मिस यु काठमाडौं
काठमाडौं छोडेको आज ठिक एक महिना बितेछ । दोश्रोपल्ट एडेलैड आएको तर मलाई त एकवर्षै बितेजस्तो पो लागिरहेको छ । {{read_more}} एकवर्ष बितेजस्तो लाग्नु पनि स्वभाविकै हो । त्यहाँको हावापानी त्यहाँको वातावरण छोडेर हिँडेको भोलीपल्ट चिनको ग्वान्झाउमा पनि त्यस किसिमको वातावरण भेटिएन । पर्सिपल्टदेखि एडेलैडमा छु । यहाँको वातावरण शान्त अनि स्वच्छ, जताततै हरियाली, चिल्ला सफा सडकहरू कतै धुलो उडेको छैन । कतै खाल्टाखुल्टी छैनन् । कतै ढल फुटेर सडकमा फोहोर देखिएको होईन । पानीका पाइपहरू फुटेर सडक जलमग्न छैन । सारै गाह्रो पो पर्दोरहेछ यहाँ त आफूलाई एडजस्ट गर्न । काठमाडौंमा जस्तो जता गयो उतै सडक जाम भएर हिँडिनसक्नु पनि छैन । त्यहाँको जस्तो सडक भरी तँछाड मँछाड गर्दै विनालेन कुदिहरहेका गाडीहरू छैनन् । सडकमा कतै एउटा ट्राफिक पुलिस देखिएको हैन । चोक चोकमा हरिया, पहेला अनि राता लाईटहरू पालैपालो बलेका छन् । गाडीहरू कुनै स्वचालित कन्ट्रोल सिस्टमले चलेका जस्ता एकनासले चलेका छन् । जताततै पार्किङ्गको सुव्यस्था गरेकोले अव्यवस्थित पार्किङ्ग छैन । कस्तो दिक्क र उदेक लाग्दो ।
नेताको हुन, जनता को हुन, पार्टी कुन हुन र तिनले के काम गर्छन कहिँकतै सुईको पाईएको होइन । यहाँका पार्टीहरू के गर्दा होलान खै कसरी जनताले तिनीहरूलाई सपोर्ट गरेका होलान् । एकदिन सडकमा ओर्लिएर जिन्दावाद मुर्दावाद भनेको सुनेको छैन । विद्यार्थी पनि छैनन् कि के हो ? कहिले आन्दोलन छ रे भनेको सुनेको हाईन । आफू त नेपालको एक अभ्यस्त पार्टी कार्यकर्ता परियो, काम नपाएर हैरान । यता आउने वित्तिकै अंग्रेजी नयाँवर्ष (न्यु यर) प¥याथ्यो । न्यु यर इभमा सिटिमा भएको कार्यक्रम हेर्न भनेर गएको भव्य लाइटिङ्गसँगै कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा त्यहाँका लर्ड मेयर आउनु भएको रहेछ तर कतै सुरक्षाकर्मीहरू थिएनन् त्यत्रा ठूला मान्छे उपस्थित भएको ठाउँमा पनि सुरक्षाकर्मी नहुनु भनेको त अचम्मै हो, मलाई त्यस्तो लाग्यो । कार्यक्रममा आफ्नो स्पीच सकेर लर्ड मेयर लुसुलुसु हामी भएकै हुलतिर आए वत्ती झलमल्ल बलिरहेकोले उनको अनुहार स्पष्ट देखिएको थियो । हामी छेउ आइपुगेर हामीलाई हेर्दै हैप्पी न्यु यर पो भने उनले हामीले पनि हैप्पी न्यु यर भन्यौँ । अगाडि पछाडि कुनै बडिगार्ड होलान् कि भनेर यताउता हेरें कतै कोही थिएनन् । लर्ड मेयर एक्लै फर्किए । हैंट ! यस्तो अपमान लर्ड मेयरको यहाँ, बरू हाम्रो देशमा त देश सानो भएनि मानसन्मान त ठूलो पो रहेछ त गाँठे नेताहरूको । अगाडि पछाडि टन्न कालोचस्मा लगाएका भुस्तिघ्रेहरूले घेरिएर हिँड्न पाइने । ट्वाँ ट्वाँ साइरेन बजाउदै अगाडि पछाडि गाडीका लस्कर लिएर कुद्न पाइने ।
हैन यहाँ पत्रकारहरू पनि छैनन् कि कसो ? पत्रपत्रिकाको बगे्रल्ती पनि देखिँदैन । कतै कसैको उछित्तो काडेको पनि देखिँदैन । हाम्रोमा त टिभितिर ठिनेमिने सबै लस्करै देखापरेर आफ्ना बडाइचडाई गरिरहन्छन् यहाँ त त्यो पनि छैन । कस्को के छ, कस्को कस्तो छ सबै भनिरहन्छन् । यहाँ त त्यस्तो केही सुन्न देख्न पाइएको पनि हैन । काठमाडौंमा सडक पेटीभरी व्यपारिक सामानहरू जताततै हुन्छ, बाटो हिँड्नै सास्ती तर पनि बटुवाले केही भन्दैनन् उल्टो तिनको सामान कुल्चिएला हेर्दैनहेरी कसरी हिँडेको भनेर गाली गर्छन् । यहाँकाहरूले त व्यापारै नगर्दा हुन् कि खै कतै बाटामा देखिँदैनन् । यहाँ छिमेकीहरू कहिल्यै कुनै कुरामा गुनासो गर्दैनन् । काठमाडौंमा त बाटामाको हिँडिराखेका छन् पनि नहेरिकन गमलामा पानी खन्याउँछन् तल बटुवालाई चुर्लुम्म पार्ने गरी । वा कति रमाइलो छ हाम्रो काठमाडौं । कहिले पानीका लागि भनेर सडक खनिन्छ । कहिले के का लागि खनिन्छ । सडक भरी ध्वजापतका सरी केवल टिभिका तारहरू लहरिएका छन वा कति सुन्दर देखिन्छ हाम्रो काठमाडौं । मरें म त न्यास्रो लागेर । मिस यु काठमाडौं । सि यु सुन ।
२०७४ माघ महात्म्य अशोक फित्कौली सम्बादे १२ गते रोज ६ शुभम्
काठमाडाैं