सूर्य छाप वाम याने घाम सरकार बन्नासाथ नेपाली कांग्रेस पार्टीको छाया सरकार पनि एक्कासी अस्तित्वमा आएको छ । यद्यपि छायाको कुनै भौतिक प्रमाण हुँदैन ।

यो खासमा उज्यालोको अभाव हो । अर्काे शब्दमा भन्ने हो भने प्रकाशहीनता नै छाया हो । अर्थात् छाया आफैंमा केही पनि होइन । तथापि एउटा छायावादी किसिमको ‘केही न केही’ त हुन्छ नै । नत्र किन यसरी छाया सरकारको गठन हुने गर्छ त ? यही एकमात्र ठोस आधारमा कांग्रेसी छाया सरकार बनेको हुनुपर्छ ।

‘बल्ल नेपाली कांग्रेस पार्टीले आफ्नो चुनावी वाचा पुरा गर्ने भएको छ ।’ म दंग परेर आफैंलाई भन्छु ।
‘किन कविजी ?’ म आफैसँग सोध्छु पनि ।
‘यो त स्पष्टै छ नि ।’
‘के स्पष्ट छ, कविजी ?’
‘कांग्रेसी चुनाव चिन्ह रुख होइन र ?’ म भन्छु ।
‘त्यो त हो ।’
‘अब भने यो रुखले साँच्चिकै छाया दिने भयो ।’ म मुस्कुराएर भन्छु, होइन त कविजी ?’

नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) को गठबन्धित सरकारले अहिलेसम्म पूर्णता प्राप्त गर्नसकेको छैन । एक प्रकारले यसले शनैस्शनैस् आकार लिइरहेको छ । पहिले नेकपा एमालेका अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सी सम्हाले । त्यसपछि झटपट दुई थान मन्त्रीलाई सरकारी सपथ खुवाए । नेकपा एमालेको कोटाबाट कमरेड लालबाबु पण्डित र कमरेड थममाया थापालाई । र केही दिनको कमरेड प्रधानमन्त्री केपी ओलीको नेकपा माओवादी (केन्द्र) का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको एकतात्मक मन्त्रणापश्चात कमरेड रामबहादुर थापा ‘बादल’, कमरेड मातृकाप्रसाद यादव र कमरेड ईश्वर पोखरेल मन्त्री भए । अँ, अर्थमन्त्रीमा कमरेड युवराज खतिवडा पनि आए । (याद आयो) । यस प्रकार एउटा आकर्षक किस्ताबन्दीमा कमरेड खड्गप्रसाद शर्मा ओलीको प्रधानमन्त्रीत्वको वाम सरकार बनिरहेको छ । (र यो सतत जारी नै छ) ।

यसको विपरीत नेपाली कांग्रेस पार्टीको छाया सरकार भने थोकको हिसाबले निर्मित भएको छ । (यसै भन्छन्) । वास्तवमा यस विषयमा मेरो जानकारी त्यति सबल छैन । किनभने छाया सरकार भएकोले यसको यावत् शैली पनि उस्तै रहेको छ । तात्पर्य के भने सबै मन्त्रीमण्डलीय अवयवहरू घना छायामा रहेका छन् । यस्तोमा मैले छाया मन्त्रीहरूबारे कसरी थाहा पाउने ? हो, एउटा हलुका अनुमान भने अवश्यमेव लगाउन सकिन्छ । (मोटामोटी रूपमा भन्नोस्) । हेर्नाेस्, छाया सरकारकै भए पनि मलाई सबै मन्त्रीहरूका नाम खरर भन्न गाह्रो छ । मैले भनेँ नि, मेरो कांग्रेसी ज्ञान अतिशय कमजोर छ । त्यसकारण उदाहरण दिनलाई एउटासम्म नाम लिने प्रयत्न गर्छु ।
‘कुन चाहिंँ नाम कविजी ?’ म फेरि आफैंसँग सोध्छु ।
‘अघिल्लो शेरबहादुर देउवा सरकारकै मन्त्री हो ।’
‘के नाम कविजी ?’ म जोड दिएर भन्छु ।

