केही वर्ष व्यापार गरिहेरो, काम लागेन । उल्टै ओह्रालो लागियो । डान्स रेस्टुरेन्ट पनि चलाएँ, डुब्यो । बालुवाको डिपो थियो, बाँकी लगेर ठेकदारहरू भागे । म्यानपावर कम्पनीको आमदानी राम्रै थियो । चलेकै थियो राज्यको फ्रि भिसा नीतिले हेरेको हेर्यै बनायो । नाकाबन्दीमा व्ल्याकमा तेलको व्यापार राम्रै भए पनि त्यो टिकिरहन पाएन । 

लोडसेडिङलाई लक्ष्य गरेर खोलेको इन्भटर पसल बत्तीकै कारण बन्द भयो । त्यसबेला मालामाल भएको मैनवत्ती उद्योग पनि लोडसेडिङ अन्त्यसँगै सिद्धियो । अब के गर्नेै त भनेर पुर्पुरामा हात लाएर बसेकै बेला एकजना मास्टर टुप्लुक्क आइपुगे । किन के भयो भनेर निकै खेरखार गरेपछि मैले पनि मनको बह पोखो । गरिखाने बाटा बन्द हुँदै आएकाले निराश भएको बह फोएँ । म जस्तो विशेष मान्छे मास्टरका अगाडि रोएँ ।

उनले सोधे अंग्रेजी बोल्न आउँछ ? 
मैले भनँे, आउँछ नि कक्षा दशसम्म कम्पलसरी अंग्रेजी पढेकै हो क्यारे । 
अब व्यवसाय गर्ने पैसा कति छ ? 
जम्मा पाँच लाख, के गर्ने गर्ने म त हैरान भइसको भन्या । 
ल आउनु होस् मसँग ।
कहाँ आउने ? मैले आशाका नजरले हेरँे 
मेरो वोर्डिडमा । उसले जवाफ दियो ।
म केही बोल्न नपाई उही बोल्यो, यसको मूल्य एक करोड छ । त्यसमा तपाईँ १० प्रतिशत सेयर लिएर आउनुहोस् । म सञ्चालक समितिको सदस्य बनाउँछु । दिनको दुईटा पिरियड जिके पढाउने अनि स्कुलको हेरचाह गर्ने जिम्मा तपाईंको । तपाईँ राजनीति पनि बुझेको मान्छे चन्दा माग्नेलाई गफ दिएर पठाउने । नदिइ नहुने भए दुई चार सय दिएर दुई चार लाखको काम स्कुललाई मिलाउने । स्कुल चलाऊँ । अहिले यो व्यापार जग्गाको कारोबार भन्दा गजब छ । म्यानपावर भन्दा माथि छ । मान्छेले शिक्षासेवा देख्छन् यता ठूलो व्यापार पनि हुन्छ ।  तपाईँले पहिला केके केके गरेर कमाएको सम्पति पनि सुद्धीकरण हुन्छ । शिक्षासेवीका रुपमा सम्मान मिल्छ । अरु उपव्यवसाय पनि हुन्छ ।

म अलमल्ल परिरहेको थिएँ । एस.एल.सी.मा सात पटक फेल भएको मान्छे कसरी स्कुल त चलाउने ? फेरि स्कुलको रेखदेख र मानिसहरूसँगको भेटघाटमा भेउ पुगेन भने । ल भैगो ! जिके त किताब हेरेर पठाउने फेरि कसैले थाहा पाए भने ? म केही बोल्न सकिनँ । तत्काल केही जवाफ नभए जस्तो रित्तो भएँ । त्यति रित्तो म कहिलै भएको थिइनँ । 
मेरो दयालाग्दो अबस्था देखेर मास्टर साथी भन्दै गयो । तपाई हामीले एस.एल.सी.सम्म मात्र पढेर के भो त, डिग्री पासहरू हात जोड्दै जागिर माग्न आउँछन् । यसो ठुल्ठुला मान्छेका छोराछोरी भर्ना गरियो भने उनीहरूलाई माध्यम बनाएर मालामाल गर्न सकिन्छ । डे बोडर्सको व्यवस्था छ । पूर्ण बोडर्सको व्यवस्था छ । यहाँभित्र कमाइको त कुरै नगरुँ । कस्तो कमाउन सकिन्छ भन्ने कुरा प्रवेश गरेपछि थाहा हुन्छ । उसले अरु पनि धेरै कुरा गर्यो । मलाई राम्रैसँग कन्भिन्स गर्यो । ती सबै कुरा यहाँ नगरुँ....

