गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा हामी कहाँ छौँ ? हाम्रा केके र कसकसका नाम छन् ? बुद्ध छन् कि छैनन् ? सगरमाथा छ कि छैन ? कञ्चनजंघा र यस्तै विश्वसम्पदा सूचीमा सुचिकृत स्थलका नाम छन् कि छैनन् ? हाम्रो धर्म संस्कृति जात जातिको नाम थर वा पर्व उत्सव छ कि छैन ? यो त्यति महत्वको कुरा भएन तर मेरा दिमाखमा केही नयाँ विषयले ठाउँ ओगटेको ओगटेकै छन् । ती सबै विषय त यहाँ भनिसाध्य छैन । म यहाँले सुन्न सकक्ने र बुझ्न सक्ने केही विषय भने आज उठाउँदैछु । चित्तबुझे ताली ठोक्नु होला । चित्त नबुझे ओठ लेप्र्याउन पनि पाइन्छ । यति हो रोस्टमै घेरेर घेराबन्दीमा पार्न चाहिँ पाइँदैन । 

हेर्नोस् न हामी विश्वमा कहलिएका जाति हौँ । लाउरेदेखि दाउरेसम्म हाम्रो उपस्थिति र नाम कहाँ छैन ? दाउरे लाहुरे, ढोके,पाले, धन्दे, कुचे, फोहोरे त छँदैछौँ हामीले चिनाउनु पर्ने र विश्वले रेकर्ड राखेरै पढ्नु पर्ने अरु कुरा पनि त छन् नि । जस्तो शहीद धेरै भएको देश नेपाल । यो पक्कै पनि अरु देशसँग मिल्दैन भन्ने लाग्छ भन्या हामीलाई । अर्को  हरेक बाटोको कोनी केजाति मार्ग कोनी केजाती मार्ग नाम भएको तर पुग्ने बाटो कतै नभएको देश ।  यो हाम्रो अर्को विशेषता हो । हामीले यो बाटो र सहिदलाई लैजानै पर्छ । अधिकांश मान्छे बाटैबाट सहिद भएका छन् । मिले तिनको क्याटागोरी गरे पनि हुन्छ । कुखुरा चोरको कुटाइबाट मरेको सहिद, कुखुरा मालिकको कुटाइबाट मरेको सहिद । बाइक चलाउन नजानेर भएको सहिद ट्रक चलाउन नजान्नेले पारेको सहिद, लोग्ने स्वस्नी झगडा गर्दा बनेका जुगल सहिद । बाबुछोराका झगडामा मरेका दुईपुस्ते सहिद, साली भिनाका हानाहानमा मरेका सालीभिना सहिद, छिमेकी छिमेकीको साँध मिचामिचमा मिचिएर मरेका छिमेकी सहिद । जगा दलाल दलालबीच रक्सी खाएर भएको झगडाबाट बनेका दलाल सहिद आदि इत्यादि । 

नेपाल धेरै साहित्यकार भएको देश हो । यहाँ ओठ निचोर्दा दुध आउने बालकदेखि लाठी टेकेर र बोकिएर मञ्चमा कविता पढ्नेसम्म कवि छन् । उनीहरूको एउटा फरक पहिचान छ । पारिश्रमबेगर कार्यक्रममा गएर तालि बजाउने लेखक भएको देश । पाठक भन्दा लेखक धेरै भएको देश । लेखकभन्दा प्रकाशक बढी  भएको देश । जे लेखे पनि कविता हुने देश । जे लेखे पनि कथा हुने देश ।  जे लेखे पनि उपन्यास हुने देश । नाटक थोरै लेखिने तर बारैकाल नाटक देख्न पाइने देश । गजलको राजधानी भएको देश । कविताको राजधानी भएको देश । गजल संम्राट् कवितासंम्राट, कथासंम्राट, निबन्धसंम्राट, मुक्तक सम्राट, समालोचना सम्राट, हाइकु संम्राट, तान्का सम्राट आदि संम्राट नै संम्राट भएको देश । साहित्यमा स्रम्राटै सम्राटको गणतान्त्रिक देश । 

