काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सन्ध्या आरती शुरु भइसकेको छ ।  वागमती नदी किनारमा भक्तजनहरू भेला भइरहेका छन् । आरतीको विद्युतीय गुञ्जन तरंगीत हुन थाल्छ र पूरै परिवेश भक्ति रसमा चुर्लुम्म डुब्छ । अलि पर घाटमा जलिरहेका लासहरूको धुवाँ आकाशमा मडारिँदैछ ।

अस्ताउँदो घामको पहेंलो किरण मृगस्थली वनमा पोतिँदै गर्दा यता पशुपति क्षेत्रको वृद्धाश्रममा भने चिसो सिरेटो घुसिसकेको छ । वृद्धवृद्धाहरू हत्तपत्त तातो नहुने ज्यानलाई सिरकभित्र लुटपुट पार्ने तरखरमा छन् ।

वृद्धाश्रमको सानो गेटबाट केही मिटरभित्र पस्न नपाउँदै एकाध वृद्धवृद्धा हामीसँग झ्याम्मिन आइपुग्छन्, साना केटाकेटीजस्तै । त्यो एकलासे चिसो पर्खालभित्र कुनै पाहुनाको आगमनले उनीहरूमा आंशिक भए पनि न्यानोपन छाउँदो हो । यो सञ्जेकालमा को आयो, किन आयो भन्ने कौतुहलले मनमा एकखालको तरंग पनि पैदा गर्दो हो ।

हाम्रो क्यामेरा देखेपछि उनीहरू केही भन्न आतुर देखिन्छन् । जीवनको उत्तरार्द्धमा भन्न नपाएका र नसकेका कुराहरू मनभित्रै गुम्स्याएर बसेका थिए, शायद । तर, फेरि पनि उनीहरू केही भन्न सक्दैनन् ।

आफ्ना कुरा थाती राख्दै यति मात्र भन्छन्, ‘दुई छाक खान पाए पुग्छ बाबु, अरु क्यै चाहिएन । नजिकै घाट छ, मरेपछि त्यहीं लगेर पोलिदिए पुग्यो ।’

वागमति किनारको घाटमा लासहरू जल्ने र जलाउने उपक्रमले विश्राम पाएको छैन । चिताबाट निस्केको पातलो धुवाँ वायुमण्डलमा फैलिएको छ । जल्दै गरेको लासबाट आउने गन्ध घ्राणयन्त्र हुँदै फोक्सोमा पुगेको अनुभूति हुन्छ ।

छल गर्यो नियतिले

करिब ६० डिग्रीमा निहुरिएको ज्यान, मुजा परेको अनुहार, सेताम्य फुलेको केश । ठीक यही हुलियाकी एक वृद्धा पानीको भाँडो बोकर हाम्रो अघिल्तिर आइपुग्छिन् । हामी उनीसँग भलाकुसारी गर्छौं ।

वृद्धा प्रतिप्रश्न गर्छिन्, ‘दुई छाक खान पाइएकै छ, लाउन पाइएकै छ । त्यति भए अरु के चाहियो ?’

उनको जिब्रोलाई मिठो मसिनोको लोभ छैन । तातो अन्नले चाहुरिएको पेट तन्काउन पाए भयो । ज्यानलाई सुहाउँदो पहिरन पनि चाहिएन । रक्तसञ्चार धीमा भइसकेको चिसो छालालाई न्यानो बनाउने एकसरो बस्त्र भए पुग्यो ।

जीवनको यो उत्तरार्द्धमा रहर, इच्छा, आकंक्षा सबै खुइलिइसकेका छन्, उनका । के राम्रो, के नराम्रो । को आफन्त, को पराई । के मिठो, के तितो । छुट्याउन छाडिसकेको छ, मनले । उनी करिब(करिब बितरागी भइसकेकी छन् । जीवनको यथार्थबोध भइसकेकाले हुनसक्छ, उनमा जिजिविषा पनि खासै बाँकी रहेको भान हुँदैन ।

‘जिन्दगी यस्तै रहेछ,’ यसो भनिरहँदा उनमा त्यति निराशाको भाव पनि देखिँदैन । बरु, परिपक्व भाव गुञ्जिन्छ, ‘माया, मोह, धन क्यै होइन बाबु ।’

हरेक मानिस आफैंमा एउटा किताब हो । ऊभित्रै एउटा महाभारत या रामायण घटित भएको हुन्छ । दोलखाको कुनै गाउँमा जन्मिएकी ती वृद्धाभित्रको अनुभूतिको मुल पनि फुट्न थाल्छ ।

‘मेरो त सानै उमेरमा बिहे भयो । बेहुली हुँदा त्यस्तै ८÷१० वर्षकी थिएँ । त्यसबेलाको चलन नै त्यस्तो,’ उनी भन्छिन् ।

