म एउटा प्राइभेट कम्पनीमा काम  गर्छु । त्यहाँ मेरो डिउटी सोह्र घन्टाको मात्रै हो । बाँकी समय परिवार, समाज र राजनीतिलाई पनि दिने गरेको छु । {{reda_more}} साहित्यिक सांस्कृतिक संस्थाहरूलाई पनि समय दिएकै छु । परोपकार त गर्नै पर्यो । परोपकार पुण्यायं भन्ने त व्यासका छोराका पालादेखिकै चलन हो ।  कहिलेकाहीँ स्वास्नी रिसाउँछे किन ढिला घर आइस् भनेर । कहिले त अर्की स्वास्नी छ कि भनेर शंका पनि गर्छे । कुनै प्रेमिकाको शंका नगर्ने पनि होइन ।  तर म किन त्यस्तो हुन्थेँ । ड्युटी गरेको सोह्र घन्टापछि अर्कीसँग कुन आँटले बस्नु ? कतै भएर उसलाई एक दुई घन्टा समय दिए त शरीरले धान्ने कुरा पनि भएन ।  छुट्टी हुनासाथ उसैका अगाडि हाजिर हुन्थेँ । उसलाई चित्त बुझ्दो स्पष्टीकरण दिन्थेँ । 

गत हिउँददेखि म नराम्रोसँग बिरामी परेँ । शरीरमा नदुख्ने भन्ने ठाउँ छैन । दुख्दा दुख्दा दुख्दा हैरानै भइसक्यो ।  यो अस्पताल गयो ऊ अस्पताल रिफर गर्छ । ऊ अस्पताल गयो त्यो अस्पताल सिफारिस गर्छ । त्यो अस्पताल गयो अर्कै विदेशी अस्पतालको कुरा गर्छ । विदेशी अस्पताल भनेपछि म अब यतिकै मर्ने रहेछु भनेर त्यसै हातगोडा गलेर आए । अफिसमा बिरामी विदा लिएर घरमै सुतेर बसेँ । मनमा दिनदिनै काटिने तलबको हिसाब नाचिरहन्थ्यो । डक्टरका सुइले चाल्नो भएको शरीर सुम्सुम्याएर बसेको थिएँ । 

सधैँ हस्याङफस्याङ गर्दै कुद्ने लोग्ने घरमा सुतिरहेको देखेर स्वास्नी छक्क परी । फलामको जस्तो शरीर भएको मान्छे सुतेको देखेर उसलाई चिन्ता लागेछ । समय समयमा तातो पानी तताएर ख्वाई, गिलो जाउलो उसिनेर खुवाई । फलफूल ताछेर र छिलेर कोच्याइदिई । एक छिन छोडिनँ । म दिउँसो काम नगरेका कारणले हो वा किन एक रात निदाउन सकिनँ । त्यसरी ननिदाएको स्वास्नीले पनि थाहा पाइछ । उसले चिन्ता लिँदै भनी, होइन बूढा तिमीलाई के भयो यस्तो ? मलाई त लाग्छ तिम्रो उपचार यी मान्छेको उपचार गरेर पैसा कमाउने डाक्टरले सक्तैनन् । बिराम पनि मान्छेअनुसार पो लाग्छ त । बरु यो पल्ट जनवारको डाक्टरलाई देखाऊ । विराम भन्ने कुरो त लक्षणअनुसार र विरामीको कामअनुसार पो हुन्छ त । 

आफू अलमल्ल परेँ । उसको कुरा नबुझेर सोधेँ  किन र ? मलाई थाहा छ तिमीलाई पशुलाई लाग्ने विराम लागेको छ । बजारमा पशुपन्छीका असपताल पनि खुलेका छन् । त्यहाँ त्यति भिडभाड पनि हुँदैन । त्यहाँ गए पक्कै पनि तिम्रो उपचार हुन्छ । अहिले हाम्रो देशमा पशुपन्छी मन्त्रालय पनि त बनेको छ नि । 

