नेपाल त्याग्ने म हुँ पात्र एक
चरित्र छन् उच्च ममा अनेक
खोज्दै म आएँ सुखस्वर्ग साथी 
अमेरिका हो सुखस्वर्ग जाती ।

नेपाल भन्ने त्यस देशभित्र 
जन्मेँ बढेँ भैकन स्वप्नचित्र 
फेरेँ त्यहीँ सास पवित्र मैले 
हेरेँ त्यहीँ दृश्य हजार मैले ।

हावा त्यहीँको जल हो त्यहीँको 
पानी त्यहीँको फल हो त्यहीँको 
बाटा र घाटा सब हुन् त्यहीँका 
र जिन्दगी धड्कन हुन् त्यहीँका ।

खेलेँ त्यहीँ गैकन खेतबारी 
गरेँ त्यहीँ जीवनको सवारी 
त्यहीँ पढेँ जीवन यो सपारी 
पाएँ त्यहीँ सुन्दर रोजगारी ।

खाएँ निकै घूस गरेँ कमाइ 
मारेँ नि आफन्त र दाजुभाइ
लुटेर त्यो राष्ट्र निकै कमाएँ 
बोकेर पैसा परदेश आएँ ।

ठगेँ सकेको त्यस देशलाई
ल्याएँ बचेको यश देशलाई
जे सक्दथेँ गर्न गरेँ गराएँ
र अन्त्यमा यो परदेश आएँ ।

दानी हुनाले परदेशलाई 
दिएँ कलाशिल्प सबै बुझाई 
परोपकारी म बनेर आएँ 
विदेशलाई पसिना चढाएँ ।

पुग्दो थियो खान र बस्नलाई
राम्रै थियो जीवनको कमाइ
मान्थे निकैले मनितो गरेर 
गर्थे नमस्ते छ ठुलो भनेर ।

भएन मेरो मन तृप्त तैपनि
आनन्द मिल्ने छ विदेशमै भनी
अमेरिकामा सुख भोग्न आएँ
नेपाललाई मनले हटाएँ ।

“नेपालमा नै बस देशभक्त भै 
खाऊ यहीँ कर्मठ पाखुरी हुँदै 
यै देश पारौँ न अमेरिकासरि “
भन्थे मलाई सबले घरी घरी ।

परन्तु त्यस्तो पटमूर्ख हैनँ म 
आदर्शमा बाँच्न तयार छैनँ म 
चाहन्छु मैले सुखस्वर्गको जुनी 
जहाँ सुखी हुन्छु त्यहीँ म बस्छु नि ।

संसार यौटै छ भने नयाँ जब 
बसौँ म नेपाल भनेर के अब ?
स्वदेशका गायन व्यर्थ छन् सब 
सङ्कीर्ण हो सोच स्वदेश मात्र त ।

पेट्रोल नै भर्न परे म भर्दछु 
दिसा सफा गर्नुपरे म गर्दछु 
सन्तानका निम्ति म गर्छु यो सब 
नेपालमा पौरख गर्नु व्यर्थ छ ।

आएँ त्यसैले म अमेरिकामा
र गर्व गर्दै छु म यो कुरामा 
पाए त्यहाँको अझ खाउँला तर
अमेरिकै हो तर स्वर्ग सुन्दर ।

पाए पुग्यो खान मिठो मलाई 
पाए पुग्यो गर्न ठुलो कमाइ
मिल्छन् कुरा यी जुन देश धाई
म पुग्छु नाच्दै सपना सजाई ।

मसङ्ग मेरो पहिचान छैन 
स्वतन्त्र मेरो परिधान छैन 
मेरो कुनै राष्ट्रिय गान छैन 
नेपाल भन्ने अभिमान छैन ।

पाखापखेरा अब खन्नु छैन
नेपालको भन्नु र बन्नु छैन 
पैसाविना गौरव चाहिँदैन 
नेपाल भन्दै अब धाइँदैन ।

कल्ले गरोस् दुक्ख पहाड खन्दै !
कल्ले छरोस् बीज मधेस बन्दै !
बसून् त्यहीँ मूर्खहरू रमाई 
नेपाल चाहिन्न सुन्यौ मलाई ?

छन् बाध्यताले पनि दूर लाग्ने 
अभावका कारण देश त्याग्ने 
खाडीहरूमा तर छन् गएका
प्रताडनाले बिचरा भएका ।

म मित्रता तीसँग गर्न सक्दिनँ
त्यस्ता पछौटेसँग मर्न सक्दिनँ 
जो शक्तिमा छन् तिनको म मित्र
धनीहरूकै म त खिच्छु चित्र ।

के जप्तछौ व्यर्थ स्वदेशभक्ति ?
हो मुख्य आनन्द र मुख्य शक्ति 
जो बुझ्छ यो सत्य सुखी छ मान्छे 
चिन्छौ मलाई ? म हुँ भव्य मान्छे !

कवि ः

यस्ता सयौँ स्वाँठहरू हुनाले 
यो देश बिग्र्यो मन मैलिनाले
जाग्यो भने चेत सबै जनाको 
बन्नेछ यो देश महामनाको ।
काठमाडौं