लेखकसँग जोडिएका अरु पनि रेकर्ड छन् हामी कहाँ । तपाईँको साहित्यिक समाजको देश, प्रतिष्ठानै प्रतिष्ठानको देश, प्राज्ञ नै प्राज्ञको देश, पुरस्कार गुठी नै गुठीको देश, कृतिभन्दा पुरस्कार धेर मिल्ने देश, योगदानभन्दा बढी कदर हुने देश, हिमालआरोहण भन्दा रथारोहणम गौरव गर्ने देश । पदकै पदकको देश, विभूषणौ विभूषणको देश । कार्यक्रमै कार्यक्रमको देश । विमोचनै विमोचनको देश । अन्तरक्रियै अन्तक्रियाको देश । परिचर्चै परिचर्चाको देश । एकल वाचनै एकल वाचनको देश । श्रोताभ्दा कवि धेर र पाठकभन्दा लेखक बढी भएको देश । पुस्तक पसलैपिच्छे लेखक भेटिने देश ।
 
दिनदिनै नेताहरू डुक्रने खुलामञ्च भएको देश । खुलामञ्चमा डुक्रन नसक्नेले पार्क तताउने देश । पार्क र खुलामञ्चमा कराएर थाकेपछि सदनमा उङ्ने देश, आफ्नै नेता निदाउने अरुको अनुदानमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको देश । संसद्भवन बनाउन नसक्ने देश, मन्त्रालय भवन बनाउन नसक्ने देश, भाडामा चलेको देश । चोर पुलिस नै राष्ट्रिय खेल हुने देश । कहिले पुलिस चोर जस्तै देश । कहिले चोर पुलिस भन्दा ठूलो नेता बन्ने देश । देश गरीब भएपनि नेता सबभन्दा महँगो गाडी चढ्ने देश । छोराछोरीलाई विदेशी संस्कृति पढाएर र भोगाएर संसद् भवनमा जातीय पोसाक लाउने देश ,समानुपातिक कोटा भन्दै पछिल्लो झ्यालबाट देश लुट्ने देश, एकैचोटि आधादर्जन उपप्रधानमन्त्री भएको देश, चैसठ्ठी सदसीय मन्त्री मण्डल र ६०१ सांसद् भएके रुमाल जत्रो देश, सानो भए पनि झन्डै दर्जन संघ भएको देश । धेरै पाटी भएको देश, नेतापिच्छे गुठ भएको देश आदि इत्यादि  । यस्ता राजनीति र नेतासँग सम्बन्धित रेकर्ड हुन सक्ने कुरा धेरै छन् अहिले धेरैँ नबोलेकै जाति । बोल्नै परे अभियान चलाउनै परे छँदैछ । 

हाम्रो देशले खान्कीसम्बन्धी नाम लेखाउन सक्छ । भातेहरूको देश । दालेभातेहरूको देश । बाहिर मोमो खाए पनि घरमा भात खानुपर्ने देश । चाउमिन र भातसँगै खाइने देश । भैसी र बाख्राको मासु मिसाएर पार्टी खुवाइने देश । बारी बेचेर विदेसी रक्सीको पार्टी दिइने देश । दुध पिउनेको र पानी पिउनेको अपमान गर्ने र रक्सी कोकाकोला पिउनेको इज्जत गर्ने देश । बोतलको पानी खाने देश । बोतलको अचार खाएर टमटर कुहाएर फ्याँक्ने देश । भागमा अघाएँ भन्दा भन्दै भात थपेर फ्याँकेपछि मात्र अघाएछ भन्ने थाहा पाइने देश । सित्तै पाए अलकक्रा कोट्याएर खाने देश । रातोमाटो चालेर सुत्केरीको पेट भर्ने देश  आदि इत्यादि । 

हाम्रा केही सांस्कृतिक विशेषता पनि छन् ।  रक, क्लासिकल, ब्लूज सुने पनि रक्सी खाएपछि दोहोरी गाएर नाच्नुपर्ने देश । विदेशी बोतलमा हालेको स्वदेशी रक्सी खाँदा इज्जत मानिने देश । ३६५ दिनमा मिलाएर  हजार जति जात्रा देखाइने देश । सालिकै सालिकको देश । मालिकै मालिककको देश । मन्दिरै मन्दिरको देश । तेत्तीसकोटी देवताका जम्मा तीन कोटी पूजारी भएको देश । रक्सीले जातीय एकता ल्याउने देश । साँढे जुधाई प्रतियोगिता चल्ने देश । थुँवा जुधाएर लोहोरो फुटाउने देश । भालेजुधाई खेलाएर समिता हेर्ने देश । गहुँत छर्किएर शुद्ध बन्ने देश । विदेशीले उत्पादन गरेको जनै र कन्दनीले बाँचेको देश । आफ्नै लगौँटी नभएको देश तर लगौटी लाउनै पर्ने देश । गीति एल्बमै एल्वमको देश । सीडी र डीभिडीको देश । तारे होटलमा सिडी विमोचन हुने देश । पत्रकार आफन्त भए चर्चित गायक भइने देश । गायक नै मोडल गायकनै गीतकार र गायक नै लेखक हुने बहुमुखी प्रतिभाको देश । हिरोइनका गोप्य अंगमा चलचित्र टिकेको देश । नायकका सुडोल शरीर र हेयर स्टायलमा गर्व गर्ने देश । छोडपत्र र विवाह बराबरी हुने देश । अघोषित रेडलाइट एरिया चोकैपिच्छे भएको देश । हरेक साँझ केही सिकुटी र रक्सी विना निदाउन नसक्ने गरिबको देश । कुरा त अरु पनि थिए अहिलेलाई यति । 

