कालो अँध्यारोमा देखिन्छ
उसको शरीरको पहेंलो बुट्टा
र फैलँदै–फैलँदै जान्छ
पहाड, उपत्यका र तराई
(कस्तो चमत्कार हो यो !
बिस्तारै–बिस्तारै एउटा देश
परिणत हुन्छ जङ्गलमा
घनघोर जङ्गलमा)
रगतको स्वाद सम्झेर
जब–जब निस्कन्छ ऊ
आफ्नो वासस्थानबाट
कसैले चिन्दैन उसलाई
किनभने उसले आफ्नो अनुहारमा
भिरेको हुन्छ
एक अलौकिक शान्तिको मखुन्डो
शान्ति छ पाठशालामा
अस्पताल, गाउँ, क्याम्पस, सडक, खेत,
सहर, पसल, फुटपाथ, विश्वविद्यालय,
कार्यालय, गल्ली,
घर र आँगनमा
तर यो के हो !
चारैतिर फैलिएको छ
तीव्र पाशविक गन्ध
भरखरै देखियो उसको पुच्छर काठमाण्डौमा
चितवनमा दाँत
पोखरामा पन्जा
जनकपुरमा आँखा
पाटनमा जुँगा
भक्तपुरमा नङ्ग्रा
एउटा भयावह उपस्थितिले छोपेको छ
सम्पूर्ण देशलाई
(अक्षर–अक्षर, शब्द–शब्द,
वाक्य–वाक्य अर्थात् पूरै भाषाले
प्रश्न गरिरहेछ कवितालाई
को हो ऊ !
ऊ को हो ?)
उसको विषयमा कविता लेख्नु
खतराले भरिएको हुन्छ
यो मलाई थाहा छ
तर खतरा कति बढेको छ भने
एउटा कविले
हिंस्रक दन्तपङ्क्तिको विषयमा
कविता लेख्ने जोखिम
उठाउनै पर्छ !

काठमाडौं