मान्छेको जात अचम्मको छ । मान्छे जतिसुकै बेला जोसुकैलाई घोडा चढिरहेकै हुन्छ । अब हेर्नु न जन्माउनु घोडा चढ्नुपर्ने । न जन्मनु घोडा चढ्नुपर्ने । जन्मेपछि घोडा चढ्नुपर्ने । हुर्किन घोडै चढ्नुपर्ने । हुर्केपछि घोडै चड्नु पर्ने । जाउआउ घोडै चढ्नुपर्ने । बाटो देखाउन घोडा चढ्नुपर्ने । बाटो छेक्न घोडै चढ्नुपर्ने । सेना घोडा चढ्ने । पुलिसले घोडा चढ्ने । ट्राफिकले घोडा चढ्ने । रिसल्लाले घोडै चढ्नुपर्ने । गजबै छ । अरुलाई के भन्नु, मैले पनि सानैदेखि खुब घोडा चढेँ । कहिले बाबुको काँधलाई त कहिले आमाको ढाडलाई घोडा बनाएर चढेँ । कहिले खेतबारीमा चर्दै गरेको अर्काको घोडालाई हरियो घाँस देखाएर चढेँ त कहिले केही नदेखाई चढेँ तर घेरै चढेँ । घोडा चढ्ने सिलसिला जारी नै छ । त्यस्तै मलाई घोडा बनाएर पनि घेरैले चढे । जानेर नजानेर धेरैको घोडा बनियो । घोडा बन्ने सिलसिला पनि जारी नै छ । 

घोडचढीहरू कहिले माला, वरमाला, अविर अनि खादासँग घोडा चढेँ । कहिले दोसल्ला ओडेर चढेँ त कहिले छाता ओडेर चढेँ । अझ गज्जब त अँध्यारैमा पनि कालो चस्मा लगाएर पनि चढेँ । के छ र चढ्नेले देख्नु पर्ने हैन, घोडाले बाटो देखे भैगयो । घोडाले नदेखे पनि लगाम समातेर अघिलागी तान्नेले देखे भैगयो । २०७४ सालमा त अझ धेरैले घोडा चढे । वडामा चढे, गाउँपालिकामा चढे, नगरपालिकामा चढे, क्षेत्रमा चढे, प्रदेशमा चढे, केन्द्रमा चढे, राष्ट्रमा चढे । जताततै चढे । जनतालाई हरियो घाँस देखाएर चढे, भए नभएको आश देखाएर चढे । अझ कतिले त त्रास देखाएर पनि चढे । जिन कसेर चढे, जिन नै नकसी पनि चढे । टाप लगाएर चढे, बिना टाप पनि चढे । चढ्ने क्रम जारी छ । घोडालाई स्याहार सुसार गर्नु पर्ने हैन, मोटाओस् कि दुब्लाओस् ख्याल गर्नुपर्ने छैन । कोर्रा लगाउँदै दौडाउनुसम्म दौडाए । दौडेर मात्र सुःख छ र बाटोमा दौडदा आवाज पट्ट्ट् पट्ट्ट् आउनुपर्ने रे त्यसैले घोडाले आफ्नो खुरमा फलामको चाँदे ठोकाइमाग्नु पर्ने अरे । विडम्बना । हैन घोडा बन्नेले कहिलेसम्म यस्तो विडम्बना सहनु पर्ने हो ? घोडाले कहिले घोडा चढ्ने ? विचरो घोडा त परै जावस् घोडी चढ्न पनि नपाउने । घोडी पनि तिनैले चढ्ने । प्राकृतिक घोडा पनि तिनै चढ्ने अनि आधुनिक घोडा करोडौं तिरेर वा तिर्न लगाएर पनि तिनैले चढ्ने । विचरा दीनदुखीहरू बोकालाई घोडा सम्झेर चढ्छन् । सकि नसकी पाइताला खियाएर हिँड्छन् । तिनको हिँड्ने बाटोको तिखे ढुङ्गा कसले पन्छाई दिने ? खाल्टाखुल्टी कसले पुरिदिने । हिलो धुलोमा हिलाम्मे र धुलाम्मे बनेर पसिना काड्दै हिँड्नु पर्ने । घोडसवार कसैले लाखौ पर्ने घोडा चढ् रे । अझ कसैले त सोह्र सोह्र करोड सम्मको आधुनिक घोडा पनि चढे रे । जय हो घोड्सवारहरूको ।

काठमाडौं 
२०७४।०९।१६