सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अम्मल आहारिसे पीडाको !

Nepal Telecom ad

यी पङ्तिका लेखकको सिर्जनशैली देखेर आरिस लाग्छ । कति राम्रो अर्थ सन्तोस नै सुख रे । म पनि सुखी हुन खोज्छु । सन्तोस गर्न खोज्छु ।{{read_more}} अरुलाई height= अर्ती दिने बेलामा यही मन्त्र जप्छु । लोग्नेलाई सम्झाउँदा । छोराछोरीलाई बुझाउँदा । भाइ भतिजालाई अंशमा करकर नगर भन्दा यही मन्त्र अगाडि सार्छु  ।तर के गर्नु ? सछिमेकीले ठूलो घर बनाए भने प्रेसर बढ्न थालिहाल्छ । त्यसै हिन भावनाले किचेर ल्याउँछ, आफ्नो वर्षौंसम्म फिनिसिङ भएन ! उनीहरू रंगरोगन गर्छन् ।  आफू खुइलिएको अपुरो घर हेर्छु र टाउको दुखाउँछु ? रङसम्म पोत्न सकिएन ! घर हेरे पनि पीडै । रङ हेरे पनि पीडै । तिनका घरले हिँउँदका घाम छेकिदिएका बेला त लाग्छ हमर लिएर आफ्नो जत्रै साइज मिलाई दिऊँ । भनेर मात्र के गर्ने फेरि आफ्नो थिएन अरुले दिएन भन्यो चित्त बुझायो 

यो पीडा मलाई मात्र हुने चाहिँ होइन । लोग्ने पनि बेलाबेला नवकल्ने होइनन् । अर्काका श्रीमतीका सुवान, सिलिमपन, सरसफाई देखेर मलाई गँबारबाहेक केही देख्ने होइनन् । उनलाई त यो पीडाले विचलित बनाउनासाथ माथिको मन्त्र सुनाइहाल्छु । फेरि आफै देख्छु छिमेकीका घरमा जहानपिच्छे बाइक, स्कुटर । आफू थोत्रो गाडीमा भेडेबाख्रे यात्रा ! घ्यार्य गरे पनि पीडै । टिं टिँ गरे पनि पीडै । कतै हिँड्न पनि मन लाग्दैन । कसैकहाँ जान पनि मन लाग्दैन । यो हिँड्नु र जानु भनेको पनि देखाउन मात्र हो कि क्या हो ?  

टाउको दुख्ने कुरा पनि कतितिर भने भनिसाध्य छैन । पहिला पहिला अरुका छोराले कमाएको देख्छु आफ्नो छोरो सानै छ भन्ने पीडा लाग्थ्यो । अरुका छोराले बुहारी ल्याए आफ्नाको कसरी जोडी बाँध्ने भन्ने पीडा । जोडी बाँधिदियो अपुरो घरमै आधाआधा अंश लाउनुपर्ने पीडा । पीडैपीडामा रस रङका कुरा बिर्सिइसक्ती रहेछु । लोग्ने एक कुनामा पीडित आफू अर्को कुनामा पीडित । वैकको स्टरेस्टको पैसा जम्मा गर् भन्ने म्यासेज आएपछि सात दिनको निद्रा हराम । घर छ भन्यो माथिको मन्त्र जप्यो । छोराको स्कुलको बिल आएपछि निद्रा हराम । पछि कमाउला भन्यो माथिको मन्त्र जप्यो । अस्पताल गयो हरेक चोटि नयाँ नयाँ रोग देखाउँछ र औषधी थप्छ । औषधीले त चलेको छ नि भन्यो उही मन्त्र जप्यो । हुँदा हुँदा ऐना पनि फुटाइदिउँ लाग्छ । लोग्नेले बूढी भइस् भनेको वचन र ऐनामा देखिएको अनुहारले आफैलाई निमोठूँ लाग्छ । तर के गर्नु आफ्नो दुनो आफै सोझ्याउनु पर्छ । दुनो सोझ्यायो मन्त्र जप्यो बस्यो । जे भए पनि आफ्नो नाक काटी अर्काको पीँध टाल्नु भएन ।  