‘एउटा कार्की थप भएको मन्त्री छ नि ।’ मलाई झ्वाट्टै पुरा नाम नआएकोले भन्छु, ‘उनले यो छाया सरकारमा निरन्तरता पाएका छन् रे ।’

एकाएक म भूतपूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नाम सम्झन्छु । उनले नेपाली कांग्रेस पार्टीको छाया सरकारमा पनि अर्थ मन्त्रालय पाएको भए कुनै आश्चर्यको कुरो होइन । यसको कारण के हो भने स्थायीजस्तै कांग्रेसी अर्थमन्त्री डा. रामशरण महतले नुवाकोटबाट नराम्ररी चुनाव हारेका छन् । र अर्काे वैकल्पिक अर्थमन्त्रीय नाम महेश आचार्यले पनि मोरङबाट चुनाव जित्न सकेनन् । (अन्य छाया सरकारका गृहमन्त्री, सञ्चार मन्त्री, कृषिमन्त्री, ऊर्जामन्त्री, कानुन मन्त्री, वनमन्त्री, संस्कृति मन्त्री, यातायात मन्त्री, महिला एवं बालबालिका मन्त्री, खेलकुद मन्त्री, भौतिक निर्माण मन्त्री, विज्ञान तथा वातावरण मन्त्री आदिका नाम थाहा हुनासाथ भन्नेछु ।)
‘कविजी, छाया प्रधानमन्त्रीचाहिंँ को नि ?’ म एकपटक फेरि आफैंलाई सोध्छु ।
‘मेरो विचारमा...।’

यो स्वयं सम्बोधित नाटकीय टेक्निक पनि त्यति काम नलाग्ने भएको छ । (यहीं अन्त्य) । किनभने छाया प्रधानमन्त्रीको नाम झन् बाक्लो छायामा परेको छ । मेरो विचारमा छाया प्रधानमन्त्री भएकोले वरिष्ठ कांग्रेसी नेता रामचन्द्र पौडेलले यो अवसर पाएको हुनसक्छ । तर यहाँ पनि उही प्राविधिक कठिनाइ आइपरेकोले यो सम्भव छैन । उनले सायद पहिलोपटक तनहँुबाट पराजयको तितो स्वाद चाख्नुपरेको छ । र यसको परिणामस्वरुप छाया प्रधानमन्त्री हुनबाट पनि बहुतै नमज्जासँग चुकेका छन् । त्यसउसले नेपाली कांग्रेस पार्टीका संस्थापन पक्षीय नेता सभापति शेरबहादुर देउवाले नै छाया प्रधानमन्त्रीको कुर्सी पाएकोमा कुनै शंका छैन । वस्तुत मायाको होस् अथवा छायाको होस्, उनी प्रधानमन्त्रीको लोभलाग्दो कुर्सी छाड्ने मनुवा नै होइनन् । त्यसमाथि ज्योतिषीको घोषणा अनुसार उनी सात पटकसम्म नेपालको प्रधानमन्त्री हुनेछन् । र यो छाया प्रधानमन्त्री मिलाएर जम्माजम्मी ६ पटक हुनेछ । (र बाँकी एकको लागि देखा जायगा प्रभु ।)

यही सिलसिलामा छाया प्रधानमन्त्री शेरबहादुर देउवा र उनको छाया सरकारमा पुरै समर्पित एक छायावादी कवितांश–
‘सनसन–सनसन पवन
हाय कांग्रेस अहो कांग्रेस
अनजान नील गगन
हाइ कांग्रेस हाउ कांग्रेस
अन्तरमनको यो जलन
हा कांग्रेस हौ कांग्रेस
अनायासको तडपन
अहो कांग्रेस एहोइ कांग्रेस
उत्तप्त दग्ध तनमन
इस् कांग्रेस उस् कांग्रेस ।’

कान्तिपुर, फाल्गुन २६, २०७४