मलाई कुरा ठिकै लाग्यो । दश लाख लगानी गरेर बोर्डिडको सञ्चालक समितिको सदस्य बनँे । स्कुलको पूरै नाम त के हो थाहा भएन । वास्तवमा आफूले अंग्रेजी पढेको भए पो थाहा होस् पनि द। बोर्डमा आर. एस. एच. सी. डी.पी.बी. इन्टरनेसनल नब्मबर वान बेस्ट बोर्डिड स्कुल थियो । त्यसको नाम नसुन्ने मान्छे टोलमा कमै मात्र थिए । हजार जति विद्यार्थी थिए । यसो मिलाएर निस्कने र पस्ने बेलामा गेटको ढोका कम खोलेर पाँच हजार छन् भनेर हौवा लगाउँथ्यौँ । पाँच हजार मात्रै पो भनेर साथीहरू जिल्ल पर्थे । त्यो भन्दा बढी त सिटै छैन हामी सजिलै आफ्नो फुर्ती लाइदिन्थ्यौँ । बर्सेनी इन्ट्रान्सको मिति तोक्थ्यौँ र अभिभावकहरूलाई फर्म भराउँथ्यौँ । पहिला वर्षभरि जागिर खाएको जति पैसा त फर्म बिक्रीबाटै उठिहाल्थ्यो । विस्तारै यसको रस भिज्यो । मलाई यो व्यवसाय अन्य व्यवसाय भन्दा गजब लाग्यो । कि बाबुलाई साँचो कुरा भन्नु कि मास्टरलाई भन्नु भन्थे हो रहेछ । यी मास्टर साथीसँग भेट नभएको भए मेरो विजोगै भइसक्ने  । 

मेरो विजोग किन हुन्थ्यो र यो व्यवसाय गज्जब किन लाग्यो । त्यो कुरा सबैलाई भन्नु हुँदैन । दिउँसोको भात पनि स्कुलमै खुवाउन थालेपछि एउटा होटलको भन्दा राम्रो आमदानी भयो ।  बच्चा बच्चीले यसो एक पुन्यौँ लिन्थे खाँदै खाँदैन थे । चामल तरकारी कम खर्च हुने अभिभावकबाट पैसा चाहिँ पुरै पाइने । एकै वर्षमा होटल खोल्नुभन्दा कता हो कता फाइदा  । भित्र दिउँसोको मेस चलाएकै हाँडाभाँडामा पाकेको खानेकुरा यसो बाहिर फर्किएको सटर खोलेर स्वतन्त्र ग्राहकलाई बेच्ने आइडिया पनि आयो । त्यसले झन् मालामाल  । .कर्मचारीले मित्री मेस पनि चलाइदिए बाहिरी होटल पनि चम्काइदिए । 

