यसपाली एउटा रातो कार किन्नेमा हाम्रो घर सल्लाह मिल्यो । त्यसो त हामीसँग कार हुँदै नभएको होइन । एउटा हरियो कार आज पनि छ घरमा । त्यो भन्दा पहिले पहेँलो कार थियो । पहेँलो कार त साह्रै जीर्ण भयो । त्यसमा सवारी नचलाएको वर्षौं भयो । हरियो चाहिँ जेनतेन चल्दै थियो । विस्तारै ब्रेक नलाग्ने समस्या देखिन थालेको छ । फ्रन्ट गेयर लाउँदा पनि अकस्मात व्याक गेयरमा पुगीहाल्छ । त्यसकारण सडकमा ढुक्क भएर निकाल्न सकिन्न अचेल त्यो । मर्मत खर्च पनि उल्का बढेको छ । चलाउँदा खरङरङरङ आवाज आउँछ । त्यै भएर यसलाई ग्यारेजमा राख्ने निर्णय भयो । सबै परिवारको मतो मिलेपछि आखिर नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने गरी रातो कार खरीद प्रकृया सम्पूर्ण रुपमा पूरा गरियो ।

रातो कार डबल इञ्जिन भएको कार हो । एउटा हेवीवेट इञ्जिन, अर्को सपोर्टिभ इञ्जिन । दुवै इञ्जिनको क्यूमिलेटिभ फङ्सन भएको हुनाले हाम्रो परिवार ढुक्कसंग चढेर हिड्न मिल्नेमा शंका छैन । हेभी इञ्जिनले सपोर्टिभ इञ्जिनलाई डिट्याच्ड गर्ने हो कि भन्नेमा सपोर्टिभ इञ्जिन सशंकीत छ ।

यता हरियो कार रातो कारको सपोर्टिभ इञ्जिन फुकालेर आफ्नो बडीमा जडान गर्न सकिन्छ कि ! भनेर जोखाना हेरिरहेको छ । हरियो कारले आफू पुनः जिवीत भएर हिजोको सुन्दर दिनमा झैं सडकमा हरर हुईंकिने सपना देख्न अझै छाडेको छैन ।

हाम्रो घरको विशाल आँगनमा राखिएको त्यो ठूलो हरियो कार ग्यारेजमा लान भनेर त्यसका चालकलाई भनिएको निकै दिन भैसक्यो । रातो कार मुलगेट भन्दा बाहिरै छ, सडकमै । सडकका अन्य चालकहरू रातो कारले बाटो छेकेकोमा रुष्ट भैसके । यसरी रुष्ट हुनेमा युरोपियन कार, भारतिय कार र चाइनिज कार समेत थिए । तर रातो कारको मर्का अरुलाई के थाहा ! बीच आँगनमा ढसमस्स बसेको हरियो कार नै रातो कार प्रवेशको बाधक रहेको कुरा कि त्यही रातो कारलाई थाहा छ, कि कार किन्न हुटहुटी मच्चाउने परिवारका सदस्यहरूलाई थाहा छ ।

देश हर्न निशेधित छ, रातो कार चूपचाप बसेको छ । सडक जाम भैसक्यो । अब कल्ले भन्न सक्छ यो पीडा कस्को ?

कौशलटार, काठमाडौं