फागुन मासे पूर्णिमा तिथि । पहाडतिर होली, तराईतिर होरी । पहाडेहरूको फागु, समथरेहरूको फगुवा । लोलाका गोलाको रङ्गको वर्षाले बटुवा निथ्रुक्क । उसले उसलाई हानेको छ, उसले उसलाई । पिच्कारी पच्याका भरेर छ्यापेका छन्, लगाएका लुगा नौरङ्गी पारेर बिगारेका छन्, टाटेपाटे बनाएर सिँगारेका छन् । परम्पराका पदचापमा समयको अन्तरचाप थपिएको छ, उमङ्ग र उल्लासको नाममा रङ्ग आक्रमणले धेरैलाई आतङ्कित पारेको छ । एक हप्ता अघिदेखि नै युवतीहरू घरबाहिर निस्कन मुस्किल पर्छ, निस्कियो कि लोला खानुपर्छ । घरको कौशीबाट, झ्यालबाट, पर्खालभित्रबाट, बाटो दोबाटोमा, चोकमा, गल्लीमा जताततै लोला बोकेर प्रहार गर्न तम्तयार उरन्न्ठेउले झुण्ड, अहँ उम्कने कुनै उपाय छैन । होली रे होली !, लोलाका गोली !!

फागु एक प्रकारले रङ्गहरूको जात्रा हो । सांस्कृतिक पर्व हो । पर्वप्रति गर्व गर्नुपर्छ । मौलिकताको जगेर्ना हुनुपर्छ । तर यता आएर फागुमा लागु मिसिन थालेको छ । मिसावटले हाम्रो सांस्कृतिक स्वास्थ्यमाथि अतिक्रमण गरेर संक्रमण फैलाउँदै छ । त्यसै पनि मिसावटले खाद्यलाई अखाद्य बनाइदिन्छ, सक्कलीलाई नक्कली पारिदिन्छ । स्वस्थलाई अस्वस्थ बनाउनु मिसावटको धर्म हो, जसरी आजकल ताजा हरियो तरकारीमा विषादिको प्रयोग गरेर उपभोक्ताहरूलाई विषपान गराइँदै छ । यहाँ त सांस्कृतिक मिसावटको सवाल पो छ त ! यो त नयाँ खच्चर संस्कृति निर्माण गरेर हाम्रो मौलिक सभ्यता समाप्त पार्नेतर्फ उद्यत छ । कुनै राष्ट्रको राष्ट्रियता, स्वतन्त्रता र जातीय अस्तित्व समाप्त पार्नु छ भने त्यहाँको भाषा र संस्कृतिलाई सिध्याउनु पर्छ रे ! हो, त्यसै त गरिँदै छ नि ! नेपालीहरूको पवित्र तिहारमा पटाका हाबी हुनु र फागुमा लोला हान्नु हाम्रो सांस्कृतिक जीवनमाथि बारुद सल्काउनु नै हो । यस्तै यस्तै मिसाटले नेपालीत्व अंशको वंशै समाप्त भएपछि न रह्यो बाँस, न बज्यो बाँसुरी ! यो सब सम्भव छ– सांस्कृतिक मिसावटको सुपर पावरमा ।

फागु पूर्णिमा आउन दुई दिन बाँकी छँदै यो लखरठ्याक आफ्नो नियमित दिनचर्याका निम्ति सुकिलो र सुग्घर कपडा लगाएर घरबाट बाहिरियो । बिहानैदेखि टोलका प्रायः सबै घरका छतछतमा ‘आयो आयो’, ‘हान हान’, ‘छ्याप छ्याप’को हल्लाखल्ला मिश्रित आवाज नसुनेको कहाँ हो र ! आफू जस्तो अर्धवृद्धलाई कसले के पो गरिहाल्ला भन्दै ठमठम हिँड्दो थिएँ म । एउटा गल्ली नाघेर अर्को चोकको छेउमामात्र के पुगेको थिएँ, थाप्लोबाट पूरै शरीर भिज्ने गरी पानीको फोहरा खस्यो । निथ्रुक्कै भिजेको टाउको उठाएर फोहरा खसेको ठाउँतिर यसो नजर लगाएँ– किशोर अवस्थाका केही ठेउका ठेउकीहरू खूब रमाइलो मानेर थप लोला हिर्काउन थाले । शरीर डुङडुङ्ती गनाएको गन्धले नाक छेडेपछि पो थाहा भो, ममाथि बर्साइएको फोहरा नालीको फोहर पानी थियो । हे फागु अब म कता भागूँ ?? 

