अहङ्कारी, स्वार्थी, पतित जसको अस्त्र छ छल
सुधा खाई ऊ नै सहजसित ओकल्छ गरल ।
लुगा, पैसा, पेसा, पद र गरिमा उच्च छ तर
भुली हत्या, हिंसा, दलनतिर छन् उद्यत नर ।।

लगाई तर्सायो गरिब जन आरोप मसिना
लुट्यो, खोस्यो, खायो अबुझ जनको रक्त पसिना ।
कतै पैसा, इच्छा, दुध, मह तथा मैन लुटियो
‘लुटेरा’झैँ मान्छे सबतिर हुँदा चैन लुटियो ।।

कतै भोकै बस्छन् मजदुरहरू माम नभई
कतै डुल्छन् मान्छे हरदिन यहाँ काम नभई ।
बस्यो अल्छी मानी तर पनि बन्यो मालिक ठुलो
गधाझैँ जो खट्छन् सबतिर कहाँ बल्छ र चुलो ?

भिखारी बन्छन् ती हरदिन खटे यन्त्रसरि जो
भकारी भर्छन् ती परिश्रम गराईकन अहो !
यहाँ मान्छे, प्राणी सकल जसले शोषित गर्यो
कठै! मान्छेलाई असल कसले घोषित गर्यो ?

हड्प्छन् जो मान्छे गरिब जनका खेत र खला
तिनै स्वामी बन्छन् महल थपिँदा छन् अझ तला ।
सधैँ खोस्ने गर्छन् रगत पसिना छैन ममता
तिनी बाँच्दा मर्छन् गरिब जनता खै मनुजता ?

सुर्खेत