अनुवाद : गंगाप्रसाद अधिकारी 

एक पटक एउटा स्याल खानेकुरा खोज्दै खोज्दै सहरमा पुग्यो । सहरमा स्याल आएको देखेर सहरका कुकुरले त्यसलाई लखेट्न थाले । स्याल भाग्दै भाग्दै निकै टाढा एउटा पर्खालको छेउमा पुग्यो । त्यो पर्खाल एउटा धोबीको घरको भित्तो थियो । स्याल बुरुक्कै उफ्रेर त्यस भित्तोलाई नाघ्नेहुँदा पल्लोपट्टि लुगा रङ्गाउन तयार पारेर राखेको रङ्गको घोल भएको टबभित्र खस्यो । स्याल त्यही चिसो घोलमा रातभर काम्दै बसिरह्यो । बिहान भएपछि बाहिर निस्कँदा कुकुरहरू फर्किसकेका रहेछन् । बल्ल बाँचेँ भन्दै ढुक्क भएर स्याल बाटो लाग्यो ।

यहाँ त बाँच्न नदिने रहेछन्, अब जङ्गलै फर्कनुप¥यो भन्ने विचार गरेर स्याल जङ्गलतिरै फर्कंदै थियो । बाटामा उसलाई सारै तिर्खा लाग्यो । पानी खान भनेर ऊ नदीमा गयो । नदीमा पुगेर पानी खान खोज्दा त उसले नदीमा परेको छायामा आफूलाई पुरै निलो देख्यो । रातभरि निलो रङको घोलमा डुबेर बसेकाले ऊ निलो रङले रङ्गिएको थियो । स्याल पहिले त यो के भएको होला भनेर छक्क प¥यो । पछि उसले यो परिवर्तनबाट फाइदा लिने विचार ग¥यो । 

स्याल जङ्गलमा पुग्यो । त्यहाँ पुगेर उसले जङ्गलका सबै पशुहरूलाई भेला पा¥यो र भन्यो “हेर साथी हो, मलाई भगवानले तिमीहरूको राजामा नियुक्त गरेर पठाएका छन् । तिमीहरूले अबदेखि अनिवार्य रूपले मेरो आदेशको पालना गर्नुपर्नेछ बुझ्यौं ?”

उनीहरूको समूहमै कहिल्यै नदेखिएको त्यो निलो रङको प्राणी देख्दा जङ्गलका सबै जनावर छक्क परे अनि “होला ता नि ! कहीँ नभएको यस्तो विचित्रको प्राणीलाई भगवानले नै राजा नियुक्त गरेर पठाएछन् !” भन्ठानेर अरू प्राणी त के सिंह, बाघ, भालु जस्ता हिंस्रक र भयङ्कर प्राणीहरूले पनि उसलाई राजाको रूपमा मान्न थाले । अब ऊ सबैको राजा भएर ठाँटले दिन बिताउन थाल्यो । जङ्गलका सबै प्राणीको सेवा पाएर स्याल निकै मोटोघाटो भयो । उसले आहाराको खोजी गर्नैपर्दैनथ्यो, अरू प्राणीले नै जोहो गरिदिइहाल्थे । उसका लागि सधैं दसैं जस्तै थियो । 

रहँदै बस्दै जाँदा एक दिन त्यस नक्कली राजा बनेको छट्टु स्यालले अरू थुप्रै स्यालहरू कराएको सुन्यो । स्यालको जातीय बानी नै हुन्छ एउटाले “हाऊ..!” गरेपछि जङ्गलका सबैले सोरमा सोर मिलाएर “हाउ... ! हाउ...!” गर्न थालिहाल्छन् । त्यसैले त भनिन्छ नि “स्यालको हुइयाँ” भनेर ! त्यो हुइयाँ सुनेपछि त्यस नक्कली राजाले पनि आफ्नो जातीय बानी माया मार्नै सकेन । उसले आफू राजा भएको कुरै बिस्र्यो र अरू स्यालको हुइयाँसँगै आफूले पनि सोरमा सोर मिलायो “हाऊ...! हाऊ...! आहोइ..! आहोइ..! ए हो के ...! हो के... !”

आफ्नो प्राकृतिक चरित्रलाई त कसले पो बदल्न सक्छ र ? स्यालले पनि आफ्नो वास्तविक चरित्र देखाइहाल्यो स्यालको हुइयाँमा आफ्नो हुइयाँ मिलाएर । त्यस छट्टु स्यालको आवाज बाघ र सिंहले पनि सुने । उनीहरूले पनि स्यालको अहिलेसम्मको छ्ट्याइँ बुझिहाले । उसको चलाकी थाहा पाएपछि सिंह र बाघले त्यस छट्टु स्याललाई एकैछाक पारिदिए । 

स्याल धेर बाठो भयो भने आफैं काल खोज्छ रे । त्यसैले आवश्यकताभन्दा बाठो हुन खोज्नु पनि बिपत्ति निम्त्याउनु जस्तै हो ।

‘रमाइला कथाहरू’ बाट