घरव्यवहार, सन्तान, लेग्ने आफन्तको पीडाको कुरा नगरुँ । घरै चिरे पनि छोरैले लग्यो भनेर चित्त बुझ्दो रैछ । लोग्ने बरालिए पनि साँझ घरै फर्कन्छ , ढोका थुनेर थर्काउन पाइन्छ । छोरो बटारिए पनि तँलाई जन्माउँदा काटेको घाउ देखाइदिऊँ भनेर थर्काउन पाइयो । यो  पीडाको मूल चाह्ँि छिमेकमै छ भन्या । अलि हुने खाने जस्तो नदेखाए त मान्छे पनि गन्दैनन् । आफू नमस्कार गर्न थाल्यो जिन्दगीभर नमस्कार खोज्छन् । विवाह, व्रतवन्ध, कार्जे जे मा गए पनि कोसेलीकोपोको, उपहार, भेटी आदिसँग मात्रै दाँज्छन् । गरिब भए पनि तिनका मलामी काम लाग्छन् भन्ने बुझ्दैनन् । मनको बह कसैलाई नकह भनेको यही त होला नि । अरेक चाडले पीडा ल्याउँछ । हरेक उत्सवले पीडा थप्छ । हरेक कार्जेले पीडा दिन्छ । अरु हाँस्छन् आफू रुन थाल्नुपर्छ । अरु राम रमितामा हुन्छन् आफू खुम्चिनुपर्छ । 

हेर्नु न  छिमेकीले झकमक्क गहना लाउँछन्, कपडा फेर्छन्, उनीहरूकैमा आउने पाहुनाले बढी कोसेली ल्याउँछन् । उनीहरूकै बैठक कोठमा ठूला सोफा र दराज देखिन्छन् । पाटीतिर सँगै उभिन पुगिए बर्बादै हुन्छ भन्या ।  आफूले सुनपानी खान फुलि डुबाउनु पर्ने ! झन् पीडा छ । लोग्नेसँग पीडा पोखूँ उही पीडित बन्ने । छोरासँग पीडा पोखूँ छोराबुहारीले नै छोडेर हिँड्ने । यो पीडा भन्ने चिज पोख्ने ठाउँ पनि मिल्दो रहेनछ । आफ्नो भाग्य आफैँसँग भन्थिन्, मावली घरकी बजै, हो रहेछ । 

मेरो पीडा विरामको मूल जरो चाहिँ छिमेकी नै हुन् । उनीहरूका घरमा घिउको वासन आयो । छोराछोरी कचकच गर्त थाल्छन् । मासुको बासन आयो उही कचकच । बर्थडे सर्थडे आयो उपहार किन्ने पीडा । सरादेसरादे आयो थोत्रो साडी लाएर जाने चिन्ता । उसका छोरीको विवाह भव्य गर्छ र भोज खुवायो आफूले चाहिँ खुवाउन सकिएन भन्ने पीडा । हुँदाहुँदा त छिमेकी सिलिम, आफू हात्ती भइयो भन्ने पनि पीडा । यो पीडाको सिङ पुच्छर जरो किलो सारा छिमेकमै छ कि क्या हो । कहिले काहीँ त पर ओडारमै गएर बसूँ कि जतिकै लाग्छ । 

होइन म त्यति अबुझ छु र ? मर्दाको मलामी जिउँदाको जन्ती भनेको छरछिमेकी नै त हो नि । यसो मन पोख्न नपाएका बेला उनीहरूकै अगाडि नपोखे कहाँ पोख्नु ? किन छिमेकीमा गएर ठोकिन्छ यो पीडा?  यो पीडा पनि अम्मल नै हो कि क्या हो ? खैनी चुरोट जस्तो । जाँगा भाड जस्तो । होइन संयम हुनुपर्छ भन्ने हाल्छ । माथिको मन्त्र समझन्छु ।  सोचमग्न हुन्छु तर पीडाले घेरिहाल्छ । तल्ला घरलाई देख्यो एउटा पाटो दुख्छ माथ्ला घरलाई देख्यो अर्को पाटो दुख्छ । मुटुरोगै हुन लाग्यो भन्या ।

