टेन्सन मेरो अभिन्न मित्र हो । तपाईं टेन्सन अभिन्न मित्र हो भन्दा अचम्ममा पर्नुभयो होला । “कहिँ नभएको जात्रा हाँडी गाउँमा” यत्रा आफ्ना मान्छे कोही अभिन्न हुन सकेनन् । “तात्तो न छारो” टेन्सन अभिन्न भनेर । तपाईंलाई मैले अहिले नै भन्द्याछु है तपाईं यस विषयमा पटक्कै टेन्सन नलिनुस् ।

चौतारेका कचहरीमा बैदार बुढाले, जिब्रो चपाएर दोचारे कुरो गरे जस्तो मात्र होइन । टेन्सन मेरो सतोसत अभिन्न मित्र हो । ऊ मेरो साथ छोडेर कहिल्यै कतै जाँदैन । गइहाले पनि दुई दिन टिक्दैन बा ! आइपुग्छ टुप्लुक्क मैकहाँ । यस्तो म भनेपछि मरिहत्ते गर्ने मेरो सहकर्मी साथीलाई अभिन्न मित्र नभनेर म के भनौँ त ?
ऊ आउँछ, सालिन्दा नयाँ–नयाँ विचार बोकेर आउँछ । जसरी नयाँवर्ष सबैलाई शुभकामना सन्देश लिएर आउँछ । धेरै वर्ष पहिले नयाँ वर्षले मलाई लिएर आयो । मलाई लाग्छ टेन्सन पक्कै मसँगसँगै आयो । नभा मलाई यति धेरै माया कसरी गर्थ्यो ...? जब म जन्मिएर यो धर्तीको धुलो टेकेँ अनि आँखा उघारेर हेर्दा टेन्सनलाई टुसुक्क बसिरहेको देखेँ । तर त्यो बेला टेन्सन सानो थियो । कलकलाउँदो, कलिलो थियो । अनि त्यत्तिकै पिलन्धरे थियो, केही भन्नै हुँदैनथ्यो, पिलपिल गरेर रून्थ्यो । कहिलेकाही टेन्सनलाई, सुटुक्क छोडेर म सुइकुच्चा ठोक्थेँ तर ऊ टुप्लुक्क आइपुग्थ्यो । त्यही बेलादेखि उसले मलाई क्षणभर छोडेन ।
गाउँमा छँदा यसको गाउँको नाम अर्कै थियो । हुन त टेन्सनका गाउँअनुसार नाउँहरू फरक–फरक थिए । दिक्क, औडाहा, पिरलो इत्यादि । शहरमा सरेपछि नाम फेरिए झैँ टेन्सनको नाम पनि प्रमोसन भएर मात्र टेन्सन भएको हो । प्रगतिशील जमानामा टेन्सनले निक्कै ठूलो प्रगति गरिसकेको छ । कुनै पनि एन.जि.ओ. आइ.एन.जिओ.ले जतिसुकै समाजसेवामा सती जान खोजे पनि प्रचार–प्रसारमा टेन्सनले पछि पारेको छ । “राजाका सामु बाबाको दुहाई” भनेजस्तो टेन्सनका सामु कसैको केही चल्दैन ।
म सानी छँदा, भोकलाग्दा, निन्द्रा लाग्दा रूनैपर्ने, त्यो बेलामा पनि टेन्सनले साथ दिएको छ । बाउले धुलौटोमा कखरा पढाउँदा, पढ्न मन नलाग्दा र पढ्न नजान्दा बाउमाथि जाइलाग्न पनि टेन्सनले हात दिएको छ । स्कुलमा मास्टरले पाठ पढाउँदा निदाएको देखेर चड्कन लाउँदा, साथी भाइको हूल बटुलेर हुलदङ्गा गर्न पनि टेन्सनले नै साथ दिएको छ ।
आफैले सातचोटि एस.एल.सी. दिँदा र पास गर्न नसक्दा पनि टेन्सनले सातै वर्ष मेरो साथ छोडेन । त्यसपछि क्याम्पस पढ्दाको प्रगतिको परिणाम, सातजना ब्वाईफ्रेण्डले सातै ठाउँमा एकैचोटि भेट्ने समय दिँदा पनि टेन्सनले मलाई एक्लो पारेन । ती सातैजना ब्वाईफ्रेण्डले बाउलाई त्यही केटीलाई बिहे गर्छु भनेर टुङ्गो गर्दा पनि टेन्सनले मेरो साथ छोडेन ।
टेन्सनले परजीवी र पराधीन भएको पटक्कै मन पराएन । सँधै गाँड कोराकोर मात्र गर्ने हैन हातमुख जोर्ने बन्दोबस्त आफैं गर्ने भनेर मलाई हत्तुहैरान पार्यो । त्यसपछि तरकारीको टोकरी रित्तिँदा र चामलको बोरामा एक मुठी चामल सिद्धिँदा पनि उसले मेरो साथ छोडेन । मट्टितेलको ग्यालेन बोकेर लम्बेताँत लाइनमा लागेर सातचोटिसम्म रित्तो हात फर्कंदा र भोकै बस्दा पनि टेन्सन टाप ठोकेर कतै भागेन । सय रुपैयाँमा सोयाविनको सानो पोको बोकेर आउँदा र सात दिन नथाम्दा पनि टेन्सनले कुनै आपत्ति जनाएन ।
यात्रामा कैयौँ आए, कैयौँ गए, कोही कहिल्यै आप्mनो भएर रहिरहन सकेन । मेरो भन्नु नै टेन्सन मात्र बाँकी रह्यो । ऊ जहिले पनि आफैंसँग जेलिएर रहेको छ । यी अहिले पनि त उसले साथ दिएकै छ । कुनै कार्यक्रमको आयोजना गर्यो, निम्तो गर्नैपर्नेलाई पुग्यो कि पुगेन...। हल भरिने हो कि होइन, मिडियामा म्यासेज पुग्यो कि पुगेन...। यस्ता समस्या त कति हो कति, यो बेला पनि टेन्सनले साथ दिएकै छ । त्यति मात्रै हो र कविता लेख्न बस्यो के शीर्षक छनौट गर्ने...? लेख लेख्न बस्यो शीर्षकको छनोट गर्यो, वाचन गर्न गयो, बाचन गर्यो...ओ हो ! जहाँ पनि “आधा सञ्च आधा बिसञ्च” यस्तो अवस्थामा पनि टेन्सनले भरपूर मद्दत पुर्याएकै छ ।
यस्तो सहयात्री मित्रलाई म कसरी अभिन्न मित्र नभनौँ ? तपाईं आफैं भन्नुस् त ? बिगत दिनमा के के गरायो र आउँदा दिनमा के के गराउँछ सब टेन्सनकै सहायताले गराउँछ । जे छ टेन्सन छ, म यो कुरामा पूरा विश्वस्त छु । “टेन्सनको लीला अपरम्पार, घुम्दछ जसमा सब संसार ।”

 हाल : काठमाडौं