स्कुलका नाममा टेलरिङ पनि गज्जब चल्दो रहेछ । स्वास्नीलाई टेलरिड ट्रेनिङ गराएर त्यता राखिदिएँ । स्कुलमा कार्यक्रम भएका दिन उसलाई पनि मञ्चमै ठाउँ मिल्न थाल्यो । ऊ एकाएक लुगा सिउने मास्टर्नीबाट साँच्चै मास्टर्नी जस्ती भई । अभिभावकलाई एक हप्ता ड्रेसको बिल पठायो, अर्को हप्ता ट्याकसुटको बिल पठायो, अर्को महिना कराँतेको ड्रेस बनाएर बिल पठायो । त्यसको महिना दिनपछि ब्लेजरको बिल पठायो । अर्को महिना पातलो ट्राउजर पठायो । अर्को महिना जाडो बढ्यो भन्दै बाक्लो ट्राउजर पठायो, अझ अर्को हप्ता भित्री काछी र स्यान्डोको बिल पठायो । अर्को हप्ता मोजा र पञ्जाको पठायोे । फेरि त्यही क्रम रिन्यु गर्यो । एउटै बच्चाबाट वर्षको आधा लख उठ्ने भन्या । काइदा कस्तो पर्दो रहेछ भने पाँच रुपैयाँको टाइको दाम पाँच सय । पच्चीस रुपैयाँको बेल्टको दाम आठ सय । पन्ध्र रुपैयाको मोजाको दाम दुई सय पचहत्तर, पैतिस रुपैयाको पञ्जाको दाम तीन सय पचहत्तर । पचहत्तर रुपैयाको जुत्ताको दाम हजार पचहत्तर । एकातिर यस्तो मुल्य अर्कातिर वर्षेनी बाँसको तामा बढेझैँ बढ्ने केटाकेटीलाई लुगा बेच्न पाउनु जतिको गजब व्यवसाय अरु केही हुने रहेनछ । .......

बोर्डिडको उपव्यवसायका रुपमा होस्टल पनि गज्जब हुँदो रहेछ । स्कुलकै किचन प्रयोग गरेपछि केही बासी पनि रहेन । रहलपहल कुरा केही नास पनि भएन । लाइन लाएर स्कुलकै किचनमा ल्याएर खुवायो । होस्टलका भर्याङ जस्ता ओछ्यानमा सुतायो । एउटै कोठामा सत्तरी पचहत्तर केटाहरू र अर्को एक कोठामा सत्तरी पचहत्तर केटी राखे छुट्टै कमाई हुन थाल्ने भन्या । होस्टल वार्डेन र अरु कामका लागि आफन्तलाई जागिर खुवाउन मिल्ने । टाढा भएका अभिभावकसँग उपचार खर्च, सञ्चार खर्च आदि शीर्षकमा मोटै रकमको बिल बनाउन पनि पाइने । बच्चासँग कुरा गराइदिनु पर्यो भनेर आफ्नै मोवायलमा पो व्यालेन्स थपिदिन्छन् भन्या । नेपालीसँग जति पैसा संसारमा कोसँग होला ? बोर्डिङको उपव्यवसायका रुपमा यताबाट पनि निकै राम्रो फाइदा भयो ।  

बोर्डिङको अर्को उपव्यवसाय पनि चल्यो पुस्तक पसल । पुस्तक प्रकाशकले लेखक निचोरेर पसलेलाई तीस पैँतिस प्रतिशत दिँदा रहेछन् । बोर्डिङले सोझै उठाएर ल्याएपछि त्यो अफ्नै भइगयो । बच्चा बच्ची र तिनका बाबुआमालाई छुट हुन्छ भन्ने के थाहा ? छुटको थाहा आफूले पाइने बेच्ता पूरै मूल्यमा बेच्न पाइने । प्रकाशकले किताब लाइदिए बापत दिने कमिसन पनि आफ्नै, पुस्तक बेच्ताको मार्जिन पनि आफ्नै । त्यसमा स्टेसेनरी सामानको मूल्यमा झन् मालामाल । पाँच रुपैयाको डटपेन पचासमा, पन्ध्र रुपैयाको कपी पचहत्तरमा, दुई रुपैयाको ग्राफ बीस रुपैयामा, दश रुपैयाको कलर सय रुपैयामा । त्यसमा पनि डबल लाइन कापी, सिंगल लाइन कापी, लाइन कापी, सादा कापी, ग्राप कापी, ड्रोइड् कापी । तिनको विक्री र मार्जिनको कुरै नगरुँ । मलाई त अहिले यतिका बर्ष के बुद्धिले अर्को व्यवसायमा लागिएछ भन्ने हुनुु पछुतो भएको छ । 