लाग्छ मैलाई मात्र पीडा छ । दुनियँ मैलाई पीडा दिन अनेक गरिरहेका छन् । अरुले जसरी पीडा दिन्छन् आफू उसै गरी अरुलाई पीडित पार्ने कोशिस गर्छु , झन् पीडित बन्छु । अरुका छोराछोरी हुर्केको देख्छु आफ्ना सानै । अरुका लोग्नेको मिठो बोलीबचन आफ्नाको कर्कस, अरुका बाबुआमा धनीमानी आफ्ना गरिब, अरुका दाजुभाइ विदेश गएर पैसा पठाउने आफ्ना आफैसँग माग्ने । एउटै बारीको पाटो तीन चिरा पार्ने । अरुका ससुराली मा लोग्नेको इज्जोत छ आफ्नै हेपिने । अरुका केस सिल्की आफ्नो गुजमुजे, हुँदा हुँदा बुहारीले पनि हेपेकी । टाउकै फुट्न खोज्छ भन्या ।

म रन्थनाएर कुद्दैथिएँ एउटा साथीले सल्लाह दियो । पीडा ठिक भइहाल्छ जसरी सम्झायो । उसले भन्यो, कुरा साधारण छ । पहिला स्लिम हुने, छिमेकिको भन्दा राम्रो घर बनाउने, नयाँ गाडी किन्ने, मनलागे जति गरगहना लाउने, लोग्ने र छोराछोरीलाई औठी गहना लाइदिने, बाबुआमाका खातामा टन्न पैसा जम्मा गरिदिने, छोराछोरीलाई मासुभात खुवाउने, कुरौनी र घिउभात खुवाउने, भाइबहिनीलाई भनेजति पैसा दिएर घुम्न पठाउने, छोरीलाई प्रेम गर्न दिने, छोरालई प्रेम र विवाहको स्वतन्त्रता दिने, लोग्नेलाई भट्टीमा होइन रेस्टुरेन्ट पठाउने अनि केको पीडा । हुन ता हो ता नि तर यतिका गर्न मेरो कमाइले कहाँ पुग्थ्यो । उसको सल्लाहले पनि पीडै दियो । मोरो पछि बुझ्दा थाहा भयो स्वास्नीसँग झगडा गरेर मलाई भड्काउन आएको रहेछ । आजकाल सडकमै सुत्छ रे । पहिला सँगै पढेको भनेर के गर्नु आ आफ्नो बाटो आआफ्नो दुनो ।

जे सम्झ्यो त्यही कसरी सम्भव बनाउने भन्ने पीडा । घरको कंकाल बनाउँदा लागेको कर्जाले आफैं कंकाल नहुञ्जेल नछोड्ने । थोत्रो बाइक लिँदाको ऋणले लोग्ने कहिल्यै हाँसेर बोल्ने होइन । छोरो यो भएन र त्यो भएन भनिरहन्छ । छोरी यो सामान भएन र त्यो सामान भएन भनेर कचकचाउँछे । ससुरा बाको दमको ओखतीले आफ्नै दम निकाल्छ । सासूआमाको वर्खान्तमा लाएको पुराणले आफैँलाई सासुसँगै टिकट काटेझैँ पारिसक्यो । न मैनावारी हुँदा प्याड फेर्ने पैसा पुग्छ न कपाल राम्रोसँग नुहाउने स्याम्पु किन्ने पैसा । घर नामको कंकालबाट बाहिर निस्कियो बाटैभरि बिउटी पार्लर । सबैका साइनबोर्ड मेट्तै हिँड्नु जस्तो । चाउरिन थालेका अनुहारमा एउटा क्रिम लाउन त भन्यो ओल्टाइपल्टाइ हेरेर छोडेर हिँड्नु पर्छ । पाँच सय हजार मुनिको कुरै छैन ।दुनियाँ कसरी मेकप गरेर हिँड्छन् भन्ने चिन्ताले म यसरी गलेकी भनिसाध्य छैन बाबा ठाकुरे । म पहिला कहाँ यस्ती थिएँ र ? यी आज यस्ती भए । उम्केको माछो ठूलो भन्छन् । वितेको समय ठूलो भइराछ । कलेजका साथी बेस लागि रहेछन् । कुरा मेकपकै गरुँ, टेलिभिजन खोल्यो मेकपवाली भिजे मेकपवाली मोडल, मेकपवाली नेती । आफूलाई यही मेकअपले स्याकअप गर्ला जस्तो भइसक्यो । जे हेर्यो त्यहीँ पीडा । 

