“दोभानतिर नजाओ है ! मसाने कुकुरले टोक्ला फेरि त्याँ !!” भनेर आमाले कति सम्झाउनुहुन्थ्यो । तर हामी उरण्ठेउलाहरूलाई भनेर कहिल्यै लागेन ।  घट्टे दोभानमा पौडी खेल्न त कति गैयो गैयो । साँझ फर्कने बेलामा भने मसाने कुकुरको त्रासले एक सासमा कुदेर घर आइन्थ्यो । प्रायःजसो त्यो डरलाग्दो कुकुर कुनै ढाँडमा लुकेर बस्दथ्यो । घरगाउँका पाल्तु र भुस्याहा गाउँचाहारा कुकुरभन्दा मोटो थियो । यामानको ध्वासे थुतुनो भएको हुनाले उल्का डर लाग्थ्यो । 

कतिपय समुदायले मृत शरीर जलाउँछन ।कतिले खल्डोमा गाड्छन । मसाने कुकुरलाई भोक लाग्दा दिउँसो गाडेको शव उधिनेर राती खान्थ्यो । जलाउँदा जलाउँदै दाउरा सकिएर मलामिले लास ठोस्ठास गर्दागर्दै पनि बास्ना खप्न नसकेर ढाँडबाट फुत्त निस्केर तान्न आउँथ्यो । मान्छेको मासु खान पल्केको त्यो कुकुर घाट वरपर खुब ओहोरदोहोर गर्थ्यो । 

अचेल मसाने कुकुर गाउँ पसेको छ । अझ शहर नै पनि पसिसक्यो । उसले मान्छेलाई ध्वाँस दिन थालेको छ । अचेलका आमाबालाई त्यसको ख्याल पटक्कै छैन । शहरमा आजभोली हरेकदिन केटाकेटी हराउँछन । उनका अंगप्रत्यङ्ग हराउँछन । सायद त्यो मसाने कुकुर केन्द्रीय निकायहरूमा पसेको छ ।

२०७४÷१०÷७
फेदिकुना लमजुङ