बिहेपछि केही दिन उनी पतिको घर बसेर माइत फर्किइन् । कलकलाउँदो जवानी माइतमै गुजारिन् । केही वर्षपछि फेरि घरजम भयो । तर, सन्तान भएनन् । गर्भ बाँझो भयो । बुढेसकालमा पाल्ने सन्तान भएनन् ।

प्राण धान्ने मेलो खोज्दै वृद्धाश्रममा आइपुगेकी रहिछन् । उनको कथा यत्ति हो तर यसभित्रका व्यथा धेरै छन् ।

‘हेर बाबु हो, म कोसँग के गुनासो गरौं, गुनासो सुन्ने पनि मेरा कोही छैनन्,’ बूढीआमैले खुइय्य सुस्केरा छाडिन् ।

छेवैकी अर्की वृद्धा उनलाई हातको इशाराले ‘चुप लाग्न’ संकेत गर्छिन् । ती वृद्धाचाहीं हेर्दा फूर्तिली देखिन्छिन् । औसतभन्दा निकै होचो कदकी । अनुहार खुम्चिएर मुजामुजा परेको । गहिरो आँखा । उनी हामीतर्फ पनि दृष्टि घुमाउँछिन् र ‘चुप..चुप’ भन्ने संकेत गर्छिन् । उनको मुहारलाई हामी आफ्नो क्यामेराको फ्रेमभित्र राख्छौं ।

वृद्धाश्रममा हुँदा नै उनका दुई छोरा जन्मिए । एउटा छोरा शहरमै कतै छन्, अर्का छोरा बिहे गरेर अमेरिकातिर लागेका छन् । पत्नी रोगले थलिइन् र वृद्धाश्रमभित्रै प्राण त्यागिन् । अहिले उनीसँग मनको बात मार्ने कोही छैन ।

‘के भन्नु, कसलाई भन्नु ?’ त्यसै त भासिएको स्वर, त्यसमाथि साउतीको भावमा उनी भन्छिन्, ‘यस्तै हो, चुप लाग ।’

तैपनि, हामीसँग शुरुमा कुराकानी गर्ने वृद्धा चुप लाग्दिनन् ।

कसैले सुन्छ कि भनेजस्तै गरेर भन्छिन्, ‘कोही बिस्कुट ल्याइदिन्छन्, कोही के । सबै उनीहरूले राख्छन् । उनीहरूले खटाएर १÷२ टुक्रा दिन्छन् । के हामी पशु हौं ?’

यति भन्नासाथ उनी फेरि ‘चुप लाग’को शैलीमा हातले ओठ छोप्छिन् ।

अर्की वृद्धाचाहीं भक्तपुर दधिकोटतिरकी रैथाने रहिछन् । उनको पनि सानैमा बिहे भएछ । बिहे हुँदा उनले त्यसको अर्थ नै बुझेकी थिइनन् । पतिको घर पुगेर माइत फर्किइन् ।

त्यसबेलाको चलन नै त्यस्तै । माइतबाट पुनः पतिको घर पुगिन् । सन्तान भएनन् । पति जवान भए । उनले अर्कै केटी भित्र्याए । उनीहरूबाट सन्तान जन्मियो । अनि, उनलाई पाखा लगाइयो ।

छेवैमा गाईवस्तु पालेर बस्न थालिन् । जग्गा थियो । ओत लाग्ने छानो थियो । तर, अर्कैको कोखबाट जन्मिएका छोराले त्यसमा लोभ गरे । उनले जबर्जस्ति जायजेथा लिन चाहे ।

मुद्दा पर्यो । वृद्धाले मुद्दा त जितिन् तर मन हारिसकेको थियो । बुढेसकालमा धन सम्पतिको लोभ त्यागिन् । उनै छोरालाई भएका सबै सुम्पिएर वृद्धाश्रममा आइपुगिन् ।

‘पेवापात गरेको पैसा थियो,’ जोशिलो स्वभावकी ती वृद्धा भासिएको स्वरमा भन्छिन्, ‘बाहिर गएर यसो चियाको तलतल मेट्न पाइन्थ्यो । अहिले सबै सकियो ।’

बिटुलीयो छोराको सपना

एक ८० वर्षे वृद्ध भने हामीसँग दुःखलाग्दो कथा सुनाउँछन् ।

‘छोरो जन्मिएपछि खुशी भइयो । खेलाइयो, खुवाइयो, हुर्काइयो । अहिले पनि बेलाबखत त्यो सपना देख्छु, छोरो खेलाएको । तर, देखेर के गर्नु ? छोरो आफ्नु भइदिएन,’ उनी भन्छन् ।