एउटी सम्झाउँदै थी, त्यसो त सडकमा रात गुजारा चलाउने पनि छन् नि। किन छैनन् छन् त । तैँ गएर सडकमा बसे त अलि शान्ति मिल्थ्यो नि भनूँ कि भनेँ फेरि मुखाले भन्ली भनेर मुख समालेँ । बाले सिकाएको थुतुनो र …जोगाउनु भन्ने उखान चाहिँ बिर्सिएकी छैन र मात्रै नभए केके भइसक्थ्यो । कुरै नगरुँ न यो पीडा को बिराम लागे पछि अरुले नाङ्गो आँखाले देखेको कुरा हेर्न मैले चाँहि किन चस्मा चढाउनु पर्ने भनेर पनि पो पीडा हुन्छ त । ऐना हेरेर आफ्नै गाला पड्काउँ जस्तो । शरीरका  सेता रौँ तातो पानी खन्याएर खसी खुइल्याउँदा झैँ खुइल्याऊँ जस्तो ।केही गर्दा सन्च हुँदैन । बरु लुतो लाग्दा यस्तो पीडा नहोला त्यस्तो पो हुन्छ त ।

आहारिसे पीडाको कुरा नगरुँ । यो एक ठाउँबाट यतिछिटो संक्रमण हुन्छ कि, महामारी किन यति छिटो फैललता ? गाउँघर आफन्त कुल कुटुम्ब कही कतै केही हुनै हुँदैन । कसैको असल छोराको विवाह भयो ज्वाईँ बनाउन नपाएको पीडा, कसैकी सुशील छोरीको विवाह भयो बुहारी बनाउन नपाएको पीडा, कोही प्रेम जोडी लठारिएर हिँडेको देख्यो आफू लठडारिन नजानेको पीडा, कतै रेस्टुरेन्ट देख्यो किनेर खान नसकेको पीडा, कतै लोग्ने स्वास्नीको फोटो देख्यो आफ्ना लोग्ने स्वास्नी मिल्न नसेको पीडा, तर्कारी बजार गयो भने जति किन्न नसकेको पीडा, कपडा पसल देख्यो लाउन नसकेको पीडा, जता गयो त्यतै पीडा, जे देख्यो त्यही पीडा, मर्छु कि क्या हो म त यही पीडाले । किन चाउरिस परिच आफ्नै पिराले । 

एउटा मास्टरले कक्षामा पढाउँदा सल्लाह दिएथ्यो । तिमीलाई आपत पर्यो भने बाबुआमा वा शिक्षकसँग सल्लाह लिनू । उनीहरूले कहिल्यै गलत सल्लाह दिँदैनन् । हो जस्तो लाग्थ्यो उसबेला । वाग्मतीमा संलो र धमिलो पानी बगेसँगै त्यो मास्टरले पनि ढाँटेछ जस्तो लाग्छ अचेल । मोरो मैलाई मन पराउँथ्यो र त्यसो भन्यो कि के जान्नूँ । घरमा स्वास्नी भए नभएको कहिल्यै भन्दैन थियो केटीका कुरा भने आधा पिरियड गरिरहन्थ्यो । उसले एक दिन भनेको थियो पीडा वा इष्र्या विकास हुँदैछ भन्ने अनुभूति मात्र पनि जिन्दगी सुधार्न काफी छ । उसका तिनै सुवचन सम्झिएर फोन नंबर खोजिहोरी भेट्न गएकी त उसको जस्तो पीडा मेरो रहेन छ । तीन ओटी मास्टर्नीले छोडिसकेछन् । ऊ विचरा पनि अरुलाई अर्ती दिन मात्र जान्दो रहेछ । छोराछोरी समान हुन् भन्थ्यो तिन ओटी मास्टर्नीबाट क्रमशः पाँचोटी, चारोटी र तीनोती छोरी पाएको रहेछ छोराको खोजमा । मैलाई फसाउला भन्ने डरले कुरै नसुनाइ हिँडेँ । त्यहाँबाट निस्कँदै गर्दा छिमेकीले पनि आँखा तरे जस्तो लाग्यो आफू त । के गर्नु अर्ती दिन जति लिन वा लागू गर्न नसकिँदो रहेछ ।

