नेपाली कमिनिष्ट इष्ट–जन हो, धोका नदेउ अब 
बन्द्यौ बज्र समान सङ्गठनमा, फुट्दै नफुट्द्यौ अब ।
चर्काे दम्भ–अहम् पछार दुइले, लोभी र पापी नभै 
घूसैघूस र दाम जो लिन गयौ, फिर्ता गरे है सबै ।।

छोडी लालच–मोह–क्रोध अहिल्यै, जोगी महात्मा बन 
जे छन् सम्पति बैँकका नगद ता, लुक्ने नहोस् है अव ।
सच्चा सेवक बन्न आँट नभए, कुर्लेर के हुन्छ र ?
बासी जीर्ण स्वभाव नै हुन गए, फुर्केर के हुन्छ र ??

गोटी बन्न हुँदैन है विगतका, चर्का गरी भाषण 
खोटी बन्न हुँदैन बुझ्झक बने, चिप्लन्छ रे आसन ।
वैदेशी जनले घुमाउन यहाँ, सक्छन् चनाखो बन 
लोकैतन्त्र समाउँदै हिँड सधै, षड्यन्त्र चिर्छू भन ।।

छोड्द्यौ रे जडसूत्रवाद सजिलै, हाँस्द्यौ प्रजातन्त्रमा 
आफ्नो धर्म–प्रथा र सम्स्कृति लिँदै, नाच्द्यौ प्रजातन्त्रमा ।
मालेवाद– पखाल फाल युगले, सत्कार गर्दैन रे 
थोत्रा क्रान्ति रटेर राज्य अब ता, चल्दैन चल्दैन रे ।।

धादिङ