झोला
झम्के साँझमा
ढक्ढकायो कसैले मेरो डेराको ढोका
चुकुल खोलेर हेरें {{read_more}}
सङ्घार छेउमै देखियो एउटा अनौठो झोला
र भन्यो–
‘गुड इभिनिङ कविज्यू, गुड इभिनिङ !’
देखें, त्यो झोलामा थियो
चे ग्वेभाराको रातो तारा अङ्कित टोपी
त्यही झोलामा थियो
महात्मा गान्धीको चश्मा र सुकिलो धोती
त्यहीं थियो गौतम बुद्धले ओडेको चिवर
र श्री ३ जङ्गबहादुरले चलाएको तरबार
सँगसँगै थिए–
कम्युनिस्ट घोषणापत्र र श्रीमती थ्याचरको हस्ताक्षर
माओ त्से तुङको फोटो र सन्नी लियोनको पोस्टर
स्टालिनको घोप्टे जुँगा र ट्राटस्कीको जुरेली कपाल
लेनिनको ओभर कोट र खु्रश्चेभको गोप्य डकुमेन्ट
झोलाबाहिर घुमिरहेका थिए जुनकीरीजस्ता लामखुट्टेहरू
झोलाभित्र छटपटाइरहेका देखिन्थे कलिला ताराहरू
झिलमिल–झिलमिल चम्किरहेको थियो झोला घरिघरि
र फेरिरहेको थियो आकार अमिबाले झैं
झोलाभित्र चलमलाइरहेको थियो केही घरिघरि
र छोडिरहेको थियो वासना कुनै धुपको झैं
‘मेरै डेरामा
कहाँबाट आयो यस्तो मायावी झोला ?’
ढोकाभित्रैबाट फुसफुसाएँ म आफैसँग
तर झोला
अचानक देखिन थाल्यो नृसिंह अवतार जस्तो
र छिर्न खोज्यो बिस्तारै सङ्घारभित्र
मैले ढप्काइदिएँ ढोका र चिच्याएँ जोडले–
‘ए ! कसको हो यो औतारी झोला ?’
बाहिरबाट आइरहेको थियो मसिनो आवाज–
‘कविज्यू,
म लिन आएको थिएँ तपाईंको नयाँ कविता ।’
(‘नेपाल’ साप्ताहिक २०७१ भदौ ८)