त्यो चटकेले स्कुलमा धेरैवटा चटक देखायो । केटाकेटीहरू खुबै प्रभावित भए चटकेसँग । अनि उसले भन्यो– “म चटकले जे पनि गर्न सक्छु ।”

उसको कुरा सुनेर एउटा बालकले भन्यो– “साँच्चै ! तपाई जे पनि गर्न सक्नुहुन्छ त ?”

चटकेले बालकलाई ध्यान दिएर हेर्यो र भन्यो– “हो त ! जे पनि” र थप्यो– “तिमी अलि होचो भयौ जस्तो लाग्दैछ, तिमीले बढा भन्यौ भनें म तिम्रो उचाइ बढाएर अग्लो बनाइ दिन पनि सक्छु, बनाइदिउँ ?”

चटकेको कुरा सुनेर केटो हड्बडायो र भन्यो– “नाइँ नाइँ, अग्लो त नबनाइ दिनु । यसै पनि लगाएका लुगा छोटा भएर र ठिक्कका लुगा नभेटेर कम्ता दुख भा’को छैन । त्यस्तै साथीहरूले जिस्क्याएर उधुम गर्छन्” र थप्यो– “अँ बरु सक्नुहुन्छ भने कपडालाइ चैं मेरो उचाइ अनुसार आफैं बढ्ने बनाइ दिनुस् न ।”

त्यस दिन चटकेले सोच्यो– “अब भनें मेरो चटकले हावा खाने भो ।”

(गोविन्द शर्माजीको लघुकथा “जादुगर” को नेपाली रुपान्तरण)

गोविन्द शर्मा (भारत)
अनु. जीवन दाहाल