काठमाडौं, पुस २० । व्यङ्ग्यकार महेश थापाद्वारा लिखित व्यङ्ग्य सङ्ग्रह पुस्तक ‘नमोनम’ को विमोचन गरिएको छ ।  काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली हास्यव्यंग्यका धरोहर हरिवशं आचार्य र मदनकृष्ण श्रेष्ठ ‘महजोडी’ ले उक्त व्यङ्ग्य सङ्ग्रह पुस्तकको विमोचन गरेका हुन् ।

लेखक थापा शारीरिक रुपमा अशक्त छन् । सामान्य रुपमा चल्ने एक हातको दुई औंलाको सहायताले व्यङ्ग्यात्मक रुपमा उनले कलम चलाउने गर्दछन् । सामाजिक तथा राजनीतिमा देखिएको विकृति विसंगति विरुद्ध थापाका व्यङ्ग्यात्मक लेखन लोकप्रिय मानिन्छ ।

कार्यक्रममा हरिवंश आर्चायले पछिल्लो समयमा हास्यव्यङ्ग्यको नाममा गालीगलौज गर्नेको संख्या बढेको बताएका छन् । विमोचन कार्यक्रममा बोल्दै आर्चायले सबैभन्दा मन पर्ने विधा व्यङ्ग्य भए तापनि जति हाँस्न सकिन्छ त्यति हँसाउन गाह्रो हुने बताए ।

त्यस्तै कार्यक्रममा मदनकृष्ण श्रेष्ठले नेपालमा अझ केहि वर्षसम्म राजनीतिक हास्यव्यङ्ग्य गर्न आवश्यक रहेको बताए । श्रेष्ठले नेपालमा स्थायी राजनीति जबसम्म हुन्न, तबसम्म हास्यव्यङ्ग्य गरेर सबैलाई सजग बनाउन आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रममा लेखक मुमाराम खनालले हास्यव्यङ्ग्यले जनचेतना जगाएर देशमा लोकतन्त्र ल्याउन सशक्त भूमिका खेल्नुपर्ने बताए । पछिल्लो समयमा हास्य विधाले सबैलाई आकर्षण गरेको खनालले बताए ।

कार्यक्रम काठमाडौंस्थित शिल्पि थियटरमा भएको थियो ।