बोर्डिङ सञ्चालक भएपछि अर्को उपव्यवसाय पनि चलाउन मिल्दो रहेछ । त्यो उपव्यवसाय भनेको लेखक हुने । यसो बजार बुझेर विद्वान् खालको साथीलाई जागिर दियो । अनि उसलाई आफ्ना अफिसमा बोलाएर सल्लाह गर्यो । लौन हामी कति अरुका मात्रै किताब चलाउने आफै छाप्नु पर्यो भन्यो । उसले लेख्छ आफू सम्पादन गर्छु भनेर दुईचार दिन ल्याएर घरमा राख्यो । अर्को अलिपरको मास्टर बोलाएर कहाँ कहाँ गल्ती छ भनेर रातो लाउन लगायो । यो मैले हेरेँ यसो गरुँ भन्यो । किताबमा आफ्नै नाम भँगेरा टाउके अक्षरमा छापिने । अनि सामाजिक प्रतिष्ठाको कुरो पनि भइहाल्ने । राज्यले कुन लेखकले कति पढेको छ भन्ने हेर्ने होइन । सबैले विद्वानले नै लेख्यो होला भन्छन् पढाउँछन् । यसो बोर्डिङका मास्टर हेडमास्टर भेला पारेर वियर र कुखुराका साँप्रा खुवाएपछि किताब लाइदिई हाल्छन् । यो अर्को उपव्यवसाय चकाचक । त्यो मूल लेखक मास्टरलाई दुई चार पैसा दियो अरु आफै झ्वाम । शैक्षिक संगठनहरूमा कुरा गर्यो, विषय शिक्षकलाई भेट्ता एक कप कालो चिया खुवायो सधैँ आफ्नै नाम भएको किताब पढाउँछन् । कसैले फोन गरेर यहाँ बुझिएन के हो भनेभने अहिले व्यस्त छु भन्यो पछि त्यो फोनै नउठायो । लेखक जस्तो मान्छे व्यस्त पनि भइ त हाल्छ नि । 

बोर्डिङ सञ्चालक भएपछि अर्को उपव्यवसाय झन् फस्टाएको छ । त्यो हो विदेशी भाषालाई अतिरिक्त पढाउने । छिमेकी र अलि परका मुलुकको भाषा पढाइदिएबापत एउटा मास्टर र वर्षको दश बीस लाख त्यसै दिँदा रहेछन् । त्यस बाटाबाट विदेश भ्रमण पनि गरिने मुख पनि फेरिने । मेरा घरको ठूलो टिभी र त्यो विशेष कम्प्युटर छिमेकी मुलुकले स्कुलका लागि दिएको उपहार हो । अझ यस स्कुलमा अहिले बीस पच्चीस विदेशीले उनका नाममा छात्रवृत्ति राख्ने गरी करोड जति डोनेसन गरेका छन् । उनीहरू आउने होइनन् । हाम्रो भाषा पनि बुझ्ने होइनन् । यसो कागज मिलाएर पठायो । राम्रा राम्रा केटाकेटी र उनका अभिभावकको फोटो खिचेर पठायो । यता घरको तला थप्यो । अरु उपव्यवसाय पनि छन् तर भन्न मिल्ने र नमिल्ने । नमिल्ने कुरा गरेर आफैलाई खाल्डामा पार्नु छैन । 

यस व्यवसायमा बुद्धिले काम गर्नु पर्दो रहेछ । बुद्धि पनि कस्तो भने बुद्धि भएकालाई पङ्गु बनाउँदै बुद्धि नभएकालाई बुद्धि दिने । मास्टर मास्टर्नीलाई दुईचार वर्षभन्दा बढी राख्यो भने भाउ खोजिहाल्छन् । यसो बहाना बनाएर निकाल्यो अर्को नयाँ जागिरले रुखिएको मान्छे ल्याएर दल्यो । यसको समस्या भनेकै पुराना र अनुभवीलाई बाइ बाई नयाँहरूलाई हाइहाइ हो । त्यसो गर्न सके न तलब बढाइरहने चिन्ता न  आफ्ना कमजोरी अरुले थाहा पाइरहने चिन्ता । भन्न शिक्षासेवा भए पनि यो त निजी व्यवसाय हो नि । यसमा राज्यको भन्दा हाम्रो दायित्व बढी छ । यद्यपि कहिलेकाही बुद्धि नपुगेर विद्वान्का अगाडि परिन्छ र फसिन्छ । म चाहिँ अहिलेसम्म यस्तो फसादबाट पनि उम्किएको छु । 

