बाँच्नुपर्छ जीवन सबले बनी लाँकुरी
बाँच्नु हुन्न जीवन कहिल्यै बनी माकुरी ।

आफ्नो जालो आफैं बुनी फेरि खानुहुन्न 
चौतारीको शितल खोज्दा ज्यानै जानुहुन्न 
विना श्रम पसिनाको कमाइ विष हुन्छ
जीवन बाँच्ने शब्द पानी मान्छे आफैँ थुन्छ ।

आफ्ना ठान्न सके चोखो शब्द आफै बोल्छन्
हृदयका मीठा धुन ओठबाटै खुल्छन्
मान्छे जति सधैं भन्छन् बनूँ बाँसुरी
विश्वासमा पैह्रो जाँदा बन्छन् माकुरी ।

गम्न खोजे सपनाको जीवन मधुर प्याला
बाँच्न खोजे नजरको दिनभरको ज्याला
ज्याला हेरि हाँस्नुपर्ने जीवन सपना
प्याला हेरि पिउनुपर्ने जीवन विपना ।

न्यानो न्यानो मुटुभित्र गीतहर गाउँदै
आँखाभरि छातीभरि प्रीतहरू लाउँदै 
किरणका झल्कासँगै त्यही मानिस हाँस्छ 
सधैभरि धर्तीलाई पुजेर जो बाँच्छ ।

सङ्घर्षका कोटि पाइला मान्छे हुन बाँचे
धर्ती–आकाश एकै पारी इन्द्रेणी भै नाचे 
सूर सुधा जगाउँदैछ जीवन कहानी 
कोपिला भै फेरी आज फूल्यो जवानी ।

बाँच्नुपर्छ जीवन सबले बनी लाँकुरी
बाँच्नु हुन्न जीवन कहिल्यै बनी माकुरी ।