ऊ रुघाखोकी बिग्रेर लखतरान भयो । बिजुवाले भाले खायो । पण्डितले ग्रहशान्ति दक्षिणा कुम्ल्यायो ।  ज्योतिषले निलो औँठी बेच्यो । अस्पतालले त कति खायो कति । 
तर निको भएन । 

“साला सबका सब ठग” भन्दै उदाश भएर अस्पताल बाहिर निस्क्यो । पेटीमा बसिरहेका भुइँफुट्टा बाबाले उसलाई बोलायोः 
“अरे बच्चा, जिन्गीसँग निराश किन ? । यता आइ हाल, सब ठिक भइहाल्छ ।”
उसले सोच्योः
“यो उताको काले हो । बनारसमा पक्का ज्ञानगुन सिकेको हुनुपर्छ ।”
बाबा बोलेः “बच्चा, के नाम छ ?”
“जंगध्वज नेपाली ।”
“हात दिखाइ हाल, फु मन्तर ।”

अचम्म ! बाबाले त उसको भुत बर्तमान सबै रिट्ठो नबिराइ मिलायो । सुन्दर भविष्य देखायो । बाबाले उसलाई पूmल, चन्दन र प्रसाद दिँदै भन्योः

“बच्चा, डायन लागि गाको छ । यो पूmल प्रसाद गंगोत्तरी, जमुनोत्तरीसे पशुपतिनाथतकको कृपा हो । ठिक भइहाल्छ । फिकरको कौनै बात छैन । हामी थोडै भागि जाने हो र ? सधैँ यहीँ पडिरन्छ ।”
उसले दक्षिणा राम्रै चढायो ।

फेरि पनि निको भएन । पुग्यो बाबालाई छप्क्याउन । तर बाबा थिएन । 
पर सडकमा जुलुस आइरहेको थियो । जुलुस एकोहोरो नारा लगाउँदै थियोः
“बाबा हजारी लाल”
“जिन्दावाद”
“यो जीत कस्को ?”
“जनताको”

ऊ ट्वाल्ल परेर जुलुसभित्र रङ्गिएको मान्छे हेर्दै थियो । पेटीकै अर्को बाबाले भन्योः
“चिनेन ?, यहीँ बैठने करेको फु मन्तर बाबा हो । बाबाको नगरिक्ता मिलि गयो । चुनाव जिति लियो । ठूलो मन्छी भयो । फिकरको बात छैन बच्चा, हामी पनि बाबाकै चेलुवा हो । अर्को न साल हाम्रो पनि नगरिक्ता मिलि हाल्छ । अहिले हात दिखाइ हाल ।”

२८ नोबेम्बर, २०१७
साल्टलेक सिटी, अमेरिका