उसो त आसन भन्दा बसाईको थिति, तरिका वा जुक्ति भन्ने बुझिन्छ । यहाँ मानिहरूको आसनको कुरा गर्न लागिएको छ । मानिसको आसन चौरासी तरिकाका हुन्छन् भन्ने सुनेको हो । यसउसले मानिसका आसन विभिन्न नै हुने गर्दछन् । कोही कुर्सी आसनमा, कोही पलेटी आसनमा, कोही घोप्टे आसनमा, कोही कोल्टे आसनमा त कोही ठिङ्गे आसनमा पनि विराजमान हुने गर्छन् । विराजमान भन्ने वित्तिकै फेरि आसनको नयाँ स्वरुप भन्ने बुझिएला तर यो भने आसनको नयाँ रुप नभएर मेजमान खाएर आनन्दसँग आसन जमाउनेहरूलाई भनिने आदरार्थी शव्दमात्रै हो ।

यसैसँग जोडिएर आएको अर्को आसन पनि छ योगासन । योगासन भन्नासाथ योगीहरूको बस्ने तरिका होला भन्नुहोला तर हैन भन्ने बुझ्नुस् । योगासन भनेको विभिन्न तरिकाले गरिने स्वास्थ्य अभ्यास वा कसरत गर्ने तरिका हो भन्न खोजिएको छ । वलासन, हलासन, शीर्षासन, सूर्यासन, उत्तानासन, सर्वाङ्गासन, वायुमुक्तासन, पद्मासन अनि चक्रासन के के हो के के । यी विभिन्न आसनका आआफ्नै विशिष्ठता छन । हरेक आसनले मानिसका स्वास्थ्यमा हरेक योगदान दिएकै हुन्छन् तर जान्नु चाहिँ पर्छ है फेरि । नजानी नजानी गरेको योगासनले मान्छेको स्वास्थ्यलाई निर्वासनमा पु¥याउन बेर लगाउँदैन । अब निर्वासनै जानेगरी त के को योगासन गर्नु व्यर्थमा । व्यर्थमा गएको निर्वासनले व्यर्थमै सामथ्र्य गुम्न बेर लाग्दैन । “अर्थ न बर्थ गोविन्द गाई टाउको दुखेको औषधी नाईटामा लाई” हुन त गाईको न त नाम गोविन्द हुन्छ न त कसैले टाउको दुख्दा औषधी चाहिँ नाईटामा लगाउँछ तर यो त उखान मात्र न हो । अब उखानको नै बखान त के गरिहालौं खै तैपनि कहिले काहीँ संयोग यस्तै पर्नजाँदो रहेछ । तिखे हुनलाई सिंग नै हुनुपर्ने र झड्का हान्नलाई पिङ्ग नै हुनु पर्दैन । सिंग नहुने तिखेहरू र झड्का हान्ने लिखेहरू प्रसस्तै भेटिन्छन् ।  

आसन र योगासनको त धेरै कुरा थाहा छँदैथ्यो धेरै समयदेखि यो अनसन भन्ने आसनको पनि व्यापक चर्चा सुनिन थालेको छ । यो अनसन त आसन र योगासन भन्दा पनि उत्कृष्ठासन रे नि त । यो आसन गर्नेहरू अन्न खाँदैनन् रे सुतिरहन्छन् रे । अन्न नखाएकोले त यो विनाअन्नासन हुनुपर्ने हो तर खै किन हो यसलाई अन्नसन नै भन्दारहेछन् । यो सनले ठूला ठूला डनहरूलाई फनफन घुमाईदिन्छ रे । “अर्थ न बर्थ गोविन्द गाई टाउको दुखेको औषधी नाईटामा लाई” फेरि उही उखान । हैन कसले के ग¥याछन्, कस्ले के खाएका छन्, कस्ले कति पढ्याछन् अनि कस्ले कति ठग्याछन् भन्ने यो आसन गर्नेलाई कसरी थाहा हुन्छ हो ? अचम्म । फेरि आफ्नो अगाडि भएको वेथिति चाहिँ थाहा पाउँदैनन् कि थाहा पाएर पनि आफ्नो कुरा अरुलाई किन थाहा दिने भनेर चुप लाग्या हुन् । कुरो बुझिनसक्नु छ । कहिले विश्वविद्यालयको कुरा, कहिले मेडिकल विद्यार्थीका कुरा, कहिले भुसका कुरा, कहिले घुसका कुरा, कहिले व्याएको कुरा त कहिले न्यायको कुरा सबै नै समेटेको छ यो आसनले । अब हुँदाहँदा त नेतालाई नै ठरठेगान लगाइदिने गरि आसन गर्ने रे भनेको पो सन्दैछु । जे होस् यो आसन दह्रै रहेछ नत्र यत्रो आँट कसरी आउँथ्यो । 
मिति २०७४।१०।०२