राजनीतिको सूत्र
चुनाव उत्कर्षमा थियो । उमेद्वार थिए नेताजी संकटानन्द । {{read_more}} अचानक नेताजीका भित्रिया सहयोगी जनक प्रसादको हत्या भयो ।
ठूलो जुलुस निस्क्यो । जुलुसको नेतृत्व संकटानन्दले गरेका थिए ।
“जनक प्रसाद अमर रहून्”
“हत्यारा प्रतिपक्षी, बदला लिन्छौँ लिन्छौँ”
जुलुस श्रद्धान्जली सभामा परिणत भयो । शोक मन्तव्य दिने बेलामा संकटानन्द ग्वाँग्वाँ रुन थाले । र आँशु पुछ्दै भन्न थालेः
“मेरो मुटु चुँड्नुभन्दा बरु मलाई मार्नु नि कायरहरूले । देशले एक इमान्दार व्यक्ति गुमायो । उहाँको नाममा म अस्पताल बनाउने छु”
यति भन्दाभन्दै उनी मुर्छा परे । पानी छम्केर बल्ल होसमा ल्याए ।
चुनाव जितेर घर आए संकटानन्द । थाकेका थिए । बैठक कोठाको भित्तामा उनको र जनक प्रसादको अँगालो मारेको ठूलो फोटोलाई एकाग्र भएर हेर्दै थिए । सोफामा नै झकाए छन् ।
उनी तन्द्रामा बर्बराइ रहेका थिएः
“ए युद्धे र जंगे, डाँडो काट्यौ होइन ? के ठेगान ? तिमीहरू पनि त गुन्डा नै हौ नि । गुन्डाको के भर ? जसले धेरै पैसा दिन्छ उतै लागि हाल्छौ”
एकछिन सुस्ताउँथे अनि फेरि बर्बराउँथेः
“मलाई माफ गर यार, अरु उपाय थिएन । तिम्रो सहानुभूति भोटले मात्र जितियो । तिम्रो कुरवानी म भुल्ने छैन”
नेता पत्नीले उनलाई झकझकाएर उठाइन् र भनिन्ः
“हजुर कति बर्बराउनु भएको ? उठ्नु चिया खाने बेला भयो । चुनाब जितेको ठूलो थकाइ लाग्यो हजुरलाई । अहिले जनक प्रसाद बाबु भएको भए कति खुसी हुनुहुन्थ्यो । के गर्नु ? मारि हाले असत्ति कायरहरूले । भर्सेलो परोस् हत्याराको । सत्यानास होस्”
५ डिसेम्बर, २०१७
साल्टलेक सिटी, अमेरिका