म लोग्नेमान्छे
स्वास्नीले
अकमकाइन् भने बाबुको नाम भनिदिन {{read_more}}
दौडिनुपर्छ डिएनए प्रयोगशालातिर
‘सन्तानको बाउ हुँ’ भन्ने दम्भ
कर्कलाको पानीजस्तो छ मेरो
म पुरुषप्रधान समाजको लोग्नेमान्छे
मलाई कसैले
बाउ औँल्याइदिनुपर्छ
मलाई कसैले
मर्द साबित गरिदिनुपर्छ
कुन्तीले
नपुङ्सक घामलाई बाउ देखाउँदा
‘असली बाउ म हुँ’ भन्न नसक्ने
पार्वतीले
‘शरीरको मयलको पोको हो’ भन्दा
चुपचाप पत्याइदिनुपर्ने
युगौँदेखिन् अझैसम्म
मेरो हैसियत उस्तै छ—
पुत्रेष्टि यज्ञको प्रसाद खाएर
बग्रेल्ती जन्मिएका छोराहरूको बाउ
म त्यही महान् दशरथ हुँ
कसैले
‘यी सन्तान तेरा होइनन्
कुशका हुन्’ भन्दा
‘होइनन्’ भन्नुपर्ने
‘हो रहेछन्’ भनिदिँदा
‘हो पो रहेछन्’ भन्दै हिँड्ने
मर्यादा पुरुषोत्तम राम हुँ म
सुपर्णखाको नाक काटेर पनि
आफ्नो नाक जोगाउन नसक्ने
उही आज्ञाकारी लक्ष्मण हुँ म
सात वर्षीया बालिकालाई
वैवाहिक बलात्कार गरेर
बच्चा जन्माउने सामर्थ्य देखायो भनिदिँदा
‘बलात्कार गर्ने सामर्थ्य थिएन’ भन्न नसक्ने
सत्तरी वर्षीय जीर्ण पुरुष
शिव शर्मा ब्राह्मण हुँ म
महिनौँ दासी बनाएर पनि
‘छोएकै रहेनछ’ भन्दा
‘छोएको हो’ समेत भन्न आँट गर्न नसक्ने
महावली रावण हुँ म
एउटी द्रौपदीको दम्भ तोड्न नसक्ने
पञ्चपुरुष पाण्डव हुँ म
पुस्तौँदेखिन् अझैसम्म
मेरो अहम् ज्यूँका त्यूँ छ
मेरो पुरुषार्थ जस्ताको तस्तै छ
म लोग्नेमान्छे
म पुरुषप्रधान समाजको एउटा पुरुष
मलाई अझै
कसैको ‘बाबु’ हुनुमा सङ्कट छ
मलाई अझै
कसैको ‘छोरो’ हुनुमा पनि सन्देह छ ।
काठमाडौं