धेरै राजा भएको देश । अरुका नामले चलेको देश । ऋणले चलेको देश । अनुदानले चलेको देश।  विश्वका लागि नोकर उत्पादन गर्ने देश । विश्वको नम्बर एक मगन्ते देश । आफ्नो पैसामा देखाउनलायक अनुहार नभएको देश ।  आफ्नो अन्न खाँदा लाज हुने र विदेशी पिनामा बाँचेको देश । आफ्नो धर्मसँस्कृति विर्सिएको देश । घरघरै वृद्धाश्रम भएको देश । विधवैविधवाको देश । अपाड्गै  अपाङ्गको देश । देश भन्दा पाटी पाटी भन्दा गुठ र गुठ भन्दा उपगुठ र नातापाता ठूलो भएको देश । राम्रा मान्छे विदेश पठाएर हाम्रा मान्छेलाई जिम्मा दिइने देश । अभियान चलाए यी सबै पक्षहरू गिनिज बुकमा लेखिन सक्छन् । कहीँ नभा जात्रा हाँडाीगाउँमा भनेको यही हो । हाँडीको देश पनि यही हो । गाउँको देश पनि यही हो तर नगरपालिका नै नगर पालिका छन् । कसैका घरमा हाँडीमा मकै भुटिँदैन । तर पनि धेरै नगरपालिका र महानगरपालिका भएको गरिब देश । 

मेरो देशलाई गिनिज बुकमा नाम लेखाउन मिल्ने अरु धेरै कुरा छन् । मूल कुरा त  छछ महिनामा प्रधानमन्त्री फेरिने देश । सयौँ सयौँ संसद् भएको देश । पूर्वसंसद् संगठन , पूर्वमन्त्री संगठन र पूर्वप्रधानमन्त्री संगठन भएको देश । दुनियाँको कहीँ कतै यस्तो होला । अब छिटै पूर्वराष्ट्रपति संघ र पूर्वउपराष्ट्रपति संघ खुल्दैछन् । पूर्वसहायक मन्त्री सहमन्त्रीको त खुल्ने नै भयो । पूर्व उपप्रधानमन्त्रीहरूको संगठन पनि खुल्न सक्ने अवस्था छ । हामीसँग के छैन । आयोग नै आयोगको देश भने पनि हुन्छ । हाम्रामा जति आयोग कस्का होलान् ? दुतावसै दुतावासको देश भने पनि हुन्छ हाम्रामा जति दूतावास दुनियाँमा कुन देशमा होलान् ? 

आफूसँग भएको निजी पहिचान विश्वसमक्ष किन प्रस्तुत नगर्ने ? प्राय बन्द भइरहने देश । जलस्रोतले सम्पन्न लोडसेडीडको देश । कृषिप्रधान अन्न आयात गर्ने देश । गाइ मासेर कुुकुर पाल्ने देश । बाख्रा मासेर खरायो पाल्ने देश । कुकुरसँग मर्निड वाक गर्ने देश । जनताले काँधमा बोकेको गाडी शासकले चढ्ने देश । यी पनि त हाम्रा निजी पहिचान हुन् नि । यी पनि त हाम्रा आर्जन, नयाँ पुस्ताका प्राप्ति र गौरवका कुरा हुन् नि । के विश्वले यो चाहिँ थाहा पाउनुनहुने ? यी एक एक विषयलाई विश्वसमक्ष पुर्याउनुपर्छ । 