हुर्के, बढेका छोरा फेरि फर्केर आएनन् । हाड(नशा कमजोर हुँदै गरेका पिताको दुःखसुख सोधेनन् । बिहे गरेर बुहारीसँगै गए । कता गए ? उनले अत्तोपत्तो पाएनन् ।

उनकी एउटी छोरी थिइन्, बिहे गरेर पठाए । श्रीमती बिरामी भइन् । उपचार गर्दागर्दै भएको पैसा सबै सकियो । श्रीमती पनि बितिन् । ती वृद्ध एक्लै परे । गरिखान गाह्रो भयो । बिरामी भएर लडे । अनि, साथीभाइले ‘बूढा मान्छेलाई हेर्ने कोही भएनन्, तातोपानी ख्वाउने पनि भएनन्’ भन्दै वृद्धाश्रम पुर्याएका रहेछन् ।

छोरीको पनि आफ्नै दुःख छ । आफ्नै लालाबाला हुर्काउन गाह्रो । रोगी पितालाई चाहेर पनि पाल्नसक्ने अवस्था छैन, उनको ।

‘यस्तै हो बाबु, अब भगवानबाहेक मेरो कोही छैन,’ उनी भक्कानिएर रुन्छन्, ‘संसार यस्तै रहेछ ।’

पाखुरीमा तागत छँदा उनले सागसब्जी, चिया र लत्ताकपडाको व्यापार गरेका रहेछन् ।

‘त्यसबेला म ५० रुपैयाँ भाडा तिर्थें, अहिले हजार रुपैयाँ तिर्दा पनि राम्रो कोठा पाइँदैन । यहाँ आएर बसिएको छ । यहाँ पनि अनेक चलखेल छ । नाकाबन्दी छ । ढोका लगाउँछन् । सरकारले नियम बनाएको रे । नियम पनि कस्तो ?’ वृद्धा आँसु पुछ्दै सम्हालिन खोज्छन् ।

घरजम भयो, सन्तान भएनन् । बुढेसकालमा पाल्ने कोही भएनन् । प्राण धान्ने मेलो खोज्दै बूढीआमै वृद्धाश्रम आइपुगेकी रहिछन् । वृद्धाश्रममा कसरी आफूहरूलाई खुम्च्याइँदैछ भनेर उनी बेलिबिस्तार लगाउन थाल्छन् ।

‘दाताले दिएको सम्पत्ति, उसैले बाँड्न नपाउने रे । भन्न केही सकिँदैन । गर्न सकिने होइन । हिँड्न सकिँदैन । दुःखमा परिएको छ । त्यस्तैउस्तै हो । अब प्राण जान मात्र बाँकी छ,’ यसबीचमा उनी पटक(पटक भनिरहन्छन्, ‘संसार यस्तै रहेछ ।’

रोमान्टिक बूढा

छोरो जन्मिँदा बाबु आमाको खुशीको पारो चढ्छ । छोराले बैतरिणी तारिदिने विश्वास गरिन्छ । अधिकांश अभिभावक ठान्छन्, छोरो बुढेसकालको सहारा, वंशको बीउ ।

हामीसँग भलाकुसारी गरिरहेका अर्का एक वृद्धसँग भने अब त्यो भ्रम रहेनछ । चार भाइ छोरा थिए । माइलो हिमाल चढ्न गएका थिए, उतै शेर्पिनी कन्यासँग विवाह गरेर बसेछन् । छोराछोरी जन्माएछन् । शेर्पिनीसँगै उनी घरज्वाइँ बसेछन् । अरु छोरा कहाँ छन्, के गर्दैछन् उनलाई खासै चासो छैन । दुःखेसो पनि छैन ।

ती वृद्ध ‘रोमान्टिक’ रहेछन् । आफूले आफ्नै तारिफ गर्छन्, ‘यहाँ सबैले झ्याउसे बूढा भन्छन् । तर, म सबैकुरा जान्दछु । कुरा गर्न जानेको छु ।’

उनको भनाइ सदर गर्ने हो भने, पहाडमा उनी सबैको मान्य थिए ।

‘भैंसीले दूध दिएन भने, गाइले दूध दिएन भने, आइमाइले‘,’ उनी भाषा सच्याउँदै भन्छन्, ‘आइमाइको दूध सुक्यो भने सबै ठीकठाक पार्छु । अरु कसले सक्छ ?’

