हजुरबा
हिजो म चिटिक्क चिटिक्कै परेर,
देखाइदिऊँ शहरलाई म यस्तो भनेर,
घुम्दा शहरमा नजर केही लडेथे,
युवक एक आई हजुरबा भनी गो !
त्यो झ्प्याप्ले त्यो लाउके, त्यो भाते भतुवा !
त्यो मूर्ख जस्तो महाकै लठूवा,
नजिकैमा आई यो नाडी समायो,
नमस्कार नमस्कार हजुरबा भनी गो !
मुसार्दै मेरो हात र हाँस्यो मुसुक्क,
सञ्चै तपाईंलाई, सोध्यो खुसुक्क,
मेरो हात उसले गालामा लगायो,
कता लाग्नु भा’ को ? हजुरबा भनि गो !
केही खान मन छ ? कता म पुरयाऊँ ?
थकाइ लागे भन्नोस् बसौं छ त्यो ठाउँ !
म बोल्नै सकिन, खुबै मन सकस भो,
म जाऊँ त सोधेर हजुरबा भनि गो !
निकै सम्झिएँ म चिन्छु कि भन्दै,
हामी दुवैलाई उसैले चिनाइगो ।
न त्यो मेरो नाति न त्यो मेरो जाती,
संस्कार उसको मलाई बुझाइगो !
अमिलो भयो मन, धमीलो नजरले,
पच्छ्याएँ निकै बेर ओझेलमा परिगो,
हिजो एक युवकले हजुरबा भनिगो,
बाँकी जीवनलाई सहारा दिइ गो !
बत्तिसपुतली, काठमाडौं