गरिब जनता र धनी नेता भएको देश । कर्मचारी धनी र उद्योग धन्दा एवम् संस्थाहरू टाट पल्टने देश । राजनीतिमा पुस्तौनी घराना निर्माण गरेको देश । परियावादलाई प्राथमिकता दिने देश । नारीको किनवेच हुने देश । भ्रुणहत्याको उच्च दर रहेको देश । छोराछोरी पढाउन आमा डेरा बस्ने देश । छोराछोरी पढाउँदा पढाउँदै आमा पोइल जाने देश । विदेशीको कमाइले इन्टरनेटमा मनोरञ्जन गर्ने देश । बारी बाँझै राखेर चाउचाउले भोक मेट्ने देश । दुधभन्दा महाँगो मूल्यमा पानी किनेर खाने देश । यसरी पनि त वल्र्ड रेकर्डका शीर्षक जुराउन सकिन्छ । 

हो हामी केहीमा कम छैनौँ । हामी पायौँ भने स्विजरल्यान्डलाई नेपाल बनाइदिन सक्छौँ । सगरमाथालाई मैदान बनाउन सक्छौँ । छिमेकीलाई खोलो थुन्न लाएर घरखेतलाई पौडी खेलाउन सक्छौँ । आर्जे हेरेर चोर पत्ता लाउँछौँ । दिसा गरेपछि साबुन पानीले हात धुनुपर्छ भन्ने विज्ञापनमा खर्च गर्न सक्छौँ । साबुन पानी अर्कौसँग माग्छौँ । सयको योजना सम्पन्न गर्दा लाखसम्मको बिल मिलाउन सक्छौँ । धानफल्ने बारीमा घर रोप्छौँ । बारी बेचेर सेयरमा लगानी गर्छौँ । ज्योतिष हेरेर केटाकेटीको जोडी बाँदिदिन्छौँ । बाध पछार्न सक्छौँ बालो बिरालोसँग डराउँछौँ । सुनपानीले सारा अशुद्धलाई शुद्ध बनाउँन सक्छौँ । अनिवार्य ग्यास्टिक पाल्छौँ । गोबरका कुन्डमा दूध चढाउँछौँ । ढुगाको देउता पूजा गर्छोँ । धामी झाँर्कीकाट रोक पत्तो लाउँछौँ र निको पनि पार्छौ । शिकारी र दोबाटेको पूजा गर्छोै । बाबु जिउँदो छँदा भोकै राखे पनि मरेपछि तेह्रवटा र पर्षैपिच्छे खिरका डल्ला खुवाउँछौँ । सुनै नभए पनि बच्चाको नाककान छेडेर ढोडको ठेडी लाइदिन्छौँ । त्यसो गरे कानम सुन पर्ने विश्वास गर्छौँ । प्राय जुवातास खेल्न जानेकै हुन्छौँ । बुहारीको दाइजाले घरबार चलाउँछौँ । छोरीका रीतले व्यवहार मिलाउँछौँ । हाम्रा मौलिक पहिचानहरू धेरै छन् । यी प्रत्येक पहिचानले गिनिज बुक वल्र्ड रेकर्डमा ठाउँ पाउनुपर्छ । 

म मेरो देशका प्रत्येक पहिचानलार्य त्यो एउटै पुस्तकमा पल्टाएर पढ्न चाहन्छु । यहाँको समर्थन भए तत्काल इमेलमा सम्पर्क गर्नुहोला । इमेल नभए मोवायल हान्नुहोला । मोवायल नम्बर नमिले पुरानो बाजेका पालाको हुलाक कहाँ छ भन्ने सोधी खोजी गरी दुई रुपैँयाको टीकट टाँसी ढ्वाङमा छिराई दिनु होला । मेरो ठेगाना हो । मिस्टर अभिलेख बहादुर अलटाल, अक्ष्यक्ष– गिनिजबुक वल्र्ड रेकर्ड अप्डेड समिति, छत्तीस पुतली, पेपारा बस्ती काठमाडौँ, नेपाल । हामीसँग अनलाइनमा पनि जोडिन सक्नुहुन्छ । अनलाइन हुलाक जतिको भरपर्दो पहिचान नभएकाले अहिलेलाई गोप्य राखिएको छ । फोन नम्बर अफिसमा जोड्ने चन्दा उठेपछि जोडिने नै छ । आवश्यक परे ट्विटर, स्काइप, भाइबर आदिमा पनि आफ्नो विवरण पठाउन सक्नुहुन्छ । हामी हरेक पहिचानलाई रेकर्ड गराउँछौँ । 

पशुपति बहुमुखी क्याम्पस, चावहिल काठमाडौँ