ती उपद्रयाहा किशोर किशोरीलाई एक दुई गालीका शब्द फिर्ता के पठाएको थिएँ– जवाफमा उनीहरूको लोलाचार्ज आरम्भ भइहाल्यो । यसै त भिजिसकेको ज्यान थप लोलाको अनगिन्ती प्रहार खपेर म जताबाट आएको थिएँ उतै फर्किएँ । लु, अब लखरठ्याकको गन्तव्य फेरियो । ऊ लोत्रे कान लगाएर आफ्नै घरभित्र छिर्दा दुर्गन्धको एउटा शक्तिशाली मोहरा नै छिरेछ कि क्या हो, घरका सबै नाक र मुख छोप्दै भन्न थाले– “हैन, कहाँ गन्धे नालीमा मुख जोत्यौ ए बुढा ? अहिले भरखर सध्ये निस्क्या हैन ?” म उनीहरूलाई कसरी बुझाउँ कि यो हाम्रो पवित्र होलीमा मिसिएको सांस्कृतिक मिसावटको करामत हो भनेर ...! हतप्रभ हुँदै दुर्गन्ध समन गर्न लखरठ्याक स्नानगृहमा छि¥यो ।

त्यसो त आजकाल होली खेल्न फागुपूर्णिमा नै कहाँ कुर्नुपर्छ र ! तपाइँ जतासुकै पुग्नोस् र यसो नजर लगाउनोस् त्यहाँ जोकसैले बेपर्वाहसँग होली खेलिरहेको देख्न पाउनु हुन्छ । सत्ताशक्तिको उन्मादमा शासकहरू होली खेलिरहेका छन् । राजनीतिका नाउँमा राजनेताहरू आपसमा लोला हानिरहेका छन् । रङ्गरउसको सीमा नै छैन । 

अगुवाहरू आम नागरिकका अधिकारमाथि निर्लज्ज होली खेलिरहेका छन् । नव धनकुवेरहरू धनको ढुकुटी बढाउन अनेककानेक पसल थापेर शिक्षाको फसल फलाउँदै होली खेलिरहेका छन् । दिनदहाडै मानिसको हत्या गर्ने हत्यारालाई न्यायाधिकारीहरू नै पैसाको कुम्लो कुम्ल्याएर निरपराध घोषित गरी न्यायमाथि होली खेलिरहेका छन् । बलात्कार काण्डमा रङ्गेहात पक्राउ परेका अपराधीलाई लाखौँको लेनदेनपछि मिलापत्र गराई शान्ति सुरक्षामाथि नै होली खेलिरहेका छन् । राष्ट्रसेवकहरूको सेवा अद्वितीय बन्दै गएको छ । सेवाग्राहीसँग नजराना नलिई एउटा टेवलको फाइल अर्को टेबुलमा सर्दै सर्दैन । बिना कमिसन कुनै योजनै बन्दैन, बनिहाले कार्यान्वयन नै हुँदैन । बजेटको दुई तिहाइ हिस्सा आफ्नो गच्छेअनुसार भागबण्डामा नपरे के कार्यान्वयन गर्नु ? यसरी राष्ट्रका राष्ट्रसेवकहरू मुलुकको विकास निर्माणमाथि होली खेलिरहेका छन् । शिक्षा, स्वास्थ्य, सरकार, सदन, सरकारी निकाय, प्रशासन, विभाग कहीँ कतै पनि अछुतो देखिन्न– उल्लासमय होली चलिरहेको छ जताततै । यी त भए वर्तमान नेपालका दैनन्दिन हुने होलीका केही प्रतिनिधि दृश्यहरू । 

महान् छिमेकीले महिनौँसम्म नाकाबन्दी लगायो, नून छैन, तेल छैन, आगो बाल्ने ग्याँस छैन, भान्सा बन्द भयो, यातायात ठप्प । यत्रो आपत र संकटबाट देश गुज्रिँदा पनि नाकाबन्दी नदेख्ने स्वाँठहरूको राज्यमा सरकार नामको गिरोहले शासन गर्छ अनि सिर्फ आसेपासेहरूले मात्र राशन घिच्छन् । कालाबजारीहरूको दशैं चल्छ, सेकुवा–बियरको पार्टी जम्छ । निम्छरा जनताको रगतलाई रङ्ग बनाएर उमङ्गको होली खेलिन्छ । अख्तियार दुरूपयोग रोक्ने निकाय अख्तियार छ– त्यही अख्तियारको हतियारले कसैलाई रोडपतिबाट करोडपति बनाइदिन्छ । संविधानले चुनाव गराऊ भन्छ, निर्वाचन आयोग चुनाव गराउँछ र महिनौँसम्म परिणाम लुकाउँछ । भ्रष्टाचारीमाथि न्यायको तरवार चलाउने न्यायाधिकारीमाथि महाअभियोगको डण्डा हानिन्छ । बाफरे बाफ ! झण्डै उल्टाउने पण्डाहरूको ‘फण्डा’ देखेर यो लखरठ्याकको दिमाग नै ठण्डा भइसक्यो । होली रे होली ! वा होली क्या होली ! यस्तो पो होली !! अन्यत्रको होली के होली !!! जय जय होली !!!!

फागुन, ०७४
narnath@gmail.com