ग्वान्जौ, चीन÷चिनमै पहिलो पटक नेपालका राष्ट्रिय कलाकारहरूलाई निम्त्याई नयाँ वर्ष २०१८ को ‘न्यू इयर इभ’ भव्यताका साथ मनाइयो ।  यही डिसेम्बर ३१ मा एनआरएनए एनसीसी चीनद्वारा ग्वान्जौमा आयोजना गरिएको ‘हास्यव्यङ्ग्य एवं साङ्गीतिक साँझ’ का लागि नेपालबाट सिस्नुपानी नेपालका उपाध्यक्ष एवं वरिष्ठ हास्यकलाकार मनोज गजुरेल, गायकद्वय यम बराल एवं शिशिर योगी र प्रस्तोतामा सिस्नुुपानी नेपालका महासचिव एवं व्यङ्ग्यकार टंक आचार्यको प्रस्तुतिले सहभागी सबै दर्शकलाई तताएको थियो ।
  
कार्यक्रमलाई पहिलो चरणमा आधा घण्टाको औपचारिक र दोस्रो चरणमा मनोरञ्जन गरी दुई चरणमा छुट्टाइएको थियो । औपचारिक कार्यक्रमबाट शुरु गरिएको कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्बाट हालै मनोनित आइसिसि सदस्य अमृता थापा कन्चनको सभापतित्व एवं ग्वान्जौ स्थित चिनका लागि नेपाली महावाणिज्य दूत रवि भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सुशिल बेल्बासेले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रमको औचित्य पस्तुत गरेका थिए । रञ्जिता आचार्यले बेइजिङ्ग स्थित राजदूताबासबाट महामहिम राजदूत लिलामणि पौडेलले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाएकी थिइन् ।  

कलाकार मनोज गजुरेलले आफ्नो तिखो व्यङ्ग्यात्मक प्रस्तुति मार्फत् नेपालीहरू जहाँ गए पनि सुरुमा एक्लो हुँदा कवि हुने, दुई जना जम्मा भए पार्टनरशिपमा काम थाल्ने, तीन जना भएपछि राजनीतिक संस्था खोल्ने र चार जना हुनासाथ संस्था टुक्र्याउने चलन संसारभरिनै रहेको भन्दै आयोजकले सकेसम्म सबैलाई समेट्ने प्रयास गरेको र जम्मा चार सयको बसोबास रहेको ग्वान्जौका नेपाली समुदायबाट तीन सयको उपस्थिति हुनु एकदमै राम्रो व्यवस्थापन भएको भन्दै आयोजक सबैलाई सह्राहना गरे । त्यसैगरी प्रशिद्ध गायक यम बरालले मोहनी लाग्ला है, बादलुको घुम्टोले, हेर हेर पूर्वबाट, माया बस्यो लगायतका उत्कृष्ट गीत गाउँदा गायकसंगै सबै दर्शक पनि नाचेर रमाएका थिए ।

अर्का गायक शिशिर योगीले पनि उपस्थित सबैको हृदय छुने गीतहरू सारङ्गी त रेटेपनि, यो देशमा, हाँस्नलाई ओठ खोलेँ, झम् तारा झम् झम् लगायतका गीत प्रस्तुत गरेका थिए । त्यसैगरी सिस्नुपानी नेपालका महासचिव एवं व्यङ्ग्यकार टङ्क आचार्यले विविध हास्यव्यङ्ग्य रचनाहरू सुनाएर कार्यक्रममा सुनमा सुगन्ध भर्ने काम गरेका थिए । 

कार्यक्रममा चिनको बेइजिङ्ग, साँघाइ, इयु, फुजियान, सेन्जेन तथा हङकङबाट समेत दर्शकहरूको सहभागिता रहेको थियो । नेपालबाट कलाकारहरूलाई ल्याउनको लागि चिनका जनसम्पर्क समिति अध्यक्ष एवं ब्यापारी राजनकुमार जमरकट्टेल र नेकपा एमालेका प्रचार विभाग सदस्य एवं समाजसेवी रमेश बरालको महत्वपूर्ण भूमिका रहेको आयोजकले बताए । कार्यक्रममा कलाकार लगायत विज्ञापन दिएर सहयोग गर्ने चीनका विभिन्न ट्रान्सपोर्ट एवं लोजिष्टिक कम्पनीहरूलाई धन्यवाद दिँदै मायाको चिनो प्रदान गरिएको थियो । 

जनवरी १ मा एनआरएन एवं महावाणिज्य दूतावासद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा पनि प्रस्तोता कलाकार लगायत ग्वान्जौ स्थित नेपाली समुदायको सहभागिता रहेको थियो ।