काठमाडौं, माघ १२ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्षमा विगत साढे तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४३ औँ शृङ्खला सम्पन्न गरियो । 

प्रगतिवादी नेपाली साहित्यका शीर्षस्थ व्यक्तित्व एवम् सामाजिक रूपान्तरण अभियानका कुशल अभियन्ता कवि प्रदीप नेपालका एक दर्जन प्रतिनिधि कविता वाचन गर्ने र ती कवितामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक उक्त विशेष समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने सञ्चालन मञ्चको काव्य विभाग प्रमुख डा.विन्दु शर्माले गर्नुभएको थियो । कविनायकलाई नै प्रमुख बनाइएको उक्त विशेष समारोहमा टिप्पण्ीकारका रूपमा प्रा.डा.यादबप्रकाश लामिछाने उपस्थित हुनुहुन्थ्यो भने अतिथिहरूमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, पूर्व मन्त्री शान्ता मानवी, महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, नेपाल प्रज्ञाप्रतिष्ठानका सस्य–सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.डा.भुप धमला, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्राज्ञहरू नर्मदेश्वरी सत्याल, उदय श्रेष्ठ र सानु पहाडी, महासङ्घकी कोषाध्यक्ष भूमिका सुब्बा, डा.हरिप्रसाद सिलवाल, वरिष्ठ कवि तारा गाउँले, मञ्चका महासचिव विनोद मन्जन, वाचन सहयोगी कविहरू वासुदेव अधिकारी, राम विनय, प्राज्ञ गायत्री विष्ट, डम्बर पहाडी, रमेश पोखरेल, पेम्बा लामा, यशोदा अधिकारी, समिर नेपाल, गायत्री लम्साल उपस्थित हुनुहुन्थ्यो ।  

हरेक महिनाको दोस्रो शुक्रवार ठिक २.३० बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको त्रिचालिसौँ शृङ्खलामा आफ्नो जीवनको सिङ्गो समय राजनीति र साहित्यका  माध्यमबाट सामाजिक रूपान्तरण अभियानको कुशल नेतृत्व गर्नुभएका एवम् कुशल सङ्गठकसमेत रहनुभएका युवा पुस्तामा विचारको चेतना बीज सम्प्रेषण गर्ने अग्रज एवम् आदरणीय व्यक्तित्व, तीन दर्जनभन्दा बढी साहित्यिक कृतिहरूका लेखक प्रदीप नेपाललाई ल्याइएको र उहाँले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानमा निर्वाह गर्नुभएको महत्त्वपूर्ण भूमिका, गर्नुभएको कुशल नेतृत्वका बारेमा समेत चर्चा गर्ने उद्देश्य रहेको जानकारी राम विनयले दिनुहुँदै चिनियाँ सर्वहारा क्रान्तिको प्रभावस्वरूप झापा विद्रोहका अभियन्ता, इतिहासकै नायक, २०२५ सालमा नख्खु जेल ब्रेक गरेर सम्पूर्णरूपमा आपूmलाई सामाजिक रूपान्तरण अभियानमा समर्पित गर्नुहुने व्यक्तित्वलाई आजको यो विशेष समारोहमा प्रस्तुत गरिएको जानकारी दिनुभयो र कविनायकलाई माल्यार्पण गर्नुभयो भने राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले सम्मानपत्र अर्पण गर्नुभयो ।          