उनलाई अझै गाउँको धङधङीले छाडेको रहेनछ । भन्छन्, ‘यहाँ को बस्छ, उतै जान्छु । तर, बेला भएको छैन ।’ वृद्धाश्रमको दालभातमा उनको स्वाद भिजेको रहेनछ ।

‘खुर्सानी दिन्छन्, पिरो छैन । अचार दिन्छन्, खुर्सानी हालेको छैन । हाम्रो त खुर्सानी, नुन सबै मिलाउँछन् बुहारीले,’ उनी कड्किन्छन् ‘यहाँजस्तो हो र ?’

‘त्यसो भए गाउँमा आरामले नबसेर किन यहाँ आउनुभयो ?’ हाम्रो प्रश्न ।

‘त भन्दैछु त, मुद्दा परेको छ,’ उनी हामीमाथि एकाएक आक्रामक हुन्छन्, ‘के तपाईंले मुद्दा छिनिदिनुहुन्छ ?’

खासमा, उनलाई झोंक चल्नुको कारण अर्कै रहेछ । झारफुक गर्ने बहानामा महिलामाथि दुव्र्यवहार गरेको आरोपमा उनीविरुद्ध मुद्दा परेको रहेछ । हामी उनलाई मत्थर बनाउने प्रयास गर्छौं । त्यसपछि भने उल्टै हाम्रो अन्तर्वार्ता लिन्छन् ।

‘कति पढेका छौ ? दश किलास पास गरेका छौं ? जागिर छ ? कति(कति पैसा कमाउँछौ ? एक महिनामा ? दश बाह्र हजार ?’ उनी प्रश्नमाथि प्रश्न गर्छन् ।

हाम्रो जवाफ सुनेपछि उनी मुस्कुराउँदै भन्छन्, ‘दिएछ, दिएछ । त्यति भए त भैगो नि ।’

चिसा चिसा रातहरू

हाम्रो कुराकानी जारी रहेकै बेला अर्का एक वृद्ध छामछुम गर्दै बाहिर आउँछन् । उनलाई पिसाबले च्यापेछ । उनको हातमा लठ्ठी छ । त्यही लठ्ठीको सहारामा उनी केही मिटर परको शौचालयसम्म जान्छन् र शौचपछि पूर्ववत् स्थानमा फर्किन्छन् ।

ती वृद्धले सानै छँदा दुवै आँखाको दृष्टि गुमाएका रहेछन् । काठमाडौं नजिकैको घरबारी भएर पनि उनले गरिखान सकेनन् । विवाह गरे, घरजम गरे । तर, भरपेट खान पाएनन् । अनि, पति(पत्नी दुवै वृद्धाश्रमसम्म आए । त्यसपछि उनीहरू कहिल्यै बाहिर निस्किएनन् ।

वृद्धाश्रममा हुँदा नै उनका दुई छोरा जन्मिए । एउटा छोरा शहरमै कतै छन् । अर्का छोरा बिहे गरेर अमेरिकातिर लागे । पत्नी रोगले थलिइन् । र, वृद्धाश्रमभित्रै प्राण त्यागिन् । अहिले उनीसँग मनको बात मार्ने कोही छैन । ‘स्वास्नी हुँदा ओछ्यान न्यानो हुन्थ्यो । अहिले ज्यान तातिँदै तातिँदैन,’ उनी भन्छन् ।

उनले पर्खालबाहिरको संसार चिहाएका छैनन् । तर, हालखबर सबैको राख्दा रहेछन् । पुष्पकमल दाहालका छोरा किन बिते, निर्वाचनमा को कहाँबाट लडे, कुन नेताले के भन्छन् ? सबै कुरा उनलाई थाहा रहेछ ।

त्यसभन्दा गजब त के भने, उनलाई वृद्धभत्ताको व्यवस्था कुन पार्टीका, कुन नेताले, कहिले, कति गरे भन्नेसमेत कण्ठस्थ छ । क(कसले, कतिकति भत्ता बढाउँदै लग्यो भन्नेबारे एकएक हिसाबकिताब छ, उनीसँग ।

‘उमेर र पाखुरी छँदा हामी सबैकुरा भुलेर मदमस्त हुन्छौं । वृद्धवृद्धाको ख्याल गर्दैनौं । भोलि आफू त्यही अवस्थाबाट गुज्रिएको दिन सबै चेत खुल्छ । तर, त्यसबेला आफूसँग केही गर्ने समय, ताकत र भर हुँदैन ।’ सारमा यति भनेर उनी ओछ्यानतिर लम्किन्छन् ।

‘सबैले बूढो हुनुपर्छ, मर्नुपर्छ । सबैको व्यथा उही त हो,’ जाँदा जाँदै उनी सुसेल्छन्, ‘न सकिन्छ गरीखान, न सकिन्छ मरीजान, बुढेसकालैमा‘।’

-सुरेश भुसाल\शिव मुखिया

‘अनलाइन खबर’ २०७४ मंसिर २९ बाट