काँधमा बन्चरो बोकेर
रुखको शितल छहारीमा [[read_more}}
थकाइ मारिरहेका छन् 
तथाकथित रुखका मालिकहरू ।

मानौ,
रुख उनिहरूको बपौति हो
बाबुको अंशको क्षेत्राधिकार हो
त्यसैले जे गरे पनि हुन्छ
काटे ताछे लछारे पनि हुन्छ
आफूभित्र दागाधारी अभिमान बोकेर
दम्भको मदिरा धोकेर
रुखकै शितल छहारीमा
थकाइ मारिरहेछन्
तथाकथित रुखका मालिकहरू ।

रुख, मात्रै रुख होइन
प्रकृति हो, जीवन हो प्राणहो
आश्रय हो, संसारको सम्मान हो
एउटा रुख ढल्दा
हजारौ जीवको आँत सुक्छ
मान्छेको मात्रै होइन
ईश्वरको पनि मन दुख्छ
पाहाडमा पैह्रो जान्छ
तराईलाई खडेरीले खान्छ
तर
निरुद्देश्य निस्प्रयोजित
समयको घोडा चढेर
दलालको अंगालोमा अघि बढेर
रुख मास्ने योजनामा
काँधमा बन्चरो बोकेर
रुखकै छहारीमा
थकाइ मारीरहेछन्
तथाकथित रुखका मालिकहरू ।

ए बुद्धुहरू हो !
रुख ढल्दा तिमीहरू कहाँ ठडिन सक्छौ ?
रुख नहुँदा
कस्को छहारीमा बस्छौ ?
अस्तित्वभन्दा अभिमान ठुलो होइन
दम नासेर दम्भ बाँच्दैन
तर पनि
यो दुनियाँलाई सकेसम्म दोहन गरेर
मोज मस्तीलाई जिन्दगीको अर्थ भरेर
रुख नास्न अधिकार पाए झैं
रुखकै शितल छहारीमा थकाइ मारीरहेछन्
तथाकथित रुखका मालिकहरू !

झापा