समारोहका नायक कवि प्रदीप नेपालले जनसाहित्यिक मञ्च, नेपालले विगत साढे तीन वर्षदेखि थालनी गरेको यो अभियानमा म आफूलाई पनि सामेल गराउनुभएकोमा गौरवबोध भएको छ । वास्तवमा म नेता भएर साहित्यकार भएको होइन, साहित्यकार भएर नेता भएको हुँ । हामीले पार्टी सङ्गठन गर्दा साहित्य लेख्ने स्वतन्त्रता थिएन । वैचारिक अध्ययन गर्ने, बहस गर्ने मात्र स्वतन्त्रता थियो तर त्यस वेला पार्टीमै शालीनापूर्वक विद्रोह गर्दै ‘सामाजिक रूपान्तरण गर्ने भनेको अभिव्यक्तिको मधुरता हो, त्यो साहित्यबाट मात्र सम्भव हुन्छ, नलेखी म बस्न सक्तिन’ भनेर बहसको थालनी गरेपछि मलाई र मोदनाथ प्रश्रितलाई लेख्ने छुट प्राप्त भयो र मैले निरङ्कुशतालाई यही मान्छे हो भन्ने शङ्का पनि नहोस् भन्ने ठानेर सञ्जय थापा मगरका नामबाट मैले लेख्न थालेको हुँ । त्यो समयमा पार्टीको साहित्य प्रकाशन हेर्ने रघुजी पन्तले पनि ‘लेखकलाई रोक लगाउनुहुन्न’ भनेर प्रतिरक्षा गरिदिनुभएको थियो । हामीले सञ्चालन गरेको वैचारिक सामाजिक रूपान्तरण अभियानमा चुरोट र रक्सीसेवन प्रतिबन्धित थियो; महिलालाई आमा, दिदी, बहिनीको सम्मान दिनुपथ्र्याे, चरित्रमा कतै कुनै कमजोरी देखिनुहुँदैनथ्यो । त्यही चरित्रमा शुद्धता नदेखिएको र आफ्ने सङ्गठनका महिलामाथि दुव्र्यवहार गरिएका उदाहरण छताछुल्ल भएकै कारण माओवादीविरुद्ध मैले खुलेर लेखेको हुँ । यतिखेर हाम्रो वैचारिक आन्दोलन केही भुत्ते भएको र पदमोह बढेको छ, आर्यघाटको ब्रह्मनालसम्मै कुर्सीमै रहेर जान पाए हुन्थ्यो भन्ने आकाङ्क्षाको बढोत्तरी भएको छ । हामीले रूपान्तरणको वैचारिक अभियान थाल्दा ‘ठुलो हुन होइन, मान्छे हुन र पार्टी र देशबाट लिन होइन दिनका लागि समर्पित हुनुपर्छ’ भन्ने मान्यतालाई आदर्श बनाएका थियौँ तर अहिले म, आपूm भन्ने, सर्वेसर्वा ठान्ने विकृति मौलाइरहेको छ । आपूmले जुन क्षेत्रमा राम्रो गर्नसकिन्छ त्यसै क्षेत्रमा काम गर्ने हो र गर्नुपर्दछ  हामीले जीवन समर्पण गर्दा सिंहदरवार पुग्ने त सपनै देखेका थिएनौँ तर क्रान्ति भने सफल पारिछाड्छौँ भन्ने अठोट लिएका थियौँ । मैले साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाका बारेमा पनि भनेको थिएँ, ‘उनी ठुला चिन्तक हुन्, सफल साहित्यकार हुन् तर असफल नेता हुन् ।’ यो धारणासँग धेरै मान्छे असहमत रहेका थिए र छन् तर सच्चाइ त्यही नै हो । अहिले तपाईँ लेखकहरू, बुद्धिजीवीहरू र जनवर्गीय सङ्गठनमार्फत विचार बोक्नेहरूले असल विचारका माध्यमबाट पार्टीलाई बचाउने अभियानमा समर्पित हुनुपर्ने वेला हो यो । अहिलेको पुस्ता झन् विचारविहीन र स्वार्थप्रेरित हुँदै गइरहेको हुँदा त्यतातर्फ सबैको ध्यान जानु आवश्यक छ, आदर्शको जगेर्ना गर्नु आवश्यक छ भन्नुहुँदै ‘बिदाइ १’, बिदाइ २ र ‘अन्तर्राष्ट्रिय गीत’ शीर्षकका अत्यन्त प्रखर कवितावाचन गर्नुभएको थियो ।  

२०३० सालदेखि २०७४ सालसम्म लेखिएका उहाँका अन्य कविताहरू वाचनसहयोगी कवि गायत्री विष्टले ‘कविहरू’ शीर्षकको, डम्बर पहाडीले ‘मधेससँग जोडिएर’ शीर्षकको, वासुदेव अधिकारीले ‘रक्सी महिमा’ शीर्षकको, रमेश पोखरेलले ‘श्रद्धाञ्जलि’ शीर्षकको, पेम्बा लामाले ‘भक्खरै’ शीर्षकको, यशोदा अधिकारीले ‘छोरी जन्मिदा’ शीर्षकको, समिर नेपालले ‘सतीसाल’ शीर्षकको, गायत्री लम्सालले ‘दुःखान्त’ शीर्षकको, जगत् वाशिष्टले ‘गएको साथीलाई’ शीर्षकको र राम विनयले ‘म नागरिक’ शीषकको गरी सबै त्यस्तै शक्तिशाली, सुन्दर र वैचारिक कविता वाचन गर्नुभएको थियो । 

