले मेरो आशय बुझेछ, त्यसपछि लगत्तै उसले भुईंमा सयौंको संख्यामा रहेका जमातलाई केही निर्देश ग¥यो । त्यसपछि ती जमात त्यहाँबाट गए । उनीहरू केही बेरपछि फर्किहाले । ती लघुमानवको जमात फर्कँदा उनीहरूले साथमा विविध खाद्य सामग्रीसहित सिँढी पनि ल्याएका थिए । उनीहरू सिँढी मेरो शरीरमा अड्याएर उनीहरूले ल्याएका खाद्य तथा पेय पदार्थसहित भटाभट ममाथि चढे र मलाई उनीहरूले ल्याएका ती वस्तुहरू ग्रहण गर्न आग्रह गरे । ओहो ! कति स्वादिस्ट परिकार ! तर कति थोरै ? ती खाद्यवस्तु उनीहरूका लागि मात्र उपयुक्त हुने खालका थिए । मेरो त पेटको एक छेउ पनि नभरिने ! उनीहरूले ल्याएको वाइनको घैला पनि एकै चोटिमा रित्याइदिएँ अनि उनीहरूले ल्याएका भेडा र अन्य जन्तुहरू पनि एकै झमटमा क¥याककुरुक मर्काइदिएँ । 

त्यतिबेरै मैले मेरो छेउको मैदानमा निकै ठुलो होहल्ला सुनें । के हो भनेर यसो त्यतातिर हेर्नलाई मुन्टो घुमाएँ । उनीहरू त ठुल्ठुला रुख काटेर ल्याएर केही वस्तु बनाइरहेका रहेछन् । उनीहरूले निकै बेर लगाएर त्यो वस्तु बनाइसके अनि मात्र मैले उनीहरूले के बनाएका रहेछन् भन्ने कुराको भेउ पाएँ । उनीहरूले बनाएको त्यो वस्तु ठुलो मेसिन रहेछ जसमा धेरैवटा चक्का जडान गरिएको थियो र त्यो मेसिन म जत्रै ठुलो थियो । मेरो भने थकाइ मरेकै थिएन । यतिकैमा म त फेरि निदाएँछु । म निदाएकै मौकामा उनीहरूले त मलाई त्यस मेसिनमा उठाएर लादिसकेछन् । त्यसपछि मलाई ब्युँझाए । यिनीहरूले मलाई के गर्न खोजेका होलान् भन्ने मलाई बडो कुतूहल भइरहेको थियो । 
त्यसपछि फेरि अर्को कोलाहल सुनियो । यसो हेरेको त सयौंको संख्यामा ससाना घोडाहरू ल्याइएको रहेछ । ती लघुमानवहरू ती घोडालाई मलाई बोकिरहेको त्यस मेसिनमा जुटाइरहेका थिए । त्यसपछि ती मसिना सयौं घोडाहरूले मलाई घिसार्न थाले । मलाई तान्नका लागि त्यस मेसिनमा पन्ध्र सय घोडा जोतिएका थिए । मलाई बोकेको त्यो मेसिन बिस्तारै बिस्तारै गुड्दै अघि बढ्न थाल्यो । 

त्यो यात्रा निकै लामो थियो । निकै बेरको यात्रापछि एउटा सहरमा आइपुगियो । हामी त्यस सहरको बाहिरै रोकियौं । त्यहाँ एउटा निकै पुरानो मन्दिर रहेछ । उनीहरूले मलाई त्यस मेसिनबाट ओर्लेर त्यही मन्दिरभित्र जान भने । त्यसपछि मैले थाहा पाएँ त्यो मन्दिर त्यस मुलुककै सबैभन्दा ठुलो महल रहेछ । यो मन्दिर भवन लामो समयदेखि प्रयोग गरिएको रहेनछ । यसको कारण के रहेछ भने यस ठाउँमा केही वर्षअघि कसैले एउटा भयानक हत्या गरेको रहेछ । 

त्यस मन्दिरमा भने मलाई प्रवेश गर्नका लागि चाहिँदो ठाउँ रहेछ । म जब त्यस मन्दिरभित्र पसें अनि फेरि ती लघुमानवहरूले मलाई त्यहीँ बाँधे । उनीहरूले मलाई बाँध्नका लागि एकानब्बेवटा साङ्ला र छत्तिसवटा ताला प्रयोग गरेका थिए । ती साङ्लाहरू मलाई उभिन र यताउती गर्न पुग्नेसम्मका लामा थिए । ती मान्छेहरू मलाई उभिएको र हिँडेको देखेर कति भयभीत र आश्चर्यचकित भएका थिए त्यो मेरा लागि सधैं अविस्मरणीय छ । 

त्यहाँको सम्राट् आफ्नी सम्राज्ञीलाई लिएर आफैं मन्दिरमा आयो । उनीहरू दुवै मलाई हेर्न भनेर आएका थिए । उनीहरू त्यही मन्दिरनेरको एउटा टौवामा चढे अनि त्यहाँ ढल्किरहेको मलाई हेरे । त्यस सहरका जनता पनि धमाधम आउँदै मलाई हेर्न मन्दिरको पर्खालमाथि चढ्न थाले । केही धेरै साहसी चाहिँ मेरो शरीरमै सिँढी लगाएर चढे । हरेक व्यक्ति मलाई देखेर आश्चर्यचकित हुन्थ्यो । म त्यहाँ त्यति ठुलो मान्छे थिएँ जो उनीहरूले यसअघि कहिल्यै पनि देखेका थिएनन् ।

अनु. : गंगाप्रसाद अधिकारी