म स्वास्नीका कुरा सुनेर अलमल परेँ । के भन्ने के नभन्ने ? नाजवाफ भएर टुकीको उज्यालोमा उसका मुखमा हेरिरहेँ । उसैले मलाई बुझाउने भाषामा भनी, हेर बूढा तिमी हरेक बिहान कुखुरा जस्तो बिहानै उठ्छौ । चिया ले चिया ले भनेर एक दुईचोटि बास्छौ र पखेटा फट फटाउँदै हिडि हाल्छौ । के तिमी छिमेकी जस्तो समयमा उठेर न्वाइध्वाइ गरेर पूजापाठ गरेर चिया पिउन भ्याउँछौ ? तिमीलाई स्वाइन फूलु भएको हुनुपर्छ । 

म स्वास्नीका कुरा सुनेर झस्किएँ । छिटै उठ्ने र सबेरै हिँड्ने प्राणीलाई लाग्ने रोग मान्छेलाई लाग्न के बेर । आफूले पनि ती रोग लाग्ने प्राणीले जसो जसो गर्छन् त्यसै त्यसै गरेपछि नलाग्ला भन्ने के टुङ्गो ?

म अलमल पर्दै थिएँ । हुन त म सधैँ कुखुरा बास्नुभन्दा पहिला नै उठिसकेको हुन्थेँ । कतै कुखुरासँगै र उनीहरूभन्दा अगाडि उठेर काममा लाग्दा कुखुरे रोगै त लागेन । म झस्केँ । ऊ भन्दै गई कुखुरालाई लाग्ने फूलू नलागे घोडेरोग लागेको हुनुपर्छ । म देखिरहेकी छु तिमी जहिल्यै पनि घोडाको जस्तो हतार हतार डिउँटी जान्छौ । आफ्नो पिठ्युँले धान्ने नधान्ने काम गरिरहन्छौ । मालिकले जति दौडायो त्यति दौडन्छौ ।  कहिलै कतै टुसुक्क बस्तैनौ । उभिइ उभिइ निदाउँछौ आराम गर्छौ ।

म झस्केँ । ऊ मेरा मुखैमा हेरेर माया लाग्दो पाराले भन्दै गई । तिमी गधा जस्तो दिनभर पेलिएर काम गर्छौ । के तिमीलाई म थाकेँ, म यो काम सक्तिनँ भन्ने लाग्छ ? गधा भारी पुगेन भने उभिइरहन्छ जब भारी पुग्छ तब मात्र पाइलो सार्छ । तिमी ठ्याक्कै त्यस्तै छौ ।  म कुरा सुन्दा सुन्दै हो कि हो कि जस्तो लागेर उसका मुखमा हेरिरहेँ । अलि अलि हाँसो उठ्यो र हाँसूँ भनेको त गधाको जस्तै पो आवाज आयो । हिल्हिल हिल्हिल ... आफैलाई लाज मर्नु । 
स्वास्नीले मेरो हाँसो समाई हाली । हेर त हाँसो पनि गधाको जस्तै । तिमीलाई कतै गधेरोग पनि लागेको हुनसक्छ ।  तिमी गधा जस्तो मात्र छैनौ । तिम्रो दिन चर्या धेरै त स्यालसँग मिल्छ । तिमी स्याल जस्तो यता उता भौतारिइरहन्छौ । कसैलाई झम्टन खोज्छौ कसैबाट भाग्छौ । चाहिने नचाइने ठाउँबाट सूचना लिइरहेका हुन्छौ । तिमीलाई स्याललाई लाग्ने रोग पनि लागेको हुन सक्छ । मासु खाने दिन जहिल्यै कुखुरा मात्र लिएर आउँछौ । खसीको मासु खाने आँटै गर्दैनौ । यसको पनि केही त रहस्य छ । 