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्दै समालोचक एवम् प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष प्रा.डा.यादबप्रकाश लामिछानेले वि.सं.२०१० सालमा भोजपुरमा जन्मिुनुभएका प्रदीप नेपालले २०२५ सालमा ‘सुन्दर हिमाल’ शीर्षकको कविताबाट नेपाली साहित्यमा प्रवेश गर्नुभएको हो र वैचारिक नेतृत्व लिएपछि सञ्जय थापाका नामबाट र प्रदीप नेपालकै नामबाट तीन दर्जन कृति लेख्नुभएको छ । आख्यानमा उहाँ उचाइको शिखरमा हुनुहुन्छ भने नियात्रा, संस्मरण तथा कविता सिर्जनामा पनि अब्बल हुनुहुन्छ । स्रष्टा आफैँले परिवेश सिर्जना गरेर लेखेका  रचनाको समालोचना कठिन कुरा हो तर वाचित कविताको वैचारिक पक्ष अत्यन्त अब्बल पाइन्छ । शोषित–पीडितका आबाज कवितामा समेटिएका छन्, सबै कवितामा अग्रगामी सन्देश सम्प्रेषण गरिएको छ, कवितामा सामाजिक जीवनको प्रतिविम्ब उतारिएको छ, समाजमा विद्यमान गलत प्रवृत्तिका प्रति आक्रोश व्यक्त गरिएको छ, विभेदका कुरा, नैतिकताको खडेरीका कुरा, देशप्रेमका र माटाको प्रेमका कुरा, चेतनाको ज्योति फैलाउने चाहना, विभेदका पहाड सम्याएर समतामूलक समाज निर्माण गर्ने आग्रह कवितामा सशक्तरूपमा अभिव्यक्त भएको पाइन्छ । वर्गभेदको सन्दर्भ बडो तेजिलोरूपमा उजागर गरिएको छ । सबै कवितामा सम्प्रेष्य र सरल भाषाको प्रयोग भएको पाइन्छ । सुन्दर विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गरिएको छ । कविभित्रको विद्रोही चेतना कवितामा अभिव्यक्त भएको छ । 

दासत्वविरुद्धको लडाइँका माध्यमबाट उज्यालोको प्रतीक्षा गरिएको छ, आशावादी चिन्तन र चेतना सम्प्रेषण गरिएको छ । समाज परिवर्तनको सम्बाहक साहित्य हो भन्ने स्रष्टाको मान्यतालाई स्पष्टरूपमा अभिव्यक्त गर्दै सिङ्गो समाजको विम्ब उतार्ने काम गरिएको छ । वैचारिक विचलनका कारण साथीले पार्टी छाडेको अवस्थालाई विश्वासघातको पेचिलो दृष्टान्त मान्दै अहिलेको राजनीतिले उछालेका र उकासेका सबै खाले विकृतिको भविष्यवाणि कविले पहिल्यै गरेको पाइन्छ । मानव बेचविखन, बलात्कार, सामाजिक विकृति र विसङ्गति आदि सबै सबैको अन्त्यको आग्रह र उज्यालोको आग्रह कवितामा गरिएको छ । सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्दाताकाको निरङ्कुशताको भयावह स्थितिको चित्रण गर्दै उज्यालोको आगमन अवश्यम्भावी छ भन्ने आशावादिता कवितामा सशक्तढङ्गले व्यक्त भएको छ । बुद्धिजीवीहरू स्वार्थका लागि बन्द र हडतालमा केन्द्रित हुँदा कसरी मुलुकको समृद्धि हुन्छ भन्ने चिन्ता र आक्रोश पनि कवितामा अभिव्यक्त छ । प्रगतिवादी दृष्टिकोणसहितको कलम निरङ्कुश सत्ताभन्दा कठोर र सशक्त हुन्छ भन्ने दृष्टिकोण सबै कविताले प्रस्तुत गरेका छन् । स्रष्टाको सिर्जनामा वैचारिक पक्ष नै जीवन्त हुन्छ, यो कमजोर भयो भने विचारविहीन नेतृत्वले भोलिको नेतृत्व गर्दैन भन्ने जबरजस्त दृष्टिकोण कवितामा अभिव्यक्त भएको छ र यही नै कविताको शक्ति र सामथ्र्य पनि हो । तसर्थ कवि प्रदीप नेपालका आज वाचित कविता बेजोड र सशक्त छन् भन्नुभयो । 

कार्यक्रम सञ्चालक डा.विन्दु शर्माले आजको यो महत्त्वपूर्ण र विशिष्ट समारोहमा हाम्रो निम्ता स्वीकार गरी आइदिनुहुने कविनायक तथा सम्पूर्ण मान्यजनमा हार्दिक आभार व्यक्त गर्नुभयो र अर्काे शृङ्खलामा यहाँहरूलाई फागुन महिनाको दोस्रो शुक्रवार अहिलेको पुस्ताका सशक्त महिला स्रष्टाहरू डा.रजनी ढकाल र सुस्मिता नेपाललाई प्रस्तुत गर्ने छौँ र त्यस समारोहमा फेरि आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै अध्यक्षज्यूको अनुमतिले समारोहको समापन गर्नुभयो ।
–रमेश पोखरेल