‘भएँ साम्यवादी’ भन्यो रे धराले
‘कहाँ हुन्छ त्यस्तो’ भनेछन् गराले

विनाकाठ अस्तित्व के नै छ मेरो
‘ठुलो काठ नै हो’ भन्यो बन्चराले

पढी जानियो भन्दछौ मूर्ख मान्छे
‘परेनौ’ भनेछन् कुना, कन्दराले

सुकेको छ हाँगा ’खसौला’ भनेको
‘पखेटा छँदै छन्’ भने यी चराले

ठुलो ‘भोग’ वा ’भोक’ के प्रश्न गर्दा
‘दुवै शक्तिशाली’ भनिन् अप्सराले

सधैँ ढुक्क छन् वृक्ष हावाहुरीमा
‘भरोसा ठुलो हुन्छ’ भन्दा जराले

सुर्खेत