पीडा सुनाउने मान्छेको अभाव हुँदो रहेछ जिन्दगीमा । कुरा गर्यो कुरैको दुख भने जस्तो पीडा भको कुरो लुकाउनै दुख । बाबुलाई सबै कुरा सुनाउनै मिलेन, उनका आफ्नै पीडा छन् । आमा मरेको थुप्रो भइसक्यो । सौतेनी आमालाई सुनाऊँ भने उल्टोपाल्टो सिकाउलिन् भन्ने डर । साथीहरूलाई भेटेर सुनाऊँ भन्यो उनीहरूका डरको मार्वल टेक्ता फोहोर लाग्ला भन्ने पीडा, उनीहरूका घरमा चिया पिएको पैँचो तिर्न नसकिएला भन्ने पीडा । उनीहरूसँगै तीज मनाउन र पिक्निक जान वस्त्र गहना नभएको पीडा । उनीहरूका साथी बनेर छोराछोरी बिग्रलान् भन्ने पीडा । बरु परपरै तर्किएर हिँड्यो लेठै खत्तम । 

साथीको कुरा गर्दा एउटी थी । केहीको चिन्ता नगर्ने । जे पर्छपर्छ भन्नेबाहेक उसका मुखबाट केही निस्कँदैन थियो । केटासँग पनि फ्रयाङ्क केटीसँग पनि फ्याङ्क । साथीसँग पनि उस्तै, गुरुसँग पनि उस्तै । घरमा पनि उस्तै बनमा पनि उस्तै । बजारमा पनि उस्तै घरबारमा पनि उस्तै । एक दिन अति टाउको दुखेका बेला उसको याद आयो । कुनै दिन समय मिलाएर गाडीभाडा जुराएर, लुगा आइरन गरेर, नयाँ स्यान्डल लाएर, छोरीका मेकअपका सामग्री प्रयोग गरेर भेट्न गएँ । उल्टो पीडा थपी बजिनीले । उसका घरको भर्याङ चढ्दाचढ्दै हात खुट्टा लगेर पीडा भयो । दराज र सोफा देखेर भाउन्न होला जस्तो भयो । फराकिलो कम्पाउन्ड र बगैँचा देख्दा आँखै फुट्ला जस्तो । किचनमा आउने तातो पानीले पोलेर हातैमा घाउ बनायो । उसको सुत्ने खाट र फर्निचरले आफैँलाई किचे जस्तो । आफ्ना कुरा राख्ने आँटै आएन । त्यहाँ बस्ताबस्तै जीवन आजैसम्मलाई रहेछ जस्तो भयो र हतार छ भनेर चिया पनि नपिई छौडिएँ । ऊ मोरी बाटैसम्म पुर्याउन आई । उसलाई पनि केही पीडा छ जस्तो लागेर अलि सन्तोसको सास फेरेँ । ऊ विस्तारै हिँड्दै बोल्दै गई । उसका कुराले चिमोटी रहे । बल्ल एउटा कुरा सुन्न पाएँ मेरो पीडालाई मलम गर्ने । त्यो के भनेर भनेदेखिन् उसको लोग्ने कान्छी लिएर अर्कै घरमा बस्तो रहेछ । फेरि थक्कथक्क भयो । बरु त्यसैको सङ्गत नछोडेर एउटै केटासँग बिहे गरुँ भनेको भए पनि त यति पीडा हुने रहेनछ । फेरि के गर्नु मोराले अस्ति नै अर्की ल्याइहाले छ । फेरि पीडै थपियो । 

लौन यो पीडाको अम्मलले डुबाएका मानिस अरु को को हुनुहुन्छ । हुनुहुन्छ भने मसँग सम्पर्क गर्नुहोला । मसँग अचुक एउटा मन्त्र छ । त्यो मन्त्र जपेका दिनदेखि शान्ति मिल्छ । देखेको छु मैले शान्ति मिलेका मान्छे । मन्त्र ध्यान दिएर सुन्नुहोस् ः सन्तोसम् परम् सुखम् ! यो मन्त्र कसैलाई फाप हुन्छ कसैलाई अफाप हुन्छ । तै पनि जप्न भने छोड्नु हुँदैन । एक घर विष्ट दश घर कामी जस्ता तिमी उस्तै हामी । कि कसो ? अरुका पनि होलान् नि पीडाका अमल त । मैले पो भने अरु कोही भन्ने होइनन् । आफ्नो दुनो आफैसँग होइन त ?

पाँचथर, हाल : काठमाडौं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय वासुदेव बाजे

जय वासुदेव बाजे

डा. रमेश शुभेच्छु
घिराैँलाे

घिराैँलाे

डा. रमेश शुभेच्छु
तीन टुक्रे कविता

तीन टुक्रे कविता

डा. रमेश शुभेच्छु
चार ठोकान

चार ठोकान

डा. रमेश शुभेच्छु