धर्मप्रसाद बूढा धर्मराउँदै र फत्फताउँदै धर्मशालाबाट धान्यशालातिर लाग्दै थिए । शान्ति विपनाको घरतिरबाट आइरहेको देख्दा आनन्द पनि प्रफुल्ल नै थियो । बीचमा सपनाले शान्तिलाई कानेखुसी गर्दै कान्तिपुरतिर लगी । उता कामनाले भावनालाई भाँतिभाँतीका कुराले भड्काउँदै भगाउन थाली । विश्वासलाई खोज्यो सोध्यो कसैले पनि देखो र पाएँ भन्दैन । सुनिन्छ विश्वास अपहरणमा प¥यो । उता धर्म धर्तीमै छैन रे । कर्मचाहिँ पाहुरदार बनेर कर्मक्षेत्र छोड्दै म्यानपावरसँग म्यानमारतिर लाग्यो रे । हुन त विश्वासलाई समयसमयमा सद्भावनाले भेटेकी रहिछ तर कसैलाई भनिन । उता बुज्रुक विज्ञहरू विज्ञानलाई साथी बनाएर विश्वासलाई नै परास्त गर्ने साँठगाँठमा जुटेका छन् रे । धर्मप्रसादकी धर्मपुत्री अपुत्रवती भएकीले विश्वासलाई नै धर्मपुत्र स्वीकारेका थिए । विश्वास सबैको विश्वासपात्र नै थियो । विश्वासको खोजीमा टोलछिमेक र सारा देश नै लाग्यो । कहिँ कतै कसैले देखेभेटेको सुइँकोसम्म पाउन सकेन ।
विश्वासलाई खोज्न कहाँ पुगिएन ? कसलाई सोधिएन ? पसलेलाई सोध्दा विश्वासको कुरा गर्छ, मन पराउँछ, भेटेँ पनि भन्छ तर व्यवहारमा देखाउँदैन । उता हरेक कार्यालयका कर्मचारीलाई सोध्यो सबै भन्छन् भर्खर यतैतिर थिए, भेट्ने भए भोलि आउनुस्, अहिले त भेट्न मिल्दैन । उता केटाकेटी पढ्ने स्कुलमा पुग्यो, पहिले फि तिर्नोस् अनि विश्वासलाई देखाइदिउँला भन्छन् । अड्डा अदालतमा पुग्यो भित्ताभर न्याय, नैतिकता र विश्वासकै पर्चा टाँसिएको देखिन्छ तर हेर्दा सर्वत्र अविश्वास, बुझ्दा अलपत्र छ त्यही विश्वास । सोध्यो, छैन कोही भन्दैन, देखाउन कोही सक्दैन । इतिहासका त्यत्रा सङ्कट र समस्या पार गर्दै कत्रा वृष्टि, अतिवृष्टि, अनावृष्टि पार गर्दै सृष्टिको सनातन बोकेर बसेको विश्वास न त कसैले उसलाई लग्न सक्थ्यो न त ऊ नै कतै जान चाहन्थ्यो । कस्ता–कस्ता अनिकाल र भोकमरीमा पनि नमरी बाँचेको विश्वास कसको अपहरणमा पर्यो ? कि त उनै धर्मप्रसादले धर्मपत्नीबाटै पुत्र पाउने विचारले धर्मपुत्रको अपहरण गरे ? यस्तो महङ्गीमा पनि कसले लग्यो होला हाम्रो विश्वासलाई ! व्यापारीका बहुमूल्य ज्यासल चोरिएका छैनन्, पसलेका पसल फोरिएका छैनन् । धनीको धन, मायालुको मन चाहिँ नचोरिने, गाई चर्ने वन चोरिए झैँ मानिसका माझबाट विश्वास नै किन चोरियो ? किन अपहृत भयो ? हैन यो विश्वासमात्र कोबाट किन यसरी अपहृत भयो ? व्यवहारमा आजकाल कसैलाई पनि विश्वासले विश्वास पार्न छोड्यो भन्दै विश्वासलाई उपेक्षा गरेको सुनिन्छ । बनावटी पाराका शब्दमा चाहिँ विश्वास मन नपराउने कोही छैनन् । कतै यस्तो रवैयाको कृत्रिमता मन नपराएर विश्वास आफैँैँ मुलुक बाहिर त पुगेन ? विश्वबाटै गायब भएरै त गएन ? मुखले जतिसुकै विश्वासका कुरा गरे पनि विश्वास कतै भेटिँदैन । कि भने विश्वासलाई कसैले बलात्कार गरेकै हुनुपर्छ । रहस्य त यहाँ छ ! जुनदिन शान्ति हराएकी छे त्यही दिन विश्वास पनि हराउनुमा अर्को आश्चर्य बन्न पुगेको छ । अझै हामीभित्रै खोजतलास गरौँ । कतै विश्वास र शान्ति हामीलाई कसले खोज्दो रहेछ भनेर महादेव र पार्वतीले मृगरूप धारण गरेर बसेझैँ आफ्नो रूप बदलेर त यतै कतै बसेका छैनन् ?
धेरैथरिले धेरै कुरा गरे पनि मेरो विश्वासमा त्यो विश्वास विश्वबाट बाहिर पुगेको छैन । उसले आत्महत्या पनि गरेको छैन । कतै शान्तिसँग लहसिँदै र बहकिँदै कुनै कुनामा आनन्दसित बसिरहेका हुनसक्छन् । धर्मप्रसादले मात्र धर्मपुत्र खोज्न कार्यालय धाएर, नेताहरूकहाँ पुगेर शिक्षणसंस्थाका ढोका घच्घच्याएरमात्र विश्वासलाई फेला पार्न सक्लान्जस्तो लाग्दैन । अब त विश्वासलाई खोज्न इच्छा, आकाङ्क्षा, सद्भावना, स्मृति, सन्तोष, सहज, साधुराम, सपना आदि सबै एउटै मूलधारमा समाहित भएर भित्री दिलदेखि नै खोज्दै जानुपर्छ । विश्वास र शान्तिलाई अवश्य नै भेट्न सकिन्छ । सेवा र सत्कारको पनि सहयोग लिनचाहिँ नछोडौँ । विश्वास नफर्केसम्म शान्ति पनि फर्कलीजस्तो लागेन । विश्वास धर्मप्रसादको धर्मपुत्र मात्र होइन धर्तीपुत्र नै हो । विश्वासलाई विश्वासिलो पाराले खोजौँ व्यवहारमा उतारौँ । शान्ति ऊसँग नभए पनि उसैले नै खोज्छ । यहाँ त सबैलाई विश्वासकै मात्र सङ्कट प¥यो । विश्वासकै कारणले शान्ति हराएकी हुनसक्छे । पहिले विश्वासलाई नै विश्वसामु उतारौँ । त्यसपछि शान्ति नआए विश्वासलाई नै लिएर शान्ति खोजौँला, कि कसो ?

ट्याङ्ला, कीर्तिपुर