भत्काउँदै फेरि मर्मतमा छन्
आफ्नाहरू हुन् जो फुर्सतमा छन्

के फूल नै बन्नु पर्ने हो म ?
काँडाहरू मात्र सङ्गतमा छन्

जब देखि मैले चुनौती रोजेँ
आपतहरू सख्त आपतमा छन्

अझ बेखबर छन् परेवा भुइँमा
महफिल सँगै बाज छत छतमा छन्

यति बेसरम भइदिए काला कोट
वेश्या बरू सत र इज्जतमा छन्

बेनामी सम्बन्धको पोल खुल्यो
नाताहरू सब सनाखतमा छन्

यो जिन्दगी नै जुवा हो आवाज
सपना, मनोचाह उल्फतमा छन् ।