म स्वास्नीको कुरा सुन्दासुन्दै आत्तिएँ । एकाएक डराएर काम्दै... हो र ?  भनूँ भनेको त हुरहो हुरहो......हुईं हुई... भएर स्यालको आवाज पो निस्कन थाल्यो । स्वास्नीले मेरो आवाजलाई प्रमाणका रुपमा लिइहाली । ऊ सप्रमाण बोल्न थाली, ऊ, तिमी बोल्दा हाँस्दा र आत्तिँदा पनि ठ्याक्कै स्यालकै आवाज आउँछ । म झस्केँ । यसो हेर्दा आफ्नै हातगोडा स्यालका जस्ता लाग्न थाले । त्यसै फेरि चिच्याएर हूहू गरेर कराऊँ कराऊँ जस्तो भयो । फेरि अवस्था बिग्रिएला भनेर चुप्प लागेँ ।  

स्वास्नी मलाई पशु डक्टरकामा लैजाने प्रमाण जुटाउँदै थिई । तर कुन पशुप्रजाति डाक्टरकामा जाने भन्ने निर्णय हुन सकेको थिएन । मेरा मुखैमा हेरेर दयालाग्दो मुख पार्दै उसले भनी, तिमी बाँदर जस्तो हाकिमको इशारामा नाच्छौ । कहिले काहीँ चटकेको भालुजस्ता लाग्छौ । कहिलेकाही सदाएको सुगा र मैनाको जस्तो भाषा बोल्छौ । धेरै त जोत्ने र गाडा तान्ने गोरुको जस्तो व्यवहार गर्छौ । मालिकले हरियो घाँस देओस् कि सुकेको छ्वाली उस्तै मानेर खाइरहेका हुन्छौ ।  अनि अनि । म अल्मल परेँ । ऊ भन्दै गई । म सुन्दै रहेँ । मलाई साँच्चै आफू बाँदर, भालु,गाडा तान्ने गोरु जस्तै लाग्यो । ऐना हेर्ने आँटै गरिनँ ।

सम्झँदा सम्झँदै म आत्तिएँछु । स्वस्नीले आत्तिएको जस्तो देखेर एक गिलास पानी प्याउर भनी, हेर बूढा तिमी तिम्रा मालिकका अगाडि बफादार कुकुर जस्ता लाग्छौ । घरमा आएपछि आफ्नो परिवारलाई ननिको कुकुरले झैँ भुक्छौ । हामी तर्सिएर कुना पस्छौँ । प्राय कुकुर परिवारभन्दा टाढा मालिककामा त बस्छन् नि । हो तिमी त्यस्तै लाग्छौ । तिम्रा बाआमा कहाँ छन् तिमी कहाँ छौ तिम्रो परिवार कहाँ छ ? थोरै खाएर पनि अघाउँछौ । अघाउँजी नपाए पनि रमाउँछौ । कुट्यो भने पनि सहन्छौ । फेरि घर आएर हतपत कुकुरले झैँ खान्छौ र  भैंसीजस्तो खाएर घुर्दै सुत्छौ । अनि आफै भन त मान्छेको डाक्टरले तिमीलाई निको पार्छ ? अहिलेसम्म कुनै औषधिले काम गरेको छ ? 

मेरा बारेमा मेरी स्वास्नीले जति कसले चिन्ता लिएको होला ? मलाई उसले भनेको कुरा हो जस्तो लाग्यो  । बरु म जस्तो बिरामीलाई उपचार गर्ने अस्पताल कहाँ छ ? ए हजुर थाहा भयो भने फोन पाऊँ न है । फोन नंबर नभए इमेल गरे पनि हुन्छ । मैले नजाने पनि मेरो हाकिम टुइटर पनि चलाउँछ । मेरी छोरी मेसेन्जर पनि चलाउँछे । छोराको भाइबरमा खबर गरे पनि हुन्छ । त्यसो नभए मेरो घरमै आएर स्वास्नीलाई खबर छोडे पनि हुन्छ । ऊ प्रायः घरमै हुन्छे । अहिले त म पनि घरमै छु । लौन हजुर यो बिरामीको उदार गर्नुपर्यो ।  कुन डाक्टर हो ? कुन अस्पताल हो ? आफूट निम्छरो परियो । त्यसमाथि सोझो सिधो  त्यसमाथि रोग लागेको ।

पाँचथर, हाल काठमाडाैं