यस व्यवसायको अर्को सजिलो पक्ष विद्यार्थी फेलै नहुने । जस्तो लेखे पनि माक्र्स सिटमा मिलाएर पठायो । अभिभावक मख्ख । नत्र ता योग्य मास्टर कसरी पाल्नु । आफूले राम्रो गरेपछि केटाकेटी पनि राम्रै गर्दा रहेछन् । कोही कोही त दक्ष बनेर पनि निस्किएका छन् भन्या । यसो हस्तलेखन चाहिँ राम्रो बनाइदिनु पर्छ अरु त आफै जानिहाल्छन् । मिलाएर एस. एल.सी कटाइदियो पुग्यो । 

मलाई यता आएपछि खुब फाप्यो भन्या ।  समाजमा छुट्टै प्रतिष्ठा बढ्यो । समाजले शिक्षासेवीका रुपमा आदर गरेर घरमा सम्मानपत्र राख्ने ठाउँ छैन । शिक्षक संगठनमा आफै, विद्यालय संगठनमा आफैँ, शैक्षिक संगठनमा आफैँ । मिटिड्का मिटिड । भोजका भोज एउटै गाडी चढेर जान पनि झ्याउ । फरक फरक ब्रान्ड र रङका गाडी चढेर मिटिङ एटेन्ड गर्ने गरेको छु । जतासुकैकबाट बाइबाइ भइसकेको मान्छे एकाएक सबैको हाइहाई । परिवारको हाइहाइ, आफन्तको हाइहाइ, समाजको हाइहाइ । मलाई त यो व्यवसाय बेलामा सुरु नगरेर अन्त अन्त भौतारिएकामा आफैसँग रिस उठ्न थालेको छ । 

यो व्यवसायमा प्रवेश गरेपछि । म पनि एक दुई शब्द अंग्रेजी बोल्न जान्ने भएँ । कहाँ केटाकेटीसँग मात्र बोल्नु भाषण गर्दा एक दुई अंग्रेजी शब्द मिसाएपछि त सबै मख्ख । तीनै केही शब्दले गर्दा विद्वान्हरूले मान्न थाले भन्या । अंग्रेजीका दश हजारे डिग्री पास मास्टर त हाम्रा अण्डरमा सात दशजनै थिए । कति मास्टर्नीहरू हाम्रा सान देखेर यसो नजिकिन खोज्ने । यस्तो राम्रो व्यवसाय अरु के हुनु । कमाइमा कमाइ, मानमा मान, सानमा सान, इज्जतमा इज्जत । आफूसँगै राखेर पढाउँदा बिग्रलान् भनेर छोराछोरीलाई चाहिँ अर्कै स्कुलमा राखिदिएको छु । 

अब मसँग नभएको एउटै कुरा हो शैक्षिक योग्यता । वास्तवमा प्राइभेट शिक्षासेवामा त्यसको के काम । एउटा साथीलाई भनेर छिमेकी देशका विश्वविद्यालयबाट एउटा प्रमाणपत्र पनि ल्याएकै छु । अब पाटीका साथीहरूसँग पनि राम्रै छ । यसपटक भनेजति चन्दा दिन सको भने समानुपातिक सांसदमा मेरै नाम पक्का । मलाई यस व्यवसायमा ल्याउने मास्टर साथीलाई अकेकौँ बधाई । वा बोर्डिङ, क्या बोर्डिङ । 

वानेश्वर क्याम्पस, काठमाडौँ
